+
+

जब विजेता खेलाडीको स्वर्णपदक मेयरले चपाइदिए…

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:५५

२ भदौ, काठमाडौं । हालै जापानको राजधानी टोकियोमा सम्पन्न ओलम्पिक खेलमा स्वर्णपदक विजेता घरेलु सफ्टबल टोलीकी एक खेलाडीको स्वर्णपदक जापानको नागोया सहरका मेयरले चपाइदिएका छन् ।

स्वर्णपदक विजेता खेलाडीहरुको सम्मानमा गत हप्ता आयोजित समारोहमा नागोया सहरका मेयर ताकासी कावामुराले स्वर्ण विजेता सफ्टबल टिमकी खेलाडी मिउ गोटोको स्वर्णपदक एक्कासी मुखमा हालेर दाँतले टोके ।

कोरोना भाइरस संक्रमणको जोखिम तथा महामारीमा लगाइएका पावन्दीलाई नजरअन्दाज गर्दै ती मेयरले आफ्नो मास्क खोलेर खेलाडीको हातबाट पदक लिएर मुखमा हालेर अगाडिका दाँतले टोकेका थिए । आफ्नै गृहनगरकी खेलाडीले स्वर्णपदक जितेको खुसीयाली थाम्न नसक्दा मेयरले त्यस्तो अनौठो स्वभाव देखाएका हुन सक्दछन् ।

तर मेयरले दाँतले टोकेपछि स्वर्ण पदक बिग्रिएर कुरुप भयो । मेयरले टोकेर खेलाडीको स्वर्ण पदक कच्याककुचुक पारिदिएको समाचार र तस्वीर समेत सोसल मिडियामा भाइरल बन्न थाल्यो । अन्ततः ओलम्पिक कमिटीले ती खेलाडीको बिग्रिएको स्वर्णपदक साटिदिने भएको छ । टोकिएको स्वर्णपदक फिर्ता लिएर उनलाई अर्को नयाँ स्वर्णपदक दिइने ओलम्पिक कमिटीले निर्णय गरेको छ ।

टोक्यो ओलम्पिक आयोजक समितिले भनेको छ, ‘अन्तराष्ट्रिय ओलम्पिक कमिटीको सहयोग र खेलाडी स्वयंको इच्छा अनुसार गोतोको पदक अर्को नयाँ पदकसँग साटिनेछ । यसको खर्च अन्तराष्ट्रिय ओलम्पिक कमिटीले व्यहोर्नेछ ।’

खेलाडीको स्वर्णपदक चपाउने ती जापानी मेयरमाथि सोसल मिडियामा तिव्र आलोचना भएको छ । कोरोना भाइरसको बेवास्ता गर्नुका साथै खेलाडीको उपलब्धीमाथि पनि सम्मान गर्न नसकेको उनीमाथि आरोप लगाइएको छ । गोतोले खेल्ने गरेको रेड टेरियर्स सफ्टबल टिमको प्रायोजक टोयोटा मोटरले पनि ती मेयरको आलोचना गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?