Comments Add Comment

अफिनले भन्यो : १५ दिनभित्र अक्सिजन प्लान्ट जडानको निर्देशन हावादारी

बसन्त चौधरी

३० वैशाख, काठमाडौं । सरकारले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नू भनी दिएको निर्देशनलाई निजी अस्पतालले हावादारी निर्णय भनेको छ ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का अध्यक्ष बसन्तकुमार चौधरीले विज्ञप्ति जारी गरी अक्सिजन प्लान्टको मूल्य कम्तीमा २ करोड र त्यसका लागि पूर्वाधार तयार गर्न ५० लाख चाहिने भएकले तत्काल जडान गर्न नसक्ने बताएका छन् ।

‘यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय हो भन्ने हामीले ठानेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १०० बेड भन्दा बढी क्षमताका अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको थियो ।

अध्यक्ष चौधरीले खरिद सम्झौता गरेको साढे तीन महिना भन्दाअघि अक्सिजन प्लान्ट जडान गर्नै नसक्ने पनि बताए ।

‘अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि ३ महिना नभै प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जड़ान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ’ विज्ञप्तिमा भनिएको छ ।

हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाइसेवा पनि बन्द रहेका कारण द्रुत सामान ढुवानीको विकल्प नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अक्सिजन अभावको समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदम चालिनुपर्ने अफिनले त्यसमा साथ दिन निजी अस्पताल तयार रहेको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment