Comments Add Comment

संसद विघटन विरुद्ध उत्रिन नागरिक अगुवाको अपील

फाइल तस्वीर

८ जेठ, काठमाडौं । संसद विघटन विरूद्ध उत्रिन नागरिक अगुवाहरुले अपील गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको प्रतिगामी कदमले संविधान र संसदीय सर्वोच्चताको चिरहरण गरेकाले यसविरुद्ध उत्रिन उनीहरुले अपील गरेका हुन् ।

शुक्रबार मध्यरातमा संसद विघटन गरिनु गत ५ पुसको प्रतिगमनकै पुनरावृत्ति भएको निष्कर्ष निकालिएको छ । ‘…मध्यरातमा प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लग्नु र त्यसको एक घण्टामै संसद विघटन र मध्यावधि चुनावको घोषणा हुनु दोस्रो प्रतिगमनको सिलसिलेवार घटनाक्रम हुन्,’ अपीलमा भनिएको छ ।

प्रतिनिधिसभा विघटनबाट उत्पन्न राजनैतिक संकटले नेपाललाई पुनः एकपटक राजनीतिक अस्थिरताको दलदलमा र विदेशी शक्तिको सम्भावित चलखेलतिर घचेटेको पनि नागरिक अगुवाहरुले निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको दाबी गर्ने समूहले पनि त्यो प्रक्रिया संसदभित्रै अभ्यास गरिनुपर्ने पनि वक्तव्यमा उल्लेख छ ।

संसद विघटन गर्ने प्रतिगामी कदमबाट प्राप्त उपलब्धिहरु समेत धरापमा परेको अपीलमा उल्लेख छ । तर लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा सधैं पराजित हुने गरेको पनि नागरिक अगुवाहरुले बताएका छन् ।

‘लोकतन्त्रमाथिको कुठाराघात र निरंकुशताको आकांक्षा विरुद्ध नेपाली जनताले सधैं साहसपूर्ण प्रतिकार गरेका छन् र यसलाई हमेसा पराजित गरेका छन् । अहिले फेरि हामी सम्पूर्ण नागरिकहरु एकपटक जुट्नुपर्ने बेला आएको छ,’ वक्तव्यमा उल्लेख छ । अपीलमा विघटन गरिएको संसद सर्वोच्च अदालतबाट फेरि पुनस्र्थापित हुने आशा समेत गरिएको छ ।

अपीलमा अरुणा उप्रेती, कृष्णप्रसाद पौडेल, पिताम्बर शर्मा, बिन्दु शर्मा, दीपेन्द्र क्षेत्री, नारायण ढकाल, महेश मास्के, सुदीप श्रेष्ठ, शरद वन्त, श्याम श्रेष्ठ, सोमत घिमिरे र हरि रोकाले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment