+
+

पारामेडिकलका विद्यार्थीको गुनासो : प्रवेश परीक्षामा पाठ्यक्रम बाहिरको प्रश्न सोधियो 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते २०:१२
प्रतीकात्मक तस्वीर

२ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले लिएको चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा पारामेडिकल विषयका विद्यार्थीहरुले पाठ्यक्रमभन्दा बाहिरको प्रश्न सोधिएको गुनासो गरेका छन् ।

झापाको मिस्ट कलेजमा डिप्लोमा इन फार्मेसी पढेकी सुष्मा बस्नेतले सीटीईभीटीईबाट डिप्लोमा गरेर आएका विद्यार्थी र विज्ञान विषय लिएर कक्षा १२ पढेर आएका विद्यार्थीलाई एउटै प्रश्न सोधिएको बताइन् । अधिकांश प्रश्न कक्षा १२ को विज्ञान विषयबाट आएको उनले गुनासो गरिन् ।

बी फर्माको लागि परीक्षा दिएकी उनी भन्छिन्, ‘हामी भनेको एसएलसी दिएपछि डिप्लोमा पढेर आएको हो । अनि प्लस टु साइन्समा पढाइने पाठ्यक्रमबाट प्रश्न सोधेपछि हामीलाई समस्या भएको हो,’ उनले भनिन् । उनका अनुसार पाठ्यक्रमको १६० अंकको प्रश्न सोधिएको छ ।

कालीकोटका भुपेन्द्र शाही नेपालगञ्जको बागेश्वरी हेल्थ कलेजमा डिप्लोमा इन रेडियोग्राफी पढेका हुन् । आयोगले प्रश्नावली बनाउँदा पारामेडिकल लाइनको व्यक्ति प्रतिनिधि नराख्दा यस्तो समस्या आएको शाहीको बुझाइ छ । उनी भन्छन्, ‘पारामेडिकल क्षेत्रको मान्छे भएको भए हामीलाई सोधिएको प्रश्न र प्लस टु साइन्स पढेकालाई एउटै प्रश्न सोधिँदैन थियो । अहिले उल्टै हामीलाई क्षमता नै नभएको भनेर भनिंदैछ,’ उनले बीएस्सी एमआईटीतर्फको लागि परीक्षा दिएका थिए ।

चिकित्सा शिक्षा आयोगले पढ्नै नजान्नेहरु फेल भएको भन्ने गरेको उनले गुनासो गरे । ल्याब टेक्निसियन पढेकी मेलिना नगरकोटी पाठ्यक्रम अनुसार प्रश्न सोधिए तत्काल परीक्षा दिन तयार भएको बताउँछिन् । बीएमएलटीको लागि उनले परीक्षा दिएकी थिइन् । ‘मलाई अहिले हेल्थ साइन्स र जेनेरल साइन्सबाट ५०/५० प्रतिशत सोधेर परीक्षा लिइयोस् म दिन तयार छु ।’

कालीकोटका भुपेन्द्र शाही भन्छन्- पारामेडिकल क्षेत्रको मान्छे भएको भए हामीलाई सोधिएको प्रश्न र प्लस टु साइन्स पढेकालाई एउटै प्रश्न सोधिँदैन थियो । अहिले उल्टै हामीलाई क्षमता नै नभएको भनेर भनिंदैछ ।

१४७ जना पारामेडिकल विषय पढेर आएकाले प्रवेश परीक्षा दिँदा जम्मा दुई जनाले पास गरेका छन् । नेपालगञ्जको बागेश्वरी हेल्थ कलेजमा डिप्लोमा इन रेडियोग्राफी पढेका मिलन ढकाल भन्छन्, ‘त्यत्तिकामध्ये दुई जना मात्रै जान्ने सबै नजान्ने त हैन होला नि । यदि हाम्रो क्षमतामा शंका लाग्छ भने सिलेबस अनुसार परीक्षा लिइयोस् ।’

आयोगले बीएस्सी एमआईटीतर्फ ७१ वटा सिट तोकेको मध्ये ३५ जनाले मात्रै नाम निकालेका छन् । ३६ सिट खाली भएको छ ।

चिकित्सा शिक्षा आयोगले परीक्षाको लागि प्रश्नपत्र बनाउँदा डिप्लोमा पढेर आउनेहरुको लागि नसोच्दा विद्यार्थीहरु बिचल्लीमा परेको विजय आचार्य बताउँछन् । उनी रेडियोग्राफी पढेका उनी बीएस्सी एमआईटीतर्फ परीक्षा दिएका थिए । उनी भन्छन्, ‘हाम्रो एक वर्ष खेर जान्छ । न नेपालमा पढ्न पाइन्छ । न विदेशमा पढ्न जान पाइन्छ ।’

अहिले उनीहरु पाठ्यक्रमभन्दा बाहिरको प्रश्न सोधिएकाले तत्काल अर्को परीक्षा (रि–इन्ट्रान्स) वा प्रवेश परीक्षाको उतीर्ण प्राप्तांकको प्रतिशत घटाइ पुनः नतिजा प्रकाशित गरी रिक्त सिट संख्या भर्ना गर्ने वातावरण बनाउन माग गर्दै चिकित्सा शिक्षा आयोग, प्रधानमन्त्री कार्यलय, शिक्षा मन्त्रालय धाइरहेका छन् ।

भुपेन्द्र शाही भन्छन्, ‘आयोगले छुट्याएको कोटा खाली नजाओस् । आयोगले फेरि लिन सक्दैन भने पनि ठिकै छ तर प्रवेश परीक्षाको उत्तीर्ण प्राप्तांकको प्रतिशत घटाइ पुनः नतिजा प्रकाशित गरी रिक्त सिट संख्या भर्ना गर्नुपर्छ भन्ने माग हो ।’ पढ्न चाहने विद्यार्थीलाई पढ्न दिनुपर्ने उनी बताउँछन् ।

उनीहरुको भनाइ अनुसार पारामेडिकल क्षेत्रमा पढ्न आउने विद्यार्थीहरु डिप्लोमा (प्रमाणपत्र तह) बाट आउने हुँदा यसको प्रवेश परीक्षाको पाठ्यक्रम डिप्लोमा (प्रमाणपत्र तह) का विद्यार्थीलाई मध्यनजर गर्दै पाठ्यक्रमलाई ५०/५० प्रतिशतको आधारमा बनाइनुपर्छ ।

कार्यक्रम आयोगले छुट्याएको कोटा उत्तीर्ण खाली
बीपीएच १४२० ५६५ ८५५
बीएससी नर्सिङ ११०० ५०४ ५९६
बी फर्मा ९०२ ५४७ ३५५
बीपीटी १५० ११४ ३६
बीएस्सी एमआईटी ७१ ३५ ३६
बीएस्सी एमएलटी ४२५ ११८ ३०७

आयोगका प्रवक्ता भन्छन्- पाठ्यक्रम बाहिरको प्रश्न सोधिएको होइन, विद्यार्थीको तयारीमा कमी

चिकित्सा शिक्षा आयोगका प्रवक्ता डिल्लीराम लुइँटेल पाठ्यक्रमभन्दा बाहेकको प्रश्न नसोधिएको बताउँछन् । ‘यो गलत कुरा हो । करिकुलमभन्दा बाहिरको प्रश्न सोधिएको थिएन, विद्यार्थीको तयारी कम भएको हो,’ उनले भने । आयोगले सम्बन्धित विज्ञहरुलाई लिएर नै प्रश्न बनाएको उनको भनाइ छ ।

कक्षा १२ मा विज्ञान विषय पढेर जाने विद्यार्थी र सीटीईभीटीईमार्फत पढेर लाइसेन्स लिएर जाने विद्यार्थीहरु एउटै विषयमा जान पाउँछन् । कक्षा ११ र १२ को विज्ञानको प्रश्न सोधिएको र गुनासो गरिरहेका परीक्षार्थीहरुले ती विषय कम पढेर जाँदा उनीहरुलाई अप्ठ्यारो भएको हुनसक्ने प्रवक्ता लुइँटेल बताउँछन् ।

आयोगले नौ महिनाअघि पाठ्यक्रम सार्वजनिक गरेको र प्रष्ट रुपमा कहाँबाट कसरी आउँछ भन्ने कुरा उल्लेख भएको र त्यही अनुसार तयारी नपुग्दा बढी विद्यार्थी योग्य नभएको उनले बताए । ‘हामीले कुनै पनि व्यक्तिलाई पास र फेल बनाएका छैनौ । हामीले त्यो विषय पढ्न इलिजिबल छ कि छैन भनेर विद्यार्थी छानेको हो ।’

कार्यविधिले नदिएकाले खाली रहेको कोटामा अंक नपुगेका विद्यार्थीलाई योग्य करार गरेर लान नसकिने उनले बताए । ‘१२ सय सिटमा ५ सय विद्यार्थी मात्रै पास भए बाँकी सात सय सिट छ भनेर ५० अंक पास मार्क भएको विषयमा ४९ अंक ल्याउनेलाई पास गराउन सक्दैनौं । त्यसैले नम्बर घटाएर ४० ल्याउनेलाई पास गराउने भन्ने हाम्रो कानूनमा छैन ।’

आयोगको कार्यविधि अनुसार यो एकीकृत प्रवेश परीक्षाको इलिजिविलिटीको लागि ५० प्रतिशत अंक ल्याउनुपर्नेछ । उनले अहिले परीक्षार्थीको माग अनुसार हुन नसक्ने स्पष्ट पार्दै भने, ‘यो राष्ट्रिय समस्या भएर राष्ट्रले नै विद्यार्थी पुगेनन् के गर्ने भन्ने भयो भने हुन सक्छ छिटो परीक्षा गराएर त्यही कोटामा पूरा गर्ने नीति ल्याउन सक्ला राज्यले तर यो नै परीक्षामा घटाएर ४० ल्याउनेलाई पास गरिदिउँ भन्ने हुँदैन ।’

आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा साउन ९ देखि १३ गतेसम्म उपत्यकामा २८, धरानमा ६, चितवनमा ६, पोखरा र नेपालगञ्जमा दुई–दुई स्थानमा परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरेको थियो । आयोगले एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ लगायत विषयको प्रवेश परीक्षा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?