Comments Add Comment

अस्कर जित्ने फिल्मलाई ८ लाख दिने बोर्डको घोषणा

चलचित्र विकास बोर्डले विश्वकै प्रतिष्ठित अस्कर अवार्ड जित्ने नेपाली चलचित्रलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैया दिने घोषणा गरेको छ । बिहिबार विकास बोर्डको २१ औं बार्षिकोत्सवको अवसरमा ‘ट्राभल ग्रान्ट’को अवधारणा लागू भएको जानकारी दिइएको छ । अर्थ मन्त्रालयबाट कार्यविधी पास भएसँगै ‘ट्राभल ग्रान्ट’ लागू भएको अध्यक्ष दयाराम दाहालले जानकारी दिए ।

बोर्डले अस्कर अवार्डमा छनोट हुने नेपाली चलचित्रलाई २ लाख, नोमिनेशन र अवार्ड नै जिते ८ लाख प्रोत्साहन स्वरुप दिने निर्णय गरेको हो ।

यस्तै, गोल्डेन अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन चलचित्र अवार्डमा छनोट भएर स्क्रिनिङ भए १ लाख र बिजेता बने १ लाख ५० हजारदेखि २ लाखसम्म प्रोत्साहन रकम प्रदान गर्ने बोर्डले बताएको छ । बोर्डले, कान्स, भेनिस, लोकार्नो, बर्लिन, टोरन्टो, सनडान्स, रोटेरडम जस्ता फेस्टिभलमा छनोट हुन सफल फिचर चलचित्रलाई २ लाख ५० हजार र छोटो चलचित्रलाई १ लाख रुपैयाँ प्राप्त गर्ने बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डले ‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’ जस्ता विश्वकै प्रतिष्ठित ल्याबमा जाने चलचित्रलाई ५० हजारदेखि ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउने छ । यस्तै, यी चलचित्रका चलचित्रकर्मीलाई बसोबास तथा नेटवर्किङका लागि २५ हजारदेखि २ लाखसम्म बोर्डले उपलब्ध गराउनेछ ।

सरकारले यो बर्षको बजेटमा स्टोरी बैंकको अवधारणालाई समेत अगाडि बढाएको छ । यसका लागि चलचित्र विकास बोर्डले चाडै नै स्क्रिप्टको आह्वान समेत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment