Comments Add Comment

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र तिलाठी कोइलाडी विजयी

११ चैत, काठमाडौं । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा बुधबार बजाज खडक वारियर्स र तिलाठी कोइलाडी जायन्टसले जित हात पारेका छन् ।

पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित ग¥यो । राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।

लक्ष्य पछ्याउने क्रममा रुपनीको लागि फिर्दोष अन्सारीले सर्वाधिक ५४ रन बनाए । उनले ३४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । सुनिल धमलाले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । माथिल्लो क्रममा ब्याटिङ गरेका लोकेश बम, कप्तान कुशल भुर्तेल र निरज मुखिया खाता नखोली आउट भए ।
बजाज खडक वारियर्सको बलिङमा गोमानन्द अमात्यले सर्वाधिक ३ विकेट लिए । उनले ३ ओभरमा १५ रन खर्चिए । अनिल खरेल र विवेक यादवले समान २ विकेट तथा भुलावन सहनी र पवन सर्राफले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

वारियर्सको लागि राष्ट्रिय क्रिकेटर समेत रहेका अनिल शाहले लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा सर्वाधिक ११३ रन बनाए । उनले ६४ बलमा १२ चौका र ७ छक्का प्रहार गरे । अनिलले अघिल्लो खेलमा बोदे बर्साइन थन्डर्स विरुद्ध पनि शतक बनाएका थिए ।

वारियर्सका लागि कप्तान विवेक यादवले पनि आक्रामक ब्याटिङ गर्दै अविजित अर्धशतक बनाए । उनले मात्र २३ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । अनिल र विवेकले तेस्रो विकेटको लागि मात्र ५४ बलमा १३८ रनको साझेदारी गरे ।

रुपनी राइडर्सको बलिङमा अनिल यादवले २ विकेट लिए भने फिर्दोष अन्सारी र कुशल भुर्तेलले समान १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिए ।

बुधबार भएको अर्को खेलमा दीपेन्द्र सिंह ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टसले मेहबुब आलम कप्तानीको टिभीएस किङस राजविराजलाई ४ विकेटले पराजित गरेको छ ।

टिभीएस किङसले दिएको १४५ रनको लक्ष्य तिलाठी कोइलाडीले ६ विकेट गुमाएर १५.१ ओभरमा पूरा गर्‍यो । तिलाठी कोइलाडीको जितमा राशिद खानले अविजित अर्धशतक बनाउने क्रममा ६५ रन बनाए । उनले २९ बलमा २ चौका र ८ छक्का प्रहार गरे । दीपेश कँडेलले १५ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए । सन्तोष कार्कीले १८ रन बनाए । राशिद र दीपेशले सातौं विकेटको लागि अविजित ८७ रनको साझेदारी गरे ।

टीभीएस किङ्सको बलिङमा दिनेश अधिकारी र मेहबुब आलमले समान २ विकेट तथा रोहित सिंह र सुरज कुर्मीले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको टिभीएस किङस राजविराजले १८.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर १४४ रन बनाएको थियो ।

टिभीएस किङसका लागि कप्तान मेहबुब आलमले सर्वाधिक अविजित ७८ रन बनाए । उनले ४६ बलमा ३ चौका र ९ छक्का प्रहार गरे । सुरज कुर्मीले १४ रन तथा अमल दासले ११ रन बनाए ।

तिलाठी कोइलाडीको बलिङमा राशिद खान र दीपेश कँडेलले समान ३ विकेट, कप्तान दीपेन्द्र ऐरीले २ विकेट तथा मनिष मण्डलले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच राशिद खान घोषित भए ।

प्रतियोगितामा चौथो दिनको खेल समाप्तिपछि समान ३ खेलमा दुई जित र एक हार बेहोरेका बजाज खडक वारियर्स, रुपनी राइडर्स र तिलाठी कोइलाडी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

एक जित हात पारेको टिभीएस किङस चौथो र जितविहिन बोदे बर्साइन थन्डर्स पाँचौ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment