Comments Add Comment

देउवालाई ओलीको प्रस्ताव– मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग राष्ट्रिय सरकारको प्रस्ताव राखेका छन् । शुक्रबार बिहान फोन गरेर राष्ट्रिय सरकारको प्रस्ताव गरेको ओलीले बताए ।

बालुवाटारमा सम्पादकहरुसँग ओलीले भने, ‘आज बिहान शेरबहादुर देउवालाई फोन गरेर भने– तपाईंहरु सरकार बनाउनुहोस् । मेरो दलले सहयोग गर्छ ।’ तर वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको ओलीले बताए । ‘राष्ट्रिय सरकार बनाउने हो भने आउनुहोस् मेरो नेतृत्वमा । सबैलाई समेटेर साझा भूमिका खेल्नेछु’, ओलीले भने ।

ओलीले अरु विकल्पबारे पनि प्रस्ताव गरेको बताए । ‘तपाईंहरुको उपयुक्त विकल्प छ भने प्रस्तुत गर्नुहोस्’, उनले भने । ओलीले राष्ट्रिय सरकारका निम्ति चेतावनी पनि दिए । ‘कमसेकम यो विकल्प हो भनेर हिम्मतका साथ भन्नुहोस्’, ओलीको भनाइ छ । तर यसतर्फ नलागेर अरु नेताहरु आरोप र गालीगलौजतिर लागेको उनले बताए ।

‘कसले संविधानमाथि थिचोमिचो गर्यो ? मार्गप्रशस्त गर्दा पनि थिचोमिचो हुन्छ ?’, ओलीले प्रश्न गरे । विश्वासको मत लिए हार्छु भनेर थाहा पाएपछि संविधानको धारा ७६ (५) का निम्ति मार्ग प्रशस्त गरिदिएको ओलीले बताए ।

‘म हार्छु, विश्वासको मत लिए भने म हार्छु । हारेपछि ५ मै जाने हो । त्यसो हो भने जाऔं । सरकार बनाउनुहोस्, नीति तथा कार्यक्रम र बजेट ल्याउनुहोस्’, ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment