Comments Add Comment

साताको बजार : केराउको अभाव चुलियो, किलोमै ६० रुपैयाँले वृद्धि

२० चैत, काठमाडौं । यो साता बजारमा तरकारी तथा अचार खाने केराउको भाउ किलोमै ६० रुपैयाँले बढेको छ । अचार खाने सानो हरियो केराउ र सुकेको केराउको भाउ प्रतिकिलो ८५ रुपैयाँबाट बढेर १४५ रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

मूल्य बढेपनि बजारमा केराउको चरम अभाव भएको संघका सदस्य ध्रुब अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । ‘बजारमा केराउ पाइनै छोडेको छ बल्ल बल्ल भेटिए पनि किलोमा ५० देखि ६० रुपैयाँले बढेको छ,’ अधिकारीले भने ।

होलसेलले केराउ नभएको जानकारी खुद्रालाई गराएको उनको भनाइ छ । सरकारले केराउको परिमाणात्मक बन्देज हटाए लगत्तै बजारमा केराउको अभाव चुलिएको व्यवसायीहरुले बताएका छन् ।

यो साता खाद्यन्न बजारमा खाने तेलको भाउ वृद्धि भएको छ । गत कात्तिकदेखि निरन्तर बढी रहेको तेलको भाउ यो साता लिटरमा १० देखि १५ रुपैयाँले बढेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

बढेको नयाँ मूल्यअनुसार तोरीको तेल लिटरमा २९० रुपैयाँ, सोयबिन २२० र सनफ्लावर तेलको मूल्य २३० पुगेको संघले जनाएको छ ।

यो साता माछा माछा मासुको मूल्यमा खासै परिवर्तन नभएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । कुखुराको मासु पसलअनुसार पाँच १० रुपैयाँ फरक हुनसक्ने भएपनि प्रतिकिलो चार सयबाट मूल्य नबढेको संघका अध्यक्ष रमेश खड्गीले बताए ।

खसीको मासुको मूल्य प्रति किलो एक हजार दुइ सय रुपैयाँमा कारोबार भएको छ भने पोर्क, बफ लगायतका मासुको मूल्य प्रति किलो पाँच सय रुपैयाँ नै छ ।

काठमाडौं उपत्यकामा यो साता हरियो तरकारीका केही नयाँ परिकार भित्रिएका छन् । परबर र कोइरालाको फूल कालीमाटी बजारमा भित्रिएको नयाँ स्वादको तरकारी हो । ती बाहेक अन्य तरकारी तथा फलफूलको मूल्यमा यो साता उतार चढाब देखिएको छ ।

च्याउको भाउ यो साता किलोमै एक सय रुपैयाँले बढेको छ भने आलु, काउली, बन्दा, गोलभेडा जस्ता तरकराीको मूल्य पनि यो साता बढेको छ । गत साताको तुलनामा साग, करेला र परबरको मूल्यमा सामान्य गिरावट आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

यो साता मसलाजन्य उत्पादनमा पनि मूल्य उतनर चढाब देखिएको छ । लसुन र हरियो धनियाको भाउमा गिरावट आउँदा सुकेको प्याज र खुर्सानीको भाउमा सामान्य वृद्धि भएको छ ।

यो साता डडेलधुराका किसानहरु आफूले उत्पादन गरेको जुनारले बजार नपाएको भन्दै जुनार बोकेर कृषिमन्त्री भेट्न काठमाडौं आए । उनीहरुको आफ्नो उत्पादनको बजारीकरण गरिदिन कृषि मन्त्री पद्माकुमारी अर्याललाई जुनार दिएरै आग्रह गरेका थिए ।

यो सातादेखि दूध बोक्ने ट्यांकरमा प्राथमिकता प्राप्त सवारी साधनको लोगो टाँसियो । सडकमा दूध बोकेको सवारी साधनलाई अब कसैले रोक्न नसक्ने व्यवस्था दुग्ध किसानहरुका लागि सकारात्मक समाचार बन्यो ।

बजारमा हुने गरेको उपभोक्ता ठगिका घटना रोक्न यो साता पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही नमुना अनुगमन गर्‍यो । खाने तेलको मूल्य अस्वभाविक रुपमा बढे पनि विभागको अनुगमन भने अन्य वस्तुमा केन्द्रित रह्यो ।

तेलको मूल्य बढेको सम्बन्धमा तेल उद्योगीलाई बोलाएर छलफल गरेको विभागलाई उल्टै उद्योगीहरुले नै यो साता धरपकड नर्गन धम्काए ।

अनुगमन गरेर उद्योगी व्यवसायीलाई दुःख दिए तेस्रो मुलुकबाट तेल आयात नगर्ने र बजारमा हुने अभावको भागिदार आफै हुन विभागलाई उद्योगीले भनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment