Comments Add Comment

सोल्टी होटेल अब ‘दि सोल्टी काठमाडौं’मा पुनःब्रान्डिङ

३१ वैशाख, काठमाडौं । साढे पाँच दशक पुरानो पाँचतारे होटेल सोल्टी अब ‘दि सोल्टी काठमाडौं’का नामबाट परिचित हुने भएको छ । कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टका अनुसार सोल्टी होटेलसँग इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)को व्यवस्थापन सम्झौता समाप्त भएको छ ।

अब सोल्टीले व्यवस्थापनमा विदेशी साझेदार नराखी स्वयम् सञ्चालन गर्ने र यसका लागि होटेलको रिब्रान्डिङ समेत गर्ने निर्णय भएको विष्टले जनाएका छन् ।

उनले भने, ‘आतिथ्य व्यवसायमा ५४ वर्षभन्दा बढीको अनुभव प्राप्त नेपालको आतिथ्य उद्योगको अग्रणी तथा मार्गदशक संस्था सोल्टी होटेल लिमिटेडको व्यवस्थाप तथा संचालन कम्पनी स्वयमले गर्नेछ ।’

आईएचजीसँग रहेको सेयर समेत नेपाली व्यवस्थापकलाई बिक्री गरेका कारण यो होटेल अब पुनःब्राण्डिङमा जाने निर्णयमा पुगेको हो । यसबाट अब कम्पनीको  सम्पूर्ण आम्दानी स्वदेशमै रहने छ । २०२३ सालमा उद्घाटन भएको यो होटेल सोल्टी क्राउन प्लाजाका रुपमा नामाकरण गरिरहेको थियो ।

दि सोल्टी काठमाडौंका रुपमा कम्पनीले होटेलसँगै एलएसजी स्काई सेफ काठमाडौं समेत संचालन गरिरहेको छ । यसले हवाईजहाजका यात्रुका लागि इनफ्लाइट क्याटरिङ सेवा प्रदान गर्छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरीय लाउन्जसमेत सोल्टीकै व्यवस्थापनमा संचालनमा रहेको छ । कम्पनीले दुई वर्ष अगाडि मात्र नेपालगञ्जमा अर्को पाँचतारे होटेल ‘सोल्टी वेष्टेण्ड पि्रमियर’ सञ्चालनमा ल्याएको छ ।

अतिविशिष्ट पाहुनाको रोजाई सोल्टी

कुल २८५ वटा कोठा रहेको सोल्टी अतिविशिष्ट पाहुनाको भ्रमणका बेला रोजाइमा पर्ने गरेको छ । यहाँ नेपालमा पहिलोपटक सार्क शिखर सम्मेलन आयोजना गर्नुपूर्व राष्ट्राध्यक्ष रहने प्रयोजनका लागि सात वटा सुइट रुम निर्माण गरिएका छन् ।

यी कोटा अतिविशिष्ट पाहुना आउँदा अहिले पनि उपयोग गरिन्छ । सोल्टीमा बाओ स्वान रेष्टुराँ, काकोरी रेष्टुराँ, अल्फास्को रेष्टुराँ र अल डे डाइन गार्डन टेरेस रेष्टुराँसमेत सञ्चालनमा रहेका छन् ।

पाँचतारे होटेलको मापदण्डअनुसार आवश्यक संरचनासहित रात्री क्लव र क्यासिनो सुविधा समेत सोल्टीले राखेको छ । कम्पनीले नेपालभित्र लगानी बिस्तारका क्रममा अहिले पोखरामा सेवा विस्तारको तयारी समेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment