Comments Add Comment
भेरी अस्पताल आक्रमण प्रकरण :

…अनि ट्वाइलेटको झ्यालबाट हामफालेर ज्यान जोगाएँ

१४ जेठ, काठमाडौं । बाँकेको कोहलपुर–११ की २२ वर्षीया सदीक्षा गैरेको नर्स बन्ने सपना पूरा भएको दुई वर्ष मात्रै भएको छ । यो अवधिमा नर्सिङ पेशा अँगालेर उनले धेरै बिरामीको सेवा गरिसकेकी छिन् । हरप्रयासको बाबजुद केही बिरामीले उनकै अगाडि ज्यान पनि गुमाएका थिए ।

कोरोना महामारीको बेलामा पनि अनवरत सेवामा खटिने क्रममा बिहीबार राति एकजना संक्रमितले ज्यान गुमाए । त्यही बिरामीको मृत्युले उनको जीवनमा कहिल्यै नमेटिने नमीठो छाप दिएको छ । लाख प्रयास गर्दा पनि बिरामीलाई जोगाउन नसक्दाको पीडा त छँदैछ त्यसमाथि बिरामीका आफन्तले गरेको व्यवहारले झन् बढी पीडा दिएको छ ।

बिरामीको मृत्युपछि आक्रोशित मृतकका आफन्तले डाक्टर र नर्सहरुमाथि हातपात गर्न थालेपछि सदीक्षासहित चिकित्सक र नर्सको टोली ट्वाइलेटभित्र लुकेर बसे । आक्रमणकारी त्यहाँ पनि जाइलागेपछि उनीहरुले ट्वाइलेटको झ्यालबाट बाहिर हामफालेर ज्यान जोगाए ।

कोरोना महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी बिरामीको सेवामा खटिंदा बिरामीको आफन्तबाट भएको यो व्यवहारले उनीलाई असह्य पीडा दिएको छ । बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाबारे उनले यसरी बयान गरिन् :

मेरो नाइट डिउटी थियो । बिहीबार राति सात बजे अस्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें । बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बिरामीको स्याचुरेसन डाउन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नुभएको रहेछ । तर पनि बिरामीमा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन ।

कुरुवाले भने मेरो बिरामीलाई मार्ने भयो भनिरहनुभएको थियो । मेरो बिरामीलाई केही भयो भने कसैलाई छोड्दिन् भन्दै धम्की दिनुभयो । जबकि डिउटीमा रहेका दुई जना डाक्टर र चार जना नर्स उनकै बिरामीको उपचारमा व्यस्त थिए । उनलाई बचाउन प्रयास जारी राखेका थियौं,  तर  हामीले बचाउन सकेनौं ।

उनको मृत्यु पुष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो । त्यही वार्डमा अर्का एकजना बिरामी पनि गम्भीर थिए । उनको पनि स्वास्थ्य अवस्था खस्किंदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जानुभयो । म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । त्यही बेला हामी सबैको ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपिरहेको थियो । म रोइरहेकी थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए ।

एक्कासी ६/७ जनाको समूह वार्डमा प्रवेश गरे । उनीहरुले मेरो घाँटी अठ्याउन थाले । त्यही बेला बिरामीका एकजना कुरुवा दाइ मेरो अगाडि आएर बलतल्ल छुटाउनुभयो । म अत्तालिंदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु लखेट्दै आइरहेका थिए । बिरामीको उपचारमा व्यस्त चिकित्सक र नर्सहरुले मलाई उद्धार गरेर क्याविनमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तोडफोड गर्न छाडेन ।

क्याविनको ढोका तोडफोड गर्न थालेपछि क्याविनभित्रको एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तोडफोड गर्न लागे । त्यसपछि अब त मरिने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन । चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हाम्रो ध्यान ट्वाइलेटको झ्यालमा पुग्यो । त्यही झ्याल फोडेर हाम फालौं भन्ने कुरा साथीहरुबाट आयो । तर मेरो हातखुट्टा सबै काँपिरहेको थियो । म रोइरहेकी थिएँ । उनीहरु ढोकामा जोडतोडले हानिरहेका थिए । अन्ततः झ्याल फोडेर हामफाल्न तयार भयौं । तर मलाई हाम फाल्ने आँट नै आएन ।

डा. चन्द्रप्रकाश साहुले मलाई हाम फाल्न फोर्स गरिरहनुभएको थियो । मलाई छाडेर पनि उहाँहरु हाम फाल्न सकिरहनुभएको थिएन । मलाई डा. साहुले झ्यालमा उचालेर राखिदिनुभयो । उनीहरुको आक्रोश थप बढ्दै गइरहेको थियो । ढोका नै फोडेर भित्र पस्न थालेपछि डा. साहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हाम फाल्न बाध्य भयौं ।

रातिको त्यो कहालीलाग्दो र त्रासदीपूर्ण दृश्य मेरो मानसपटलमा अहिले घुमिरहेको छ । त्यो सम्झिँदा म कसरी एकतला माथिबाट हाम फालें होला भनेर आफैंलाई विश्वास लागिरहेको छैन । तर हामीसँग विकल्प पनि थिएन ।

उनीहरुको त्यो आक्रोश, त्यो आतंकित व्यवहार निकै डरलाग्दो थियो । यस्तो आतंकपूर्ण अनि त्रासदीपूर्ण वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै चल्यो होला । यो अवधिमा सबैजना आ–आफ्नो ज्यान बचाउन वार्डभित्रै भागदौड मच्चियो ।

एकतला माथिबाट हामफालेकाले हुनसक्छ, मेरो शरीरको पछाडि दुखिरहेको छ । घाँटीमा पनि नीलो डाम छ । सँगै हामफाल्नु भएका स्वास्थ्यकर्मीहरुले पनि खुट्टा दुखिरहेको बताइरहेका छन् । सबै जनालाई बाहिरी चोटपटक छैन ।

नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ । तर बिहीबार रातिको त्यो त्रासदीपूर्ण घटनाले रातभर निदाउनै सकिनँ । रातभर त्यही त्रासदीपूर्ण दृश्य आँखा वरपर झलझली आइरह्यो । जति भुल्ने प्रयास गरेपनि सकिरहेको छैन । बिरामी कुरुवा दाइले मेरो उद्धार नगरेको भए…. याे सम्झिँदा यो पेशामा किन लागेछु भन्ने प्रश्न पनि मनमा बारम्बार आएको छ ।

अरुको ज्यान बचाउने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फालेर आफ्नै ज्यान बचाउनुपर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ । यो महामारीमा आफ्नो ज्यानको बाजी राखेर अरुको ज्यान बचाउने स्वास्थ्यकर्मीमाथि हुने यस्तो सांघातिक हमलाले सबै स्वास्थ्यकर्मीको मनोबल गिराएको छ । स्वास्थ्यकर्मीलाई मनोबल उच्च बनाउन हौसला दिनुपर्ने बेलामा स्वास्थ्यकर्मीमाथि नै ज्यानमार्ने उद्देश्यले सांघातिक हमला हुनु दुःखदायी हो । त्यसैले  घटनामा संलग्न दोषीलाई तत्काल कारबाही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी सरकारले गर्न सक्नुपर्छ ।

मनोबल गिरेका स्वास्थ्यकर्मीहरुले कसरी बिरामीको उपचार गर्न सक्छ ? त्यसैले घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्न सकेमात्रै स्वास्थ्यकर्मीमाथि भोलिका दिनमा यस्तो घटना दोहोरिने थिएन ।

हेर्नुहोस् भिडियो-(साै. हिमालय टीभी)


यो पनि पढ्नुहोस भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, एकतला माथिबाट हाम्फालेर बचाए ज्यान  

यो पनि पढ्नुहोस गृहले भन्यो–स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ यो पनि पढ्नुहोस भेरी अस्पतालको घटना छानबिन गर्न सहायक सीडीओको नेतृत्वमा समिति गठन यो पनि पढ्नुहोस भेरी अस्पतालमा आन्दोलन : चिकित्सक कुट्नेलाई कारबाहीको माग यो पनि पढ्नुहोस भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण गरेको आरोपमा ३ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment