Comments Add Comment

चर्चित मेडिकल जर्नल ‘द ल्यान्सेट’मा मोदीको आलोचना

२६ वैशाख, काठमाडौं । विश्वको सबैभन्दा चर्चित मेडिकल जर्नल ‘द ल्यासेन्ट’ले आफ्नो सम्पादकीयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेको छ । सम्पादकीयमा अहिले मोदीको ध्यान ट्वीटरमा आफ्नो आलोचना दबाउनमा बढी र कोरोना महामारी नियन्त्रणमा कम देखिएको उल्लेख गरिएको छ ।

जर्नलले लेखेको छ, ‘यस्तो कठिन समयमा आफ्नो आलोचना र खुला चर्चालाई दबाउने मोदीको प्रयास माफीयोग्य छैन ।’ इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभ्याल्युएसनको अनुमानअनुसार भारतमा आगामी अगष्टसम्ममा कोरोना महामाारीको कारण मृत्यु हुनेको संख्या १० लाख पुग्नसक्ने रिपोर्टमा उल्लेख छ ।

जर्नलले भारत सरकारले लिएको फैसलाको नतिजा अहिले देखिएको बताएको छ । अहिले कोरोना महामारी तीव्र रुपमा फैलिरहेको अवस्थामा भारतले नयाँ ढंगले कदम चाल्नु आवश्यक रहेको रिपोर्टमा उल्लेख छ । सरकारले आफ्नो गल्ती मान्छ कि मान्दैन र मुलुकलाई पारदर्शिताको साथमा नेतृत्व दिन्छ कि दिंदैन भन्ने कुराले कोरोना महामारी नियन्त्रणमा भारत सफल हुने र नहुने निर्धारण हुने रिपोर्टमा उल्लेख छ ।

भारत सरकारले खोप अभियान तीव्र गतिमा अघि नबढाउँदासम्म कोरोना महामारी नियन्त्रणको लागि आवश्यक सबै कदम चाल्नुपर्ने रिपोर्टमा उल्लेख छ । यस्तोमा राष्ट्रव्यापी लकडाउनको सम्भावनाको विषयमा पनि चर्चा हुनु जरुरी रहेको रिपोर्टमा उल्लेख छ ।

जर्नलमा भारतको खोप अभियानलाई गति दिनु आवश्यक रहेको उल्लेख छ । साथै कोरोना खोप ग्रामीण भेगमा पनि पुर्‍याउनु जरुरी रहेको जनाइएको छ । भारतका ६५ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । जर्नलमा भारत सरकारले कोरोना संक्रमणको पहिलो लहरपछि दोस्रो लहर आउन सक्ने सम्भावनालाई बेवास्ता गरेको उल्लेख गरेको छ । जर्नलको सम्पादकीयमा चेतावनी दिंदा पनि सरकारले धार्मिक कार्यक्रम आयोजना गर्न दिएको र त्यसमा लाखौं मानिस जम्मा हुनुका साथै निर्वाचनको र्‍याली पनि भएको बताइएको छ ।

सरकारले खोप अभियानको नीति बीचमा आएर परिवर्तन गर्दा पर्याप्त खोपको अभाव देखिएको छ । ल्यान्सेट जर्नलमा भारतमा केही राज्यले अस्पतालको बेड र अक्सिजनको माग गरिरहेका मानिसमाथि राष्ट्रिय सुरक्षा कानूनको प्रयोग गरेको समेत उल्लेख गरिएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment