Comments Add Comment

महाठग नटवरलाल : जसले राष्ट्रपतिको किर्ते हस्ताक्षर गरी ताजमहल बेच्यो

नटवरलाल भन्ने नाम प्रायः जनजिब्रोमा प्रचलित नाम नै हो । उक्त व्यक्तिको बारेमा धेरैलाई थाहा नहोला तर हामीकहाँ पनि कोही ठग वा फटाहालाई उपमा दिनुपरेमा नटवरलाल नै भन्ने गरिन्छ । नटवरलाल वास्तवमा भारतको एक महाठगको नाम हो । उसले आफ्नो जिवनमा यतिधेरै चोरी तथा जालसाजी गर्‍यो कि आजपनि उसको नाम ठगी तथा चोरीको प्रतीक बनेको छ ।

प्रकृतिले हरेक मानिसलाई एक न एक प्रतिभा र क्षमता दिएको हुन्छ । त्यस्तै चोरी, ठगी र जालसाजीमा अद्भूत क्षमता भएको मानिस थियो नटवरलाल । उसको जन्म सन् १९१२ मा  बिहारको सिवान जिल्लामा भएको हो ।

चोरी तथा जालसाजी गर्नका लागि नटवरलालले आफ्ना विभिन्न नामहरु राखेको थियो । उसको वास्तविक नाम चाहीँ मिथिलेस कुमार श्रीवास्तव थियो । उसका ५० भन्दा धेरै नाम थिए भनिन्छ । तिनै नक्कली नामहरुको सहयोगमा ऊ अनेकन ठगी धन्दा चलाउँथ्यो ।

नटवरलालले एक हजार भारुबाट चोरीको सुरुवात गरेका थिए । ऊ किर्ते हस्ताक्षर गर्नमा माहिर थियो । कुनैपनि व्यक्तिको हस्ताक्षर हुबहु नक्कल गर्ने क्षमता उसमा थियो । बैंकमा नक्कली हस्ताक्षर गरेर एकजना छिमेकीको खाताबाट उसले त्यो १ हजार भारु निकालेको थियो ।

पढाइ-लेखाई सकेपछि नटवरलाल वकिल बन्यो । उसलाई वकिल पेसा मन परेन । त्यसपछि उसले जालसाजी र ठगीको बाटो समात्यो ।

उसले कैयौँ मानिसको लाखौँ रुपियाँ ठगेको छ । किर्ते हस्ताक्षरमा मात्र होइन फरार हुनमा पनि ऊ पारङ्गत थियो । पुलिसले पक्राउ गरेपछि पुलिस चौकीबाटै पनि ऊ कैयौँ पटक फरार भएको थियो ।

नटवरलाल

अलिअलि अंग्रेजी पनि बोल्ने र निकै रसिलो कुरा गर्ने नटवरलालसँग कुराकानी गर्दा जो पनि प्रभावित हुन्थ्यो । आफ्ना तिनै गफबाट उसले मानिसहरुलाई झुक्याउँथ्यो । उसले कैयन् ठूला व्यापारीलाई ठगेको थियो ।

व्यक्तिहरुलाई ठग्ने कुरा त सामान्य भयो । नटवरलालले भारतको ताज महल तथा लाल किल्ला र राष्ट्रपति भवन समेत बेचिदिएका थिए ।

तत्कालीन भारतीय राष्ट्रपतिको किर्ते हस्ताक्षर गरेर उसले ती भवन तथा स्मारकहरु विदेशी नागरिकहरुलाई बिक्रि गरेको थियो ।

चोरी, ठगी, जालसाजी लगायतका अभियोगमा नटवरलालमाथि भारतका विभिन्न ८ राज्यमा गरी १ सय भन्दा धेरै मुद्दा चलेका थिए । ७०, ८० र ९० को दशकमा नटवरलालको नाम पूरै भारतमा चर्चित थियो । सयौँ चोरी तथा ठगीको अभियोगमा नटवरलालले १ सय ११ वर्षको जेल सजायँ पाएका थिए । तर जेलसजायँ पाएता पनि ऊ फरार भयो ।

सन् २००४ मा अन्तिम पटक नटवरलालको नाम सुनियो । नटवरलालले आफुलाई वारेसनामा दिएको भनी एकजना वकिलले सार्वजनिक रुपमा बताएपछि नयाँ पुस्ताले पनि नटवरलालको नाम सुन्ने मौका पायो त्यो बखत ।

तर नटवरलालको मृत्यु कहिले र कसरी भयो ? भन्ने बारेमा अहिलेसम्म स्पष्ट भएको छैन । कतिपय मानिसहरु सन् २००९ मा उसको मृत्यु भएको बताउँछन् । नटवरलालका परिवारजनले भने सन् १९९६ मै उसको मृत्यु भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment