Comments Add Comment

कोरोनाले अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार, परिवारलाई ५० हजार

१ असार, पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबा अभिभावक गुमाएका बालबालिकाले सामाजिक सुरक्षाबापत मासिक ५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

गण्डकी प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्दै बाबुआमा गुमाएका बालबालिकालाई मासिक ५ हजार रुपैयाँ दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।

गण्डकी प्रदेशभित्र कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारले ५० हजार रुपैयाँ पाउने भएका छन् । कोरोनाबाट मृत्यु भएका प्रत्येक परिवारलाई ५० हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्न बजेटमा व्यवस्था गरिएको नेपालीले बताए ।

२९ गतेमात्र गठन भएको मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले कोभिड–१९ लाई प्रमुख प्राथमिकतामा राखेर बजेट ल्याएको छ । कोरोना उपचार, नियन्त्रण र रोकथामलाई प्रमुख प्राथमिकतामा राखिएको मुख्यमन्त्री पोखरेलले बताए ।

कोरोनाका कारण स्वदेश र विदेशमा रोजगारी गुमाएर फर्किएकाहरुलाई रोगारीको विकास गर्ने प्राथमिकताका साथ बजेट बिनियोजन गरेको पोखरेलको भनाइ छ । दक्ष जनशक्तिको विकास, कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई राहत र पुनर्जीवनमा जोड दिने गरी बजेट बिनियोजन गरेको पोखरेलले बताए ।

प्रदेशका सबै नागरिकलाई लगाउने गरी खोप खरिद गर्न सरकारले बजेट बिनियोजन गर्ने भएको छ । स्तन, पाठेघर लगायतको क्यान्सरको उपचारमा प्रदेश सरकारले निशुल्क उपचार व्यवस्था गर्ने बजेट नीति लिइएको छ ।

क्यान्सर, पार्किन्सन, मुटुरोग, अल्जाइमर्सजस्ता रोगका विरामीलार्य उपचारका लागि मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने बजेट पोखरेलले प्रस्तुत गरेका छन् ।

संघ सरकारको सहकार्यमा प्रदेशमा पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना हुने भएको छ । सामाजिक सुरक्षा कोष स्थापना गर्न प्रदेशमा ५ करोड रुपैयाँ बिनियोजन भएको छ । विपन्न वर्गको उत्थानका लागि विपन्न वस्तीमा मुख्यमन्त्री अभियान चलाउने मुख्यमन्त्रीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment