Comments Add Comment

भारतले सडक खन्दा दार्चुलाका ११० परिवार पहिरोको जोखिममा

दार्चुलाको दुम्लिङ गाउँ । तस्वीर सौजन्य : धिरन बुढाथोकी

१ असार काठमाडौं । भारतले बम विस्फोट गरी सडक निर्माण गर्दा सुदूरपश्चिमको दार्चुलामा ४ गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । धारचुला–लिपुलेक सडक विस्तारको क्रममा खसेको पहिरोले महाकाली नदीमा थुनिएर नेपालतर्फ कटान हुँदा गाउँपालिकाको दुम्लिङ, तल्लो दुम्लिङ, चौरा र बिजगाउँ जोखिममा परेको गाउँपालिकाले जनाएको छ ।

व्याँस गाउँपालिका वडा नं २ का वडाध्यक्ष धिरन बुढाथोकी भारतले सडक विस्तार गरेकै कारण नेपालतर्फको ती बस्तीहरु जोखिममा परेको बताउँछन् । उनका अनुसार पारिको बाटो बिस्तारका कारण नेपाल तर्फको ११० परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् भने २१०० परिवार प्रभावित भएका छन् ।

गाउँपालिका प्रमुख दिलीप बुढाथोकीले वडा नं २ को सो क्षेत्र जोखिममा रहेको भन्दै महाकालीमा तटबन्ध निर्माणका लागि तारजालीको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार बुढाथोकीले ४ गाउँ जोखिममा रहेको भन्दै त्यसको सुरक्षाको प्रबन्ध मिलाउन माग गरेका हुन् ।

गत साता धारचुला–लिपुलेक सडकखण्ड विस्तारका लागि पहाडमा भारतीय भूभागमा गरेको सडक विस्तारकै कारण नेपालतर्फको बाटोमा क्षति पुगेको थियो । बाटो विस्तारको क्रममा उछिट्टिएर आएको चट्टानले नेपालतर्फको बाटो अवरुद्ध पा¥यो । वडाध्यक्ष बुढाथोकीले दिएको जानकारी अनुसार पारिको चट्टान उछिट्टिएर दुम्लिङ–कुञ्जुङ गाउँ जोड्ने सडकमा बज्रिएको थियो । जसका कारण उक्त बाटो पूर्ण रुपमा अवरुद्ध भएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका वडा नं २ र भारतको धारचुला सीमा जोडिएको क्षेत्र हो । भारतले हाल धारचुला– लिपुलेक सडकखण्ड विस्तार गरिरहेको छ । सो क्रममा दुम्लिङ र कुञ्जुङ गाउँ जोड्ने बाटो पूर्ण रुपमा क्षति भएको छ । २० मिनेटमा पुगिने बाटो क्षति भएपछि अहिले ३ घण्टा हिँडेर अर्कै बाटोबाट जानुपरेको व्यास गाउँपालिका– २ का अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

सो क्षतिको विवरणसहित दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले धारचुला जिल्लाका डिस्ट्रिक मेजिस्ट्रेट आनन्द स्वरुपलाई पत्र लेखेर नेपालतर्फ क्षति नहुने गरी सडक विस्तार गर्न आग्रह गरेका छन् । तर एक साता पुग्नै लाग्दा पनि यो क्षेत्रमा भारतीय पक्षले निर्माण रोकेको छैन । भारतबाट पत्रको जवाफ पनि नआएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए ।

धेरै परिवार घरबाहरबिहीन बन्नेवाला छन्

धिरन बुढाथोकी –वडाध्यक्ष

व्याँस गाउँपालिका वडा नं २, दार्चुला

एकसाता अघि दार्चुलाको व्याँस गाउँपालिका– २ राप्लाको पारिपट्टि भारतमा धारचुला–लिपुलेक सडक विस्तारको क्रममा पहाड खस्दा नेपालतर्फको सडक पूर्ण रुपमा क्षति पुग्यो । पारिको चट्टान नेपालको बाटोमा बज्रिँदा बाटो पूर्ण रूपमा क्षतिग्रस्त छ ।

दुम्लिङतिर जाने उक्त बाटो बन्द हुँदा त्यहाँका बासिन्दाले २० मिनेटमा पुगिने अर्को गाउँ जान ३ घण्टा लाग्ने अवस्था छ । यसले गर्दा हामी भारतको तीव्र ज्यादतीमा परेका छौं ।

भारतले लिपुलेक जाने सडक निर्माणलाई जारी राखेको छ । उनीहरूको तिर पनि निर्माणाधीन रहेकोले उक्त सडकमा आवतजावत बन्द छ । बाढी पहिरोको उच्च जोखिममा रहेको क्षेत्रमा पनि असारसम्म काम रोकिएको छैन ।

क्षतिग्रस्त बाटो हामीले यो साल बनाउन सक्ने अवस्था छैन । त्यतिमात्रै नभएर त्यो निर्माणाधीन बाटोले थप नेपाली भूभागमा समेत क्षति पुग्ने अवस्था छ ।

अहिले त्यो बाटोको कारणले माल्वा भन्ने ठाउँ जोखिममा छ । त्यहाँको बाटो पनि पारिको बाटो विस्तारका कारण नै यो बर्खामा प्रयोग गर्न नसक्ने अवस्थामा छ । यो साल त्यो ठाउँमा झनै धेरै क्षति पुग्ने अवस्था देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment