Comments Add Comment

कोरोनाको खोपमा बाच्छाको रगत ! भारतमा भयो हंगामा

भारतमा उत्पादित कोरोनाविरुद्धको एउटा भ्याक्सिनमा गाईको रगत प्रयोग गरिएको भनेर त्यहाँका विपक्षी दलले आरोप लगाएपछि भारतमा तहल्का मच्चिएको छ ।

भारत बायोटेक कम्पनीद्धारा उत्पादित कोभाभ्याक्सिन नामक कोरोना खोप बनाउनका लागि गाईको नवजात बच्चाको रगतको प्लाज्मा अर्थात सेरम प्रयोग गरिएको विषय अहिले भारतमा चर्चा, विवाद र बहसको विषय बनेको हो ।

विपक्षी दलहरुले यस विषयमा तीव्र आलोचना गरेर प्रश्न खडा गरेसँगै भारत बायोटेक कम्पनीले स्पष्टीकरण दिएको छ । कोभाभ्याक्सिन अनुसन्धानको प्रारम्भिक चरणमा कोशिका विकसित गर्नका लागि गाईको बाच्छाको सेरम प्रयोग गरिएको स्वीकार गर्दै कोभाभ्याक्सिनको अन्तिम फर्मूलामा चाहि बाच्छाको रक्तप्लाज्मा अर्थात् सेरम प्रयोग नभएको बताएको छ । कोभाभ्याक्सिनमा कुनै पनि खालको अशुद्धि नरहेको कम्पनीको जिकिर छ ।

भ्याक्सिन अनुसन्धानको सुरुआती चरणमा बाच्छाको रगतको भाग कोशिका निर्माणका लागि प्रयोग गरिने भए पनि अन्तिममा नष्ट वा निष्प्रभावी बनाइएका भाइरसलाई नै खोप बनाउनका लागि प्रयोग गरिएको उसको भनाइ छ । उसका अनुसार अन्तिम रुपमा खोप तयार पार्नका लागि बाच्छाको सिरम कहीँ पनि प्रयोग गरिँदैन ।

यसअिघ भारतीय कांग्रेसका राष्ट्रिय संयोजक गौरव पान्धीले बुधबार कोभ्याक्सिनमा गाईको बाच्छाको सेरम प्रयोग गरिएको दाबी गरेका थिए ।

पान्धीले सूचनाको हक अन्तर्गत प्राप्त दस्तावेज समेत शेयर गरेका थिए जसमा कोभ्याक्सिन बनाउनका लागि २० दिनभन्दा कम उमेरका बाच्छाको सेरमको प्रयोग गरिने उल्लेख छ । विकास पाटनी नामका एक व्यक्तिले सूचनाको हकअन्तरगत मागेको सूचनाको जवाफमा केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले सो दस्तावेज उपलब्ध गराएको उनको भनाइ छ । दस्तावेज सार्वजनिक भएसँगै विपक्षी दलहरुले मोदी सरकारविरुद्ध आक्रमण सुरु गरेका थिए ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै स्वदेशमा निर्मित कोभ्याक्सिनमा नवजात बाच्छाको सेरम हुने तथ्यलाई सोसल मिडियामा तोडमोड गरी अनुचित ढंगले पेस गरिएको बताएको छ ।

नवजात बाच्छाको सेरम केवल भेरो कोशिका तयार गर्न तथा विकास गर्नमा मात्र संसारभर नै प्रयोग हुने गरेको र यस्ता कोशिकाहरु पोलियो, रेबिज तथा इन्फ्लुएन्जालगायतका खोपको विकास र उत्पादनमा समेत उपयोगी हुने मन्त्रालयको भनाइ छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उल्लेखित भेरो कोशिकाहरु विकसित भएसँगै त्यसलाई पानी वा रसायनलाई राम्रोसँग धेरै पटक सफा गरिन्छ, जसबाट ती कोशिकाहरु बाच्छाको सेरममुक्त बन्दछन् । त्यसपछि भेरो कोशिकाहरुमा कोरोना भाइरस संक्रमण गराइन्छ र त्यसमै भाइरसको विकास गरिन्छ । त्यसक्रममा भाइरसको वृद्धिसँगै कोशिकाहरु पूर्णरुपमा नष्ट हुन्छन् । अनि त्यहाँ विकसित भाइरसलाई पनि नष्ट वा निष्प्रभावी बनाएर सफा गरेसँगै खोप उत्पादनमा प्रयोग गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment