Comments Add Comment

एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले बुझाए स्पष्टीकरण

२३ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण पेश गरेका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका शाहले आइतबार बिहान एमाले प्रदेश कमिटीमार्फत अध्यक्ष ओलीलाई जवाफ पठाएका हुन् ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको निर्णय विपरीत काम गरेको भन्दै शाहलाई ४८ घण्टाको समय दिँदै स्पष्टीकरण सोधेका थिए ।

एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले भने संसदीय दलका नेता शाहले बुझाएको स्पष्टीकरणमा पार्टी अध्यक्ष, महासचिव र सचिवलाई पठाएको जानकारी दिए । तर शाहले जवाफमा के लेखेका छन् भन्ने कुरा नखुलाइएको  उनले बताए ।

पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्नु र  पार्टी एकता विरोधी काम गर्दै आएको भन्दै शाहलाई अध्‍यक्ष ओलीले ८ प्रश्नको जवाफ मागेका थिए । चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत ओलीले दिएका थिए ।

१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलमा एमाले माधव नेपाल पक्षको बहुमत रहेका कारण १२ जेठमा सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरिएको थियो ।

सोही अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका ३ जना मन्त्रीलाई राजीनामा गर्न लगाएर ५ मन्त्री र ४ जना राज्यमन्त्री हेरफेर गरेका थिए । सो क्रममा तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्री रहेका एमाले संसदीय दलका नेता शाह दोहोरिएका थिए । उनलाई अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेले पार्टीको निर्देशन नमानेको भन्दै शाहसहितका अन्य ७ जना मन्त्री, २ जना पूर्व मन्त्री र एकजना सचेतक गरी १० जना प्रदेशसभा सदस्यमाथि कारवाही प्रक्रिया थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment