+
+

संघीय व्यवस्था बलियो भए मात्र शहीदको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १७:१५
फाइल तस्वीर

४ भदौ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय व्यवस्था बलियो बनाए मात्र शहीदको सपना पूरा हुने बताएका छन् । प्रदेश प्राप्तिको आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र शहीदको सपना पूरा गर्न संघीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए ।

‘प्रदेश स्थापना तथा शहीद दिवस–२०७८’ को अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्मन्त्री शाहीले भनेका छन्, ‘संघीय व्यवस्था स्थापनाका लागि दशकौं लामो सशस्त्र एवं निशस्त्र रुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण संघर्षहरूको पृष्ठभूमिमा कर्णाली प्रदेशवासीले आफ्नो प्रदेश प्राप्तिका लागि समेत बलिदानीपूर्ण संघर्ष गरे, अब यो व्यवस्थालाई थप बलियो बनाऔं ।’

संघीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी निर्णय भएको थियो । सोही निर्णयको विरोधमा कर्णालीवासीले छुट्टै प्रदेश स्थापनाको माग गर्दै दुई सातासम्म आन्दोलन गरेका थिए । त्यसक्रममा चार जनाले ज्यान गुमाउनु परेको थियो ।

उक्त आन्दोलनका क्रममा टिकाराम गौतम, यामबहादुर बीसी, गोपालसिंह रजवार र हरिबहादुर कुँवरले सहादत प्राप्त गरेका थिए । २०७२ भदौ ४ गते कर्णाली प्रदेश स्थापना भएको थियो ।

मुख्यमन्त्री शाहीले प्रदेश प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहीदहरुप्रति सम्मन व्यक्त गरेका छन् । कर्णाली प्रदेश सरकारले आजको दिनलाई प्रदेश स्थापना दिवस तथा शहीद दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ । त्यसका लागि शुक्रबार कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।

मुख्यमन्त्री शाहीले कर्णालीका  लागि संघीय व्यवस्था अपरिहार्य भएको कुरा स्थापित भएको बताउँदै विज्ञप्तिमा भनेका छन्, ‘भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपनका साथै भौतिक विकासमा समेत कर्णाली पछाडि छ । कर्णालीका लागि संघीय व्यवस्था अपरिहार्य भएको तथ्य समय क्रमसँगै थप स्थापित भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?