Comments Add Comment

निषेधाज्ञामा अपाङ्गता भएका महिलामाथि यौन अपराध बढ्यो

३१ वैशाख, काठमाडौं । कोरोना संक्रमण फैलन नदिन जारी गरिएको निषेधाज्ञामा अपांगता भएका महिला, बालिका, किशोरी यौन हिंसा तथा बलात्कारमा पर्ने क्रम बढेको छ । बहुअपांगता, बौद्घिक अपांगता, बहिरा अपांगता, शारीरिक अपांगता भएका बालिका, महिला, किशोरी सहजै भाग्न नसक्ने र आफूमाथि भएको अपराध सहजै भन्न नसक्ने, भने पनि बुझाउन नसक्ने हुँदा अपराधीको निशानामा पर्ने गरेका छन् ।

घटना–१
महोत्तरी जिल्ला लोहरपट्टीकी बहुअपांगता भएकी २० वर्षीय सानुकुमारी कुर्मी (परिवर्तित नाम) गत वैशाख २६ गते घरमै बलात्कृत भइन् । बोल्न नसक्ने, अरूले बोलेको राम्रोसँग बुझ्न नसक्ने, हिंडडुल गर्न नसक्ने उनलाई छिमेकी ताहिर सेखले बलात्कार गरेका थिए । ट्याक्टर चालक ताहिरले गहुँ बजार लगिदिएको भाडा लिन आउँदा सानुकुमारी घरमा एक्लै रहेको भेटेर उक्त अपराध गरेका थिए । बेलुका आमाबुवा आएपछि सानुकुमारीले आफूमाथि भएको अपराध हातको इशाराले बताउन खोजिन्, तर बुझाउन सकिनन् । भोलिपल्ट फेरि आएका ताहिरलाई हातले देखाउँदै सानुकुमारी आत्तिंदै रुन थालेपछि ऊ भाग्यो । त्यसपछि मात्र आमाबुवाले छोरीमाथि बलात्कार भएको थाहा पाएर समाजसँग के गर्ने भनेर सल्लाह मागे । तीमध्ये धेरैजसोले समझदारी गरेर जानुपर्ने बताएपछि बुबाआमा सीधै जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगे । पीडक ताहिर भने अझै फरार छन् ।

घटना–२
त्यसअघि वैशाख १६ गते दिउँसो सर्लाही हरिवनकी २८ वर्षीय मुना कार्की (परिवर्तित नाम) बलात्कारमा परिन् । बोल्न र सुन्न नसक्ने उनलाई हावाले झारेको आँप टिप्न गएको बेला बलात्कार गरेका छिमेकी राकेश पौडेल फरार छन् । त्यो घटनापछि मुनामा मानसिक समस्या थपिएको छ । नीलो रङको लुगा लगाएका पुरुष देख्नासाथ उनी चिच्याउँछिन् । बलात्कार गर्दा राकेश पौडेलले नीलो कपडा लगाएका थिए ।

घटना–३
त्यसअघि ९ वैशाखमा बनेपाको भैंसेपाटीमा बौद्धिक अपांगता (डाउन सिन्ड्रोम) भएकी २७ वर्षीया लीला तामाङ (परिवर्तित नाम) बलात्कृत भइन् । काममा गएकी आमा छोरीलाई खाजा खुवाउन डेरा आउँदा छिमेकी ठूलोकान्छा भन्ने देव दोर्जे लामाले बलात्कार गरेको भेटेपछि छिमेकीको सहयोगमा पक्राउ गरी बनेपा प्रहरीमा बुझाएका थिए । पीडक लामा वैशाख ३० गते कारागार चलान भएका छन् । उल्लिखित तीन घटना वैशाखभित्रका हुन् । यी घटनाले अपांगता भएका महिलाहरू कति जोखिममा छन् भन्ने देखाउँछ ।

नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल पोहोर लकडाउन शुरू भएयता अपांगता भएका २६ महिला यौन हिंसा तथा बलात्कारमा परेको बताउँछिन् । कोरोना संकटले अपांगता भएका महिलाहरूलाई थप जोखिममा पारेको उनको भनाइ छ । लकडाउनमा बढेको बेरोजगारीले आपराधिक मनोवृत्ति भएका पुरुषलाई हिंस्रक बनाएको उनी बताउँछिन् ।

‘कोरोनाको तनावमा घरमा थुनिएका अपांगता भएका महिला, बालिका, किशोरीहरू परिवारकै सदस्य, छिमेकी र आफन्तबाट यौन हिंसा तथा बलात्कारमा पर्नुले यही देखाउँछ’ अध्यक्ष दाहाल भन्छिन्, ‘इज्जत जोगाउने नाममा भित्रभित्रै ढाकछोप गरिने भएकोले यस्ता सबै अपराधका घटना सार्वजनिक हुँदैनन् पनि ।’

काभ्रेमा मात्र गत तीन महीनामा नौ वर्षकी बालिका सहित अपांगता भएका चार महिला यौन हिंसा र बलात्कारमा परेका छन् । तीमध्ये दुई घटनाका पीडक कारागार चलान भएका छन् भने दुई जनाको मुद्दा चलिरहेको जानकारी अधिवक्ता कृष्णप्यारी नकर्मीले दिइन् ।

दोभाषे समेत रहेकी उनी बौद्घिक अपांगता, बहुअपांगता, बहिरा महिला, बालिका र किशोेरीहरूमाथि भएका यौन हिंसा, बलात्कार जस्ता अपराधको उजुरी गर्नै गाह्रो हुने बताउँछिन् । ‘हाम्रा प्रहरी र प्रशासन कार्यालयहरू अपांगतामैत्री नहुँदा न्यायमा यस्ता महिला तथा बालिकाहरूको पहुँच पुर्‍याउन समस्या भएको छ’, अधिवक्ता नकर्मी भन्छिन् ।

उनका अनुसार पीडित बहिरा छिन् भने दोभाषे बोलाउने चलन भर्खर शुरू भएको छ, तर बौद्घिक अपांगता भएकाहरूलाई उजुरी गर्नै असहज छ । डाउन सिन्ड्रोम भएका, अरूको बोली नबुझ्ने, स्पष्ट बोल्न नसक्ने, दोहोरो बोल्न नसक्ने पीडितले न्याय पाउन निकै समस्या रहेको बताउँदै उनी भन्छिन्, ‘त्यस्ता पीडितको उजुरी लेख्नै कठिन हुन्छ ।’

यो पनि पढ्नुहोस महिला सहकर्मीलाई आँखा लगाउँदै हुनुहुन्छ ? पख्नुस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment