Comments Add Comment

सावित्राले एसियन च्याम्पियनसिप छनोटको खेल गुमाउने

घुँडाको उपचार गर्न शनिबार कतार जाँदै

११ असार, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी आगामी सेप्टेम्बरमा नेपालमै हुने तय भएको एएफसी वुमन्स एसियन कप छनोट गुमाउने भएकी छन् । घुँडाको उपचार गराउन कतार जान लागेकी सावित्राले छनोटका खेलहरु गुमाउने भएकी हुन् ।

एपीएफबाट घरेलु फुटबल खेल्ने सावित्रा गत फागुनमा राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएकी थिइन् । उनले एन्ट्रेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको थियो ।

एएफसीले बिहीबार मात्रै वुमन्स एसियन कप छनोट चरणका खेलको ड्र सार्वजनिक गरेको थियो । जसमा नेपाल हङकङ र फिलिपिन्स समूह एफ मा छ । यस समूहको खेल नेपालमै हुने तय छ । छनोटका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछन् ।

सावित्राले शल्यक्रियापछि कम्तीमा ९ महिना रेस्ट गर्नुपर्ने भएकाले पनि यो छनोट गुमाउने भएकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को पहलमा सावित्रा कतारको अप्सटर हस्पिटलमा उपचारका लागि शनिबार जाँदैछिन् ।

सावित्राले छनोट खेलभन्दा अहिले आफ्नो ध्यान उपचारमै केन्द्रित रहेको बताइन् । खेलाडी भएर खेल्न नपाउँदा दुःख लाग्ने भए पनि आफूले यसबारे धेरै नसोचेको उनले बताए । ‘अब घरमै हुने क्वालिफायरमा टिममा नहँदा एउटा खेलाडीलाई दुःख त लाग्छ । तर म नहुँदा यस्तो उस्तो हुने भन्ने केही छैन,’ सावित्राले भनिन्, ‘अहिले मेरो मुख्य धयान भनेकै ट्रिटमेन्टमै छ । त्यो ठीक भएपछि फेरि खेल्न पाइहाल्छु ।’

यस्तै उनले अहिले टिममा राम्रा खेलाडीहरु रहेकाले आफ्नो अभाव हुन नदिने विश्वास रहेको सुनाइन् ।

नेपालका लागि सावित्राले कीर्तिमानी ३८ गोल गरिसकेकी छन् । उनले राष्ट्रिय महिला लिगमा १० खेलमा ४३ गोल गर्दै उत्कृष्ट फरवार्डको अवार्ड जितेकी थिइन् ।

चोट लागेपछि नेपालमा खेलाडीको भविष्य के हुने भन्ने अन्योलकै अवस्था छ । तर पछिल्लो समय एन्फाले चोट लागेका खेलाडीहरुलाई कतारमा उपचार गराउँदै आएको छ । पछिल्लो पटक राष्ट्रिय टिमका बिक्रम लामा र विमल घर्ती मगरको उपचार पनि कतारको अप्सटरमा भएको थियो । बिक्रम उपचारपछि नेपाल फर्किसकेका छन् भने विमल हाल कतारमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment