+
+

कसको शिरमा हुनुपर्छ कांग्रेस सभापतिको ताज ?

सुशीलचन्द्र ज्ञवाली सुशीलचन्द्र ज्ञवाली
२०७८ भदौ ४ गते १४:३४

नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादको सिद्धान्तमा आधारित र स्थापित राजनैतिक दल हो । नेपाली कांग्रेसलाई प्रजातान्त्रिक आन्दोलनको अग्रणी संस्थाको रूपमा हेरिन्छ । सात दशक लामो जीवनकालमा ठूला-ठूला प्रजातान्त्रिक आन्दोलनको बागडोर सम्हालेको इतिहास साक्षी छ ।

मुख्यगरी १०४ वर्षीय जहानियाँ राणाशासनको लागि भएको २००७ सालको क्रान्ति, बहुदलीय व्यवस्थाको लागि भएको जनआन्दोलन २०४६ र निरङ्कुश राजतन्त्रको अन्त्यका लागि भएको जनआन्दोलन २०६२/६३ लगायतका जनआन्दोलनको मुख्य नेतृत्व नेपाली कांग्रेसले लिएको थियो ।

भारतमा अध्ययनरत विद्यार्थी, पेशा व्यवसायमा संलग्न एवम् विभिन्न क्षेत्रमा छरिएर रहेका आम नेपाली नागरिकको हक-हितसँग जोडिएर यो पार्टीको भ्रूण विकास भएको पाइन्छ । त्यस्तै, स्वदेशमा राणाशासनको दवदवा र ज्यादती अन्त्यका लागि भारतीय स्वतन्त्रता सङ्ग्रामका योद्धा बी.पी. कोइरालाले २ अक्टोबर १९४६ मा पटनाबाट प्रकाशित हुने द सर्चलाइट पत्रिका मार्फत भारतमा रहेका नेपालीलाई अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आह्वानबाट यसको प्रादुर्भाव भएको देखिन्छ । सन् १९५० मा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट नेपाली कांग्रेस स्थापना भएको पाइन्छ ।

तत्कालीन राष्ट्रिय कांग्रेसले सन् २००३ मा १२ र १३ गतेका दिन भारतको कलकत्ता भवानीपुरमा प्रथम महाधिवेशन सम्पन्न गरेको थियो । वि.सं. २००६ चैत २६ गतेको एकीकरणबाट बनेको नेपाली कांग्रेसले १३औं महाधिवेशन सम्पन्न गरी १४औं महाधिवेशनको तयारीमा जुटेको छ ।

नेपालमा भएका ठूला-ठूला क्रान्तिको नेतृत्व गरी प्रजातन्त्रलाई जोगाउँदै आएको ‘पार्टी’ यतिबेला छिन्नभिन्न भएको छ । भुसको आगोसरी फैलिएको गुट र उपगुटको प्रश्रय र निरन्तरताले कांग्रेसलाई गाँजेको छ । पार्टीले आफ्ना ‘नीति’, कार्यक्रम, योजनालाई आम नागरिकका समस्या हल गर्ने गरी कार्यान्वयन गर्न सकेको छैन ।

गत निर्वाचनमा सानो दलमा खुम्चिन बाध्य भए पनि विभिन्न आकस्मिकताका कारण अहिले सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । तर सही रूपमा सरकारका काम र कारबाहीलाई मूर्तरूप दिनसकेको छैन । यसको पछाडि गुटगत अभ्यास नै बढी जिम्मेवार छ ।

कांग्रेसको गुट, उपगुटहरूको चर्चा वर्तमानमा मात्र सीमित छैन । यस्ता किसिमका गुटहरू ‘पार्टी’ स्थापनाका समयदेखि नै सक्रिय भएको इतिहासका कालखण्डमा देखिन्छ । जस्तैः मातृका, बी.पी. र डिल्लीरमण रेग्मी गुटबाट बीजारोपण भएका गुटहरू विष्णुमतीको मुला जस्तै मौलाए ।

कहिले गणेशमान सिंह भर्सेज् कृष्णप्रसाद भट्टराईको गुट र कहिले गिरिजाप्रसाद कोइराला भर्सेज शेरबहादुर देउवाको गुट । सबैले आआफ्ना गुटहरूलाई सक्रिय बनाउँदै राजनीति गर्दै आएका छन् । १४औं महाधिवेशनसम्म आइपुग्दा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको गुटमा कांग्रेस कार्यकर्ताहरू प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएका छन् ।

१३औं महाधिवेशनबाट सभापतिको ताज पहिरन सफल भएका शेरबहादुर देउवाको कार्यकाल त्यति सुखद र सफल हुन सकेन । उनले पार्टीका विभाग र भ्रातृ संघसंस्थाको समयमै निर्वाचन गर्न सकेनन् । विभाग र भ्रातृ संघसंस्थामा संस्थापनइतर समूहसँग छलफल नगरी मनोमानी पदाधिकारी नियुक्त गरेको उनीमाथि आरोप छ । पार्टीलाई अनिर्णयको बन्दी बनाएको र पार्टीलाई निष्क्रिय बनाएको आरोपबाट पनि उनी बच्न सकेका छैनन् ।

यो हाम्रो चाहना र कामना हो । यस्तो चाहना पूरा अब केवल कार्यकर्ताले गर्न सक्छन् । किनकि कांग्रेस महाधिवेशनको नजिक छ । आफ्नो मत सक्षम नेतृत्वको पक्षमा प्रकट गर्नबाट कोही पनि चुक्नुहुँदैन ।

२०७४ सालमा भएको संघ र प्रदेशको निर्वाचनमा कांग्रेस नराम्ररी पराजित भयो । पराजयको अपजस सभापतिमाथि लगाइयो । १३औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवाले पार्टीलाई कुशलतापूर्वक सञ्चालन गर्न नसकेको आरोपमाथि केही दम भने छ । इमानदार र निष्ठावान कार्यकर्ताहरूले पार्टीमा स्थान र टिकट पाउन नसक्नु, स्वेच्छाचारी व्यवहार तथा पार्टीका महत्वपूर्ण विभाग, भ्रातृ संघसंस्था र निर्वाचनमा टिकट वितरणमा टिके प्रथाबाट लागू गर्ने काम कुशल नेतृत्वबाट हुनसक्दैन ।

समयमा नै महाधिवेशन गर्न नसक्ने जस्ता क्रियाकलाप कुनै पनि लोकतान्त्रिक पार्टीको स्वास्थ्यका लागि प्रतिकूल छ । यी सबै गतिविधि र असफलताबाट पार्टीका आम कार्यकर्ता रुष्ट बनिरहेका छन् । यस्तै असहमति, निष्क्रियता र गुटबन्दीबाट जर्जर भएर बित्यो १३औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको कार्यकाल ।

समयमा नै १४औं महाधिवेशन हुन नसकेर थप एक वर्ष कार्यकाल थप्दा पनि अनिश्चित नै बनिरहेको छ । हुन त महाधिवेशनको निर्वाचन कार्यतालिका र मिति पुनः तय भएसँगै महाधिवेशनको सरगर्मी बढ्न थालेको छ । महाधिवेशनबाट पार्टीको आगामी कार्यदिशा, नीति, योजना, कार्यक्रम तय गर्नुपर्नेछ ।

आम नागरिकका समस्याहरू, देशमा विद्यमान बेथिति, विसंगतिविरुद्ध समाधान लिएर आउनुपर्नेछ । वैदेशिक सम्बन्ध र विकास निर्माण सम्बन्धी रोडम्याप तयार हुनुपर्ने हो तर ती विषय ओझेलमा परेका छन् । महाधिवेशनमा नीति, योजना र कार्यक्रम बारेमा व्यापक छलफल र बहस हुनुपर्ने बेला केवल नेतृत्वका लागि बहस चलेको छ ।

पार्टीको सभापतिमा परीक्षण भइसकेका देउवाले पुनः उम्मेदवारी घोषणा गरेका छन् । उनकै समूहका विमलेन्द्र निधिले उम्मेदवारी दिने घोषणा गरेसँगै चुनावी माहोल थप तातेको छ । संस्थापनइतर पक्षबाट जसरी हुन्छ देउवालाई ‘रिङ्ग आउट’ गराउने तयारी छ तर संस्थापनइतरभित्र नै आकांक्षीहरू धेरै छन् । उक्त समूहका आधा दर्जन जस्तो नेताले आफूलाई सभापतिको दावेदारका रूपमा प्रस्तुत गरिसकेका छन् ।

संस्थापनइतर पक्षबाट डा.शेखर कोइराला, रामचन्द्र पौडेल, शशाङ्क कोइराला लगायत नेताहरूले आफ्नो दाबी अगाडि सारेका छन् । देउवालाई रिङ्ग आउट गराउनु फलामका चिउरा चपाउनु सरी हुनेछ किनकि यतिबेला सरकारको नेतृत्व स्वयम् शेरबहादुर देउवाले गर्दै आइरहेका छन् ।

नेपाली कांग्रेसले पार्टीलाई संघीय ढाँचा अनुसार विधान परिमार्जन गरेको छ । यसअनुसार १४औं महाधिवेशनको निर्वाचन यसप्रकार हुनेछ- वडा अधिवेशन, गाउँ/नगर अधिवेशन, संघीय निर्वाचन क्षेत्रको अधिवेशन, प्रदेश समितिको अधिवेशन र राष्ट्रिय महाधिवेशनले सभापति लगायतका पदाधिकारीको चयन ।

१३औं महाधिवेशनको तुलनामा १४औं महाधिवेशन जम्बो केन्द्रीय समितिको बन्नेछ । जम्माजम्मी १६९ सदस्य हुने समितिमा १३६ प्रत्यक्ष निर्वाचित हुनेछन् भने ३३ जना मनोनीत गरिनेछन् । १३औं महाधिवेशनमा ८५ सदस्यीय केन्द्रीय समिति रहेकोमा ६४ सदस्यको निर्वाचन हुँदै आएको थियो ।

करीब ९ लाख कार्यकर्ता भएको नेपालको सबैभन्दा ठूलो राजनीतिक दलको रूपमा आफूलाई उभ्याउँदै आएको छ नेपाली कांग्रेसले । पार्टीको आकार जस्तै ठूलो छ यसले निर्वाह गर्नुपर्ने दायित्व । सबैको चाहना र कामना छ- कांग्रेसले आमनागरिक र कार्यकर्ताले चाहेअनुसार नेतृत्व पार्टीले पाओस् । जसले आमनागरिकका समस्याहरू हल गर्न सकोस् । देशमा देखिएका समस्या समाधान हुनसकोस् ।

राजनीतिबाट आजित भएका आमनागरिकलाई दरिलो राजनीतिक दलको रूपमा आफूलाई स्थापित गर्न सकोस् । पार्टी कार्यकर्तामुखी नभई जनमुखी बनोस् । सहीलाई सही र गलतलाई गलत भन्ने नीति पार्टीभित्र स्थापित गर्न सकोस् । भ्रष्टाचार, हिंसा, हत्या र बलात्कारका घटनाहरू सधैंका लागि अन्त्य होस् । दिगो आर्थिक विकासका माध्यमबाट रोजगारीको सिर्जना गर्दै शिक्षा र स्वास्थ्य निःशुल्क गरी बीपीको सपना, योजना र सिद्धान्त आत्मसात् गरी अगाडि बढ्न सकोस् ।

यो हाम्रो चाहना र कामना हो । यस्तो चाहना पूरा अब केवल कार्यकर्ताले गर्न सक्छन् । किनकि कांग्रेस महाधिवेशनको नजिक छ । आफ्नो मत सक्षम नेतृत्वको पक्षमा प्रकट गर्नबाट कोही पनि चुक्नुहुँदैन ।

(रूरूक्षेत्र-३, थानपति, गुल्मीका ज्ञवाली नेपाली कांग्रेससँग आवद्ध छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?