+
+

युइएफए प्लेअर अफ दि इअरको मनोनयनको शीर्ष तीनमा सबै मिडफिल्डर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते ९:३३

४ भदौ, काठमाडौं । युइएफए प्लेअर अफ दि इअरको शीर्ष तीन खेलाडीको मनोनयनमा सबै मिडफिल्डर परेका छन् । म्यानचेष्टर सिटीका केभिन डे ब्रुएना तथा चेल्सीका एन गोलो कान्टे र जर्गिन्हो उत्कृष्ट खेलाडीको मनोनयनमा परेका हुन् ।

संयोगबस तीनै खेलाडी प्रिमियर लिगमा खेल्दै आएका छन् । अवार्डको ११ वर्षे इतिहासमा अन्तिम ३ मा तीनै जना मिडफिल्डर परेको यो पहिलो पटक हो र यी तीन खेलाडीले अहिलेसम्म प्लेअर अफ दि इअरको अवार्ड जितेका छेनन् ।

इटालियन खेलाडी जर्गिन्होले चेल्सीबाट प्रिमियर लिग र इटलीको राष्ट्रिय टिमबाट युरो २०२० को उपाधि जितेका थिए । फ्रेन्च खेलाडी कान्टेले पनि च्याम्पियन्स लिगको उपाधि जितेका थिए । यस्तै बेल्जियम खेलाडी डे ब्रुएनाले सिटीबाट गत सिजन प्रिमियर लिग जितेका थिए भने च्याम्पियन्स लिगको फाइनल खेलेका थिए । युरो २०२० मा भने डे ब्रुएना र कान्टेको प्रदर्शन सोचे जस्तो हुन सकेन ।

जर्गिन्हो, डे ब्रुएना र कान्टे युइएफए च्याम्पियन्स लिगको मिडफिल्डरतर्फको अवार्डको मनोनयनमा समेत परेका छन् ।

लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो जस्ता सुपर स्टार पूर्व विजेता खेलाडीहरु भने यस पटक शीर्ष तीनमा समेत पर्न सकेनन् । मेसी चौथो र रोनाल्डो नवौं स्थानमा रहे । यस्तै रोवर्ट लेवान्डोस्की पाँचौ, जियानलुजी डोनारुम्मा छैटौं, किलियन एमबाप्पे सातौं, रहिम स्टर्लिङ आठौं र एर्लिन हालान्ड दशौ स्थानमा रहे ।

यस्तै महिलातर्फ भने स्पानिस क्लब बार्सिलोनाको बर्चस्व रहेको छ । बार्सिलोनाका जेनिफर हेर्मोसो, लिएके मार्टेन्स र एलेक्सिया पुटेलास मनोनयनमा परेका छन् । हेर्मोस र पुटेलास स्पेन र मार्टेन्स नेदरल्याण्ड्सका हुन् ।

पुरुष प्रशिक्षकतर्फ युरो विजेता इटलीका रोवर्टो मान्सिटी, च्याम्पियन्स लिग विजेता चेल्सीका जर्मन प्रशिक्षक थोमस टुचेल र प्रिमियर लिग विजेता सिटीका स्पानिस प्रशिक्षक पेप ग्वार्डिओला मनोनयनमा छन् ।

महिला प्रशिक्षकतर्फ बार्सिलोनाका स्पानिस प्रशिक्षक लुइस कोर्टेस, स्वीडेनका पिटर गेरहार्डसन र चेल्सीका इंग्लिस एम्मा हायस छन् ।

विजेताको घोषणा यही अगष्ट २६ मा टर्कीको इस्तानबुलमा हुने २०२१-२२ च्याम्पियन्स लिगको समूह चरणको घोषणा कार्यक्रममा गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?