Comments Add Comment

जसपा उपेन्द्र यादव पक्ष वैधानिकता दाबी गर्दै फेरि निर्वाचन आयोग जाने

१ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ ।

कार्यकारिणी समितिको बहुमतका आधारमा महन्थ ठाकुरसहित चार नेतालाई गरेको कारबाही गरेको यादव पक्षले दफा ५१ अनुसार दलसम्बन्धी विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुरले पनि यादवलाई कारबाही गरेर अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । आयोगले भने दुवैको दाबी अस्वीकार गरेको छ ।

यो निर्णयले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामा गम्भीर प्रश्न उठेको जसपा यादव पक्षले बताएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै जसपा अध्यक्ष यादवले भनेका छन्, ‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हित अनुरुप गरेको उक्त निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ ।’

अब वैधानिकता दाबी गर्दै आयोग जाने तयारी गरिएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

अध्यक्ष यादवसहितका नेताहरुसँग भएको छलफलमा कानून व्यवसायीहरुले पनि त्यही सुझाव दिएका तिए । ‘हामीले दलको वैधानिकता दाबी गर्न सुझाव दिएका छौं । अदालतमा जाने कुरा त छँदैछ,’ जसपा निकट संघीय कानून व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष दीपक राई भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment