Comments Add Comment

प्रदेश २ मा प्रहरीलाई बजेट छुट्याएकामा माओवादी सांसदको विरोध

२६ असार, जनकपुरधाम । प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले संघीय सरकार अन्तर्गत रहेको प्रहरीका लागि बजेट छुट्याएकामा प्रदेश २ सरकारको आलोचना गरेका छन् ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका साहले प्रहरीलाई करोडौं बजेट किन दिएको हो ? भनी प्रश्न गरे । आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेटमाथिको छलफलमा भाग लिदैं सांसद साहले भने, ‘प्रहरीलाई किन करोडौंको बजेट ? तपाईं अन्तर्गत प्रहरी छ ?’

नेता साहले नेपाल तथा सशस्त्र प्रहरी संघीय सरकार अन्तर्गत रहेकाले प्रदेशबाट बजेट दिन नहुने बताए । ‘हामीसँग भएको कम बजेटबाट पनि प्रहरीलाई बजेट दिइरहेका छौं’ उनले भने, ‘सीमामा उठ्ने कर सिधै संघमा जान्छ । त्यो कुरा बुझ्नु्पर्छ ।’

संघीय सरकार अन्तर्गत रहेको प्रहरीलाई बजेट दिनु भनेको टाउको दुखेको अवस्थामा खुट्टा दुखेको औषधि खानुजस्तै भएको उनले बताए ।

प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी, इलाका प्रहरी, प्रहरी चौकी ट्राफिक प्रहरी लगायतका निकाउहरुको पूर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै सशस्त्र प्रहरी बल तथा मातहतका सीमा सुरक्षा बलहरुको कार्यालयको पूर्वाधार निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कमाइ गर्ने कर्मचारी, गाली सुन्ने जनप्रतिनिधि

सांसद साहले आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको काम गर्दा कर्मचारीले फाइदा लिने गरेको बताए । ‘काम गर्ने समय कम हुन्छ त्यो बेला काम गर्नेले केही प्रतिशत बाध्य भएर कर्मचारीलाई दिई काम गराउनुपरेको छ’ साहले भने, ‘यसको दोषी हामी नै हौं । यसलाई सच्याउनुपर्छ । काम असारभन्दा पहिला नै गराउनुपर्छ ।’

प्रदेश २ का १० प्रतिशत सांसदको काठमाडौंमा घर नभएको, तर ९८ प्रतिशत प्रशासकको काठमाडौंमा घर रहेको सांसद साहले दावी गरे । ‘तर उनीहरुलाई जनताले गाली गर्दैनन् । कमाउने कर्मचारीले अपजस सबै जनप्रतिनिधिले लिनुपरेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment