Comments Add Comment

त्रिकोणात्मक सिरिजको फाइनल : नेपाल र नेदरल्याण्ड्सको ‘रियल गेम’

नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने अवसर

१० वैशाख, काठमाडौं । पहिलो भेटमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित, दोस्रो भेटमा डच टोलीको मिठो बदला ।

मलेसियासमेत सहभागी त्रिकोणात्मक टी–२० सिरिजमा शनिबार हुने उपाधि भिडन्तअघि नेपाल र नेदरल्याण्ड्सको आँकडा १–१ छ । अब शनिबार जसले जित्छ, उसले उपाधि उचाल्छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई १३६ रनमा रोकेको नेपालले ९ विकेटको सहज जित हात पार्‍यो । टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए ।

तर नेदरल्याण्ड्सँग भएको दोस्रो खेलमा यो जोडीको साझेदारी २० रनमै टुट्यो । यद्यपि कुशल र उपकप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले २०६ रन बनायो । तर पहिलो खेलमा गरेको गल्तीहरु सुधार गरेको डच टोलीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीसँग मिठो बदला लिएको छ ।

‘नेदरल्याण्ड्सले पहिलो पटक आएको युजटु भएन, त्यसले हार्‍यौं भन्न सक्छ । हामीले पनि राम्रो गर्दागर्दै भएन भन्न सक्छौं’ पूर्वक्रिकेटर शक्ति गौचन भन्छन्, ‘तर भोलिको खेलमा जसले रामो खेल्छ, उही च्याम्पियन हुन्छ ।’

फाइनल खेल्नुअघि दुवै टिमलाई पिच र मैदानको कन्डिसन थाहा भइसकेको छ भने विपक्षीको बलियो र कमजोर पक्षबारे पनि जानकार भइसकेका छन् ।

त्यसैले भोलि हुने फाइनललाई रियल गेम मान्न सकिने नेपाली टिमका पूर्वसदस्य शक्ति गौचनले बताउँछन् । ‘नेदरल्याण्ड्सले पहिलो पटक आएको युजटु भएन, त्यसले हार्‍यौं भन्न सक्छ । हामीले पनि राम्रो गर्दागर्दै भएन भन्न सक्छौं’ उनले भने, ‘तर भोलिको खेलमा जसले रामो खेल्छ, उही च्याम्पियन हुन्छ ।’

गौचनका अनुसार सिरिजमा नेपालले अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ गरेको छ, जुन सकरात्मक पक्ष हो । ‘नेपालको इतिहासमै पहिलो पटक होला, ब्याटिङको अप्रोच चेन्ज भएको छ’ गौचन भन्छन्, बलिङमा थोरै समस्या जस्तो देखिन्छ ।’

उनले अघि भने, ‘स्पीनरले भनेजस्तो रोल गर्न सकेको छैन । विकेट लिएको छ, तर रन कन्ट्रोल गर्न सकेको छैन । सर्ट बलहरु छ, त्यसलाई राइट एरियामा फाल्नुपर्‍यो । फास्ट बलिङमा राम्रो गरेको छ । तर लास्टमा आएर समस्या छ ।’

उनकाअनुसार भोलि टस जित्ने टिमले फिल्डिङ रोज्न सक्छ, किनकी चेज गर्न उपयुक्त देखिएको छ ।

यस सिरिजका हरेक खेलमा पावर प्ले महत्वपूर्ण बनेको छ र भोलि पनि त्यही हुनसक्छ । पावरप्लेमा कम रन दिएर विकेट लिन सक्यो भने राम्रो हुने उनले सुनाए ।

कप्तान ज्ञनेन्द्र मल्लले पनि फाइनल खेल्दै गर्दा सुधार गर्नुपर्ने केही ठाउँ देखेका छन ।

फाइनलमा ब्याटिङ गर्दा धेरै रन बनाउने र बलिङ गर्दा डट बल फाल्ने, बाउण्ड्री रोक्नुपर्ने कप्तान ज्ञानेन्द्रले बताएका थिए ।

फाइनलमा नेपालले ब्याटिङमा अझै सुधार गर्नुपर्ने पक्ष के के छन् भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने,‘ब्याक टु ब्याट विकेटहरु गइरहेको, त्यसलाई रोक्नुपर्छ । खासगरी टी–२० क्रिकेटमा डट बलहरु कम खेल्नुपर्छ र अन्तिमको २/३ ओभरमा धेरै रन बनाउने कोसिस गर्नुपर्छ’ उनले भने, नेदरल्याण्ड्ससँग भएको दोस्रो खेलमा राम्रो फिनिस गर्न सकेनौं ।’

यो पटक स्कोर राम्रो बनिरहेको भएपनि बलरहरु यो कन्डिसनमा अभ्यस्त हुनुपर्ने उनले बताए ।

घरेलु मैदानमै सिरिज जित्ने अवसर

नेपालले अहिलेसम्म दुई टी–२० सिरिज जितेको छ । २०१९ मा युएईमा भएको टी–२० सिरिजमा नेपालले युएईलाई २–१ ले पराजित गरेको थियो । मलेसियामा सोही वर्ष भएको टी–२० सिरिज नेपालले २–० ले क्लिनस्वीप गरेको थियो ।

त्रिकोणात्मक टी–२० सिरिज भने नेपालले जित्न सकेको छैन । २०१९ मा सिंगापुरमा भएको जिम्बाब्बे र सिंगापुर सहभागी ट्राई सिरिजमा नेपाल दोस्रो भएको थियो । यस्तै २०१९ मै ओमानमा भएको पेन्टागुलर सिरिजमा नेपाल तेस्रो भएको थियो ।

भोलि कप्तान मल्ललाई आफ्नो कप्तानीमा घरेलु मैदानमै टी–२० सिरिज जित्ने अवसर हुनेछ । ‘हरेक कप्तानको लागि विनिङ साइडमा हुनु राम्रो लाग्छ । अझ ट्रफी जित्दा राम्रो हुन्छ’ उनले भने, ‘त्यसले टिमलाई कन्फिडेन्स दिन्छ । व्यक्तिगत रुपमा अन्तर्राष्ट्रिय लेभलमा कप आउँदा राम्रो नै हुन्छ ।’

नेपाल र नेदरल्याण्डसबीच हालसम्मका खेल

कुल खेल : १०

नेपाल विजयी : ३

नेदरल्याण्ड्स विजयी : ६

हारजित नभएको : १

 टी-२० आई खेल : ८ खेल

नेदरल्याण्ड्स विजयी : ४

नेपाल विजयी : ३

हारजित नभएको : १

२०१२ आइसीसी मेन्स वर्ल्डकप क्वालिफायर

नेदरल्याण्ड्स ६ विकेटले विजयी

२०१३ आईसीसी मेन्स वर्ल्डकप क्वालिफायर

नेदरल्याण्ड्स ५ विकेटले विजयी

२०१५ नेपाल इन नेदरल्याण्ड्स टी-२० सिरिज

पहिलो खेलमा दरल्याण्ड्स १८ रनले विजयी

दोस्रो खेलमा नेदरल्याण्ड्स १०३ रनले विजयी

तेस्रो खेलमा नेदरल्याण्ड्स १८ रनले विजयी

चौथो खेलमा नेपाल ३ विकेटले विजयी

२०१८ एमसीसी ट्राई नेशन्स सिरिज

हारजित नभएको

२०१९ ओमान पेन्टागुलर सिरिज

नेपाल ४ विकेटले विजयी

२०२१ त्रिकोणात्मक टी-२० सिरिज

नेपाल ९ विकेटले विजयी

नेदरल्याण्ड्स ३ विकेटले विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment