Comments Add Comment
दोस्रो लहरको कोरोना त्रास :

विकास निर्माणको काम फेरि रोकिने जोखिम

३० चैत, काठमाडौं । पछिल्ला दिनमा विश्वभर नै कोभिड–१९ महामारीको दोस्रो लहर देखा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सतर्कता नअपनाए लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

फेरि लकडाउन भए राष्ट्रिय जीवनको हर क्षेत्र नराम्ररी प्रभावित हुनेछन् । निर्माणका कामहरू पनि रोकिनेछन् । सरकारले सार्वजनिक तथा निजी तवरका निर्माणस्थलका लागि छुट्टै स्वास्थ्य (मापदण्ड) प्रोटोकल ल्याएको छैन । यसले विकासको काममा महामारी बाधक बन्ने जोखिम बढाएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघले धेरै व्यक्ति जम्मा हुने ठाउँ भएकोले निर्माणस्थलका लागि छुट्टै स्वास्थ्य प्रोटोकल माग गरिरहेको छ । प्रोटोकल लागू गर्दा थपिने खर्च भने सरकारले नै व्यहोर्नुपर्ने महासंघको शर्त छ ।

व्यवसायीले थप खर्च मागेको अवस्थामा २०७७ दशैंपछि कोरोना महामारी पनि साम्य हुँदै गएको कारण सरकारले निर्माणस्थलका लागि कुनै प्रोटोकल ल्याएन ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह निर्माणस्थलका लागि छुट्टै स्वास्थ्य प्रोटोकल आए काम गर्न सहज हुने बताउँछन् । त्यस्तो प्रोटोकल पालना गर्दा निर्माणस्थलबाट महामारी नफैलिने र काम नरोकिने भएकाले सरकार, व्यवसायी, श्रमिक, स्थानीय सबै लाभान्वित हुने उनले बताए ।

‘स्वास्थ्य मापदण्ड बनाइदिएर त्यसको पालना गर्दा लाग्ने खर्च सरकारले व्यहोरे हामी सघाउन तयार छौं’ अध्यक्ष सिंह भन्छन्, ‘सुरक्षित किसिमबाट निर्माण जारी राख्न त्यस्तो अभ्यास प्रभावकारी हुनेथियो ।’

तर, ज्ञापनपत्रमार्फत पटक–पटक सरकारको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनले बताए ।

जोखिममा आयोजना

कोरोनाको दोस्रो लहर चलेपछि निर्माण आयोजनाहरूले प्रोटोकलको अभाव महसूस गरेका छन् । बल्ल निर्माणस्थलमा फर्किएका ठेकेदारले महामारीलाई नै बहाना बनाएर काम रोक्न सक्ने डर आयोजनाहरूलाई छ ।

ठेकेदारहरू विभिन्न माग राख्दै तिहारपछि पनि निर्माणस्थल फर्किन मानेका थिएनन् । सरकारले महामारीका कारण प्रभावित आयोजनाको म्याद थप्ने, बाँकी भुक्तानी छिटो दिने, सार्वजनिक खरीद ऐन र नियमावली सहज बनाउने आश्वासन दिएर तिहारपछि उनीहरूलाई काममा फर्काएको थियो ।

अहिले धेरैजसो निर्माणस्थलमा कुनै पनि खालका स्वास्थ्य मापदण्ड पालना गरिएको छैन । श्रमिकहरू विदा लिएर घर आउने–जाने क्रम चलिरहेको छ । यो अवस्थामा कोरोना देखिए निर्माणस्थल नै बन्द गर्नुपर्ने जोखिम छ ।

निर्माणस्थलहरूमा भारतीय श्रमिक थपिने क्रम पनि जारी छ । आयोजना प्रमुखहरू महमारीपछि गति लिन थालेका कामहरू पुनः समस्यामा पर्न नदिन स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने आवश्यकता देख्छन् । तर, सरकारले यसबारे कुनै निर्णय नगर्दा आयोजनाहरू अलमलमा छन् ।

निर्माणाधीन परियोजनाहरूमा स्वास्थ्य प्रोटोकल लागू नहुँदा महामारी बढ्नासाथ काम ठप्प गर्नुपर्ने जोखिम देखिएको नाम उल्लेख नगर्ने शर्तमा राष्ट्रिय गौरवका एक आयोजनाका प्रमुख बताउँछन् ।

‘प्रोटोकल आए व्यवसायी, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, आयोजना, परामर्शदाता, कामदार र स्थानीयवासीले के–के गर्ने वा नगर्ने भन्ने तय हुन्थ्यो’ उनी भन्छन्, ‘हाम्रो तहबाट प्रोटोकल लागू गर्न आग्रह गर्दा ठेकेदारहरू भेरियसनसहित अरू शर्त राख्छन् ।’

सरकारले सबैलाई अनिवार्य प्रोटोकल जारी गरे देशभरका आयोजनामा एकनासले काम अगाडि बढ्ने ती अधिकारीको भनाइ छ ।

गत वर्ष एक्कासी लकडाउन हुँदा निर्माणस्थलहरू बन्द भएर श्रमिकले भोकभोकै पैदल हिंड्नुपर्नेलगायत समस्या आएको थियो । अकल्पनीय दुःख खेपेर घर पुगेका उनीहरूलाई पछि काममा फर्काउन पनि सकस परेको थियो । ती अधिकारी भन्छन्, ‘त्यस्तो अवस्था आउन नदिने पूर्वतयारी गर्न ढिला हुँदैछ ।’

महामारीका कारण निर्माणस्थल बन्द भए थप लागत र म्यादबाट ठेकेदारले लाभ उठाए पनि श्रमिक र सरकारलाई ठूलो क्षति हुने उनी बताउँछन् । बरु, बेलैमा प्रोटोकल ल्याएर निर्माणस्थललाई सञ्चालन गर्नेतर्फ लागे देशको हित हुने ती अधिकारीको भनाइ छ ।

अन्योल अवस्था

सिंचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारी आयोजनाहरूमा स्वास्थ्य प्रोटोकल जरूरी देखिएको बताउँछन् । उनका अनुसार तिहारपछि महाकाली, रानी–जमरा सिंचाइ, बबई, भेरी–बबई डाइभर्सन, सिक्टा सिंचाइ, सुनकोशी–मरिन डाइभर्सनसहित थुप्रै परियोजनामा सन्तोषजनक गतिमा काम भइरहेको छ ।

‘अहिले भारतमा दैनिक डेढ लाखसम्म व्यक्तिमा कोरोना पोजेटिभ भएको खबरहरू आइरहेकाले नेपालमा पनि महामारी फैलिएर निर्माणस्थलहरू ठप्प हुने जोखिम छ’ उनी भन्छन्, ‘विशेषतः श्रमिक बस्ने क्याम्पहरूमा प्रोटोकल अत्यावश्यक देखिएको छ ।’

अहिले सिंचाइ आयोजनामा भारतीय श्रमिक नआए पनि आन्तरिक आवत–जावतले समस्या ल्याउन सक्ने महानिर्देशक राजभण्डारी बताउँछन् । ‘तर, निर्माण सामग्री भारतबाट समेत आउने भएकाले आयोजनाहरू महामारीको जोखिममा छन्’, उनी भन्छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्देशन आए प्रोटोकल लागू गर्न तयार अवस्थामा रहेको बताउँछन् । ‘हिजो विश्व बैंक र एशियाली विकास बैंकको सहयोगमा बनाएको प्रोटोकल परिमार्जन गरेर लागू गर्न सक्छौं’ उनले भने, ‘निर्णय गरिनसके पनि हामीले आयोजनाहरूलाई महामारीमा सचेत रहन भनिसकेका छौं ।’

भारत, चीनलगायत मुलुकबाट आउने प्राविधिक र कामदारहरूलाई निर्माणस्थल र क्याम्पमा जानुअघि क्वारेन्टिन अनिवार्य गरिएको उनले बताए । आन्तरिक श्रमिकको आवत–जावत र सामाजिक दूरीको विषयमा भने कुनै निर्णय भइनसकेको शाक्यले बताए ।

‘काम प्रभावित हुन नदिन सतर्कता अत्यावश्यक छ’ शाक्यले भने, ‘यसबारे सरकारले केही निर्णय गर्‍यो भने हामी कार्यान्वयनमा गइहाल्छौं ।’

अहिले ४५५ मेगावाटको माथिल्लो तामाकोशी आयोजनामा अन्तिम चरणको काम भइरहेको छ । त्यहाँ वैशाख १२ देखि सुरुङमा पानी भर्न शुरू गर्ने तयारी छ । प्राधिकरणका सहायक कम्पनीमार्फत बनिरहेका जलविद्युत्, प्रसारणलाइन, सबस्टेशन, ग्रामीण विद्युतीकरण र वितरण लाइन सुधार आयोजनाहरूमा पनि धमाधम काम भइरहेको छ ।

यी कामहरू नभए निजी जलविद्युत् आयोजनाहरूले उत्पादन गरेका बिजुली राष्ट्रिय प्रसारणलाइनमा जोड्न समस्या पर्नेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारी पनि कोरोनाको दोस्रो लहरले निर्माणाधीन परियोजनाहरू प्रभावित हुने जोखिम देखिएको बताउँछन् । ‘महामारीमा जीवनको सवाल प्रमुख हुन्छ, त्यस्तो अवस्थामा श्रमिकलाई आश्वस्त पार्न सकिएन भने निर्माणस्थलमा काम गराइरहन गाह्रो हुन्छ’ उनी भन्छन्, ‘विमानस्थल आयोजनाहरू त झन् विदेशी प्राविधिकमा निर्भर रहेकाले धेरै अप्ठेरो पर्न सक्छ ।’

अहिले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माणाधीन छ । चिनियाँ कम्पनीले काम गरिरहेका यी आयोजनाहरू महामारीकै कारण प्रभावित हुँदै आएका छन् ।

आयोजनाका निर्माण कम्पनीहरूले प्रोटोकल नअपनाउँदा सहज ढंगले काम हुन नसकेको निर्देशक अधिकारी बताउँछन् । विमानस्थलसँग सम्बन्धित अरू आयोजनामा पनि समयमै स्वास्थ्य मापदण्ड कार्यान्वयन नगरिए अप्ठ्यारो पर्ने अवस्था छ ।

सरकार भन्छ– काम रोकिन्न

सरकारले निर्माणस्थलहरूमा स्वास्थ्य प्रोटोकल लागू गर्ने योजना बनाएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता तथा सहसचिव दीपक भट्टराई सर्वसाधारणका लागि स्वास्थ्य मन्त्रालयले तोक्ने मापदण्डमा आधारित भएर सम्बन्धित विभाग र आयोजनाहरूले सतर्कता अपनाउन नियमहरू बनाउनुपर्ने बताउँछन् ।

‘सबै निकायले विगतमा लागू गरेको मापदण्डलाई आधार बनाएर निर्माणस्थलमा काम गरे समस्या पर्दैन’ उनी भन्छन्, ‘विगतमा जस्तो निर्माणस्थल नै बन्द गरेर हिंड्ने, काम रोक्ने अवस्था आउन नदिन सबै सचेत हुनपर्छ ।’

लकडाउनमा पनि कतिपय निर्माणका काम मापदण्डभित्र रहेर सुचारु गरेको स्मरण गर्दै उनले अब महामारीको दोस्रो लहर आए त्यससँग पनि जुध्दै विकास निर्माणको कामलाई निरन्तरता दिइने सहसचिव भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment