+
+

सवारी दुर्घटनामा घाइते भएका युवकको उपचारका लागि आर्थिक अभाव

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १७:५३
सवारी दुर्घटनामा घाइते भई अस्पतालमा उपचाररत् जीतपुरसिमरा उपमहानगरपालिका-१२ का विवेक गौतम

३ भदौ, वीरगञ्ज । बाराको सिमरामा काम सकाएर गत मंसिर ९ गते राति जीतपुरसिमरा उपमहानगरपालिका–१२ फत्तेपुरका २६ वर्षीय विकास गौतम घर फर्कंदै थिए । जीतपुरसिमरा–१५ स्याउली बजारमा अचानक मोटरसाइकल दुर्घटनामा पर्‍यो । चालक गौतमको टाउको, छाती र शरीरका विभिन्न भागमा चोट लाग्यो । त्यसदिनदेखि ओछ्यान परेका उनी अझै उठ्न सकेका छैनन् ।

शुरुका दिनमा कुनै किसिमको प्रतिक्रिया जनाउन नसक्ने उनमा क्रमशः सुधार आइरहेको परिवारका सदस्यहरु बताउँछन् । विकासको उपचारमा परिवारले ४० लाख रुपैयाँ खर्च गरिसकेको छ । तर उपचार अझै बाँकी छ । उनको हाल चितवन थेरापी सेन्टरमा उपचार भइरहेको छ । थप उपचार खर्च बेहोर्न सक्ने क्षमता किसान परिवारसँग छैन । पैसाको अभावले गर्दा उपचारमा समस्या हुने स्थिति भएपछि परिवारले मनकारी दाताहरुसँग सहयोगको याचना गरेको छ ।

बुवा तोयाराज अहिलेसम्म ऋण गरेर उपचार खर्च धान्दै आएकोमा अब नसक्ने अवस्थामा पुगेको बताउँछन् । ‘अर्काका जमिन हुण्डा बटैयामा लिएर आएको आम्दानीबाट गुजारा चलाउँदै आएका थियौं । नौ महिनासम्म त उपचार खर्च ऋणधन गरेर बेहोर्‍यौं,’ तोयराजले भने, ‘चिकित्सकहरुले विस्तारै ठीक हुन्छ भनेकाले बाँच्ने आशा त छ । भगवानसँग छोरो बचाइदिन प्रार्थना पनि गरिरहेको छु तर अब उपचार खर्च तिर्न सक्ने क्षमता हाम्रो छैन, उपचारका लागि पैसाविना अर्को उपाय नहुँदो रहेछ ।’

तोयाराजका पाँच सन्तानमध्ये कान्छा विकासले उच्च शिक्षा हासिल गरेका छन् । परिवार पूर्ण रुपमा कृषिमा निर्भर छ । विकासको नियमित रेखदेखमा उनका साहिंला दाजु प्रकाश अस्पातालमा खटिरहेका छन् ।

चितवन मेडिकल कलेजका डा. विनोद भट्टराईको टोलीले उनको उपचार गरेको हो । डाक्टरहरुकै सल्लाहमा ८ महिनादेखि उनको थेरापी भइरहेको प्रकाश बताउँछन् । ‘डाक्टरले ठीक हुन्छ, आत्तिनु पर्दैन, तर अलि समय लाग्छ भन्नुभएको छ,’ उनले थपे, ‘थेरापी गराउँदा मात्रै मासिक १ लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । त्यसैले सहयोगका लागि याचना गरेका हौं ।’

‘विकासको जीवन रक्षाका लागि’ उनका आफन्त र गाउँलेले चन्दा संकलन अभियान सञ्चालन गरेका छन् । साउन २५ गतेदेखि समाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट दुई लाख ५० हजार रुपैयाँ संकलन भएको मावलीतर्फका दाजु हरिशरण ढकालले जानकारी दिए ।

‘कहिलेसम्म उपचार गर्नुपर्ने भन्ने ठेगान छैन, त्यसैले ठ्याक्कै कति खर्च लाग्छ यकिन भन्न सकिँदैन,’ उनले भने, ‘तर परिवारको आर्थिक अवस्था निकै कमजोर भइसकेकाले चन्दा संकलन अभियान थालेका छौं । २ लाख ५० हजार संकलन भएको छ, सक्नेले सहयोग गरिदिए भाइलाई बचाउन सकिन्छ कि भन्ने छ ।’

उनीहरुले दातालाई एनआईसी एसिया बैंकको क्षेत्रपाटी शाखामा अश्विनकुमार गौतमको नाममा रहेको खाता नम्बर ११९८९८९६७६१५२४०१ सहयोग रकम जम्मा गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?