+
+

अफगान क्रिकेटर शाहजादले चितवनबाट ईपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते १९:१२

६ भदौ, काठमाडौं । अफगाननिस्तानका  आक्रामक  ब्याट्सम्यान  मोहम्मद  शाहजादले  चितवन टाइगर्सबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट खेल्ने भएका छन् ।

यसअघि पनि उनी चितवनमा अनुबन्ध भएका थिए तर कोभिडका कारण २०२० मा ईपीएल हुन सकेन । चितवनले यस पटक शाहजादलाई निरन्तरता दिएको जनाएको छ ।

छक्का  प्रहार  गर्ने  छुट्टै  शैली  बनाएका  विकेटकिपर  ब्याट्सम्यान  शाहजाद  अफगानिस्तानलाई  क्रिकेटको एउटा  शक्ति  बनाउँदाका  प्रमुख  खेलाडी  हुन्  । माथिल्लो क्रमका  यी  दायाँहाते  ब्याट्सम्यानले अफगानिस्तानलाई  सन्  २०१०  देखि  चार  पटक  ट्वान्टी–२०  विश्वकपमा  पुर्‍याउँदा महत्वपूर्ण  भूमिका खेल्दै आएका छन् ।

उनको दक्षता सीमित ओभरको क्रिकेटमा मात्र छैन । क्यानडाविरुद्ध २०१० को अन्तरमहादेशीय कपमा उनले चौथो इनिङ्समा नटआउट २१४ रन बनाएपछि अफगानिस्तानले ४९४ रनको लक्ष्य पूरा गरेको थियो । शाहजादले २०१६  आईसीसी  एसोसिएट  एन्ड  एफिलिएट  क्रिकेट  वर्षको  उपाधि  जितेका थिए । यो उपाधि जित्ने अफगानिस्तानका पहिलो खेलाडी हुन् ।

त्यसको अर्को वर्ष उनले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा  एकै दिनमा  दुई  अर्धशतक  बनाएर  दुर्लभ  कीर्तिमान  हात  पारेका  थिए  ।  दुबईमा  डिजर्ट ट्वान्टी–२०  च्यालेन्जमा  उनले  दिउँसोको  खेलमा  ओमान  र  साँझको  खेलमा  आयरल्यान्डविरुद्ध अफगानिस्तानलाई विजय दिलाउदा दुवै खेलमा अर्धशतक बनाएका थिए ।

शाहजाद अफगानिस्तानले सन् २०१८  मा भारतविरुद्ध आफ्नो पहिलो टेस्ट खेल्दाका सदस्य  हुन् ।  २००९ मा नेदरल्यान्ड्सविरुद्ध उनले एमस्टलभिनमा बनाएको ११० रन अफगानिस्तानका खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो शतक थियो । २०१८ को एसिया कपमा भारतसँग बनाएको शतक उनको विशेष इनिङ्समा पर्छ ।

उनले  अपफगानिस्तानबाट  कुल  ८४  एकदिवसीय  अन्तर्राष्ट्रिय  खेल्दै  ६  शतक  र  १४  अर्धशतकसहित २ हजार ७२७ रन  बनाए  ।  उनको  औसत ३३  माथि रहेको  छ  ।  त्यस्तै  ६५  ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा उनले १३४ माथिको स्ट्राइकर रेटमा  झन्डै  २  हजार  रन  बनाएका  छन्  ।  एकदिवसीयमा  अविजित  १३१  र ट्वान्टी–२०  मा  अविजित  ११८  रन  उनको  उच्च  स्कोर  हो  ।  शाहजादसँग बंगलादेश प्रिमियर  लिग, पाकिस्तान सुपर लिग, अबुधावी ट्वान्टी–१० लिग, अफगानिस्तान प्रिमियर लिग लगायतमा खेलेको अनुभव छ ।

चितवन टाइगर्सका अप्रेसन डिरेक्टर विनिता चौधरी भट्टराईले भनिन्, ‘शाहजादलाई निरन्तरता दिन पाउदाँ हामी निकै उत्साहित भएका छौं । उनी एक स्थापित अन्तर्राष्ट्रिय क्रिकेटर रहेकाले उनको अनुभवले टाइगर्सको युवा ब्याटिङ लाइनअपलाई उत्साह र अनुभव प्रदान गर्नेछ ।’

यस्तै शाहजादले काठमाडौंमा छक्का वर्षा गर्न आतुर रहेको बताएको चितवनले विज्ञप्तिमा उल्लेख गरेको छ । ‘काठमाडौंमा  छक्का  वर्षा  गर्नलाई  आतुर  छु  ।  नेपालका  प्रशंसकहरु  विश्वकै  धैर्यवान  प्रशंसक  हुन्  । चितवनबाट खेलेर सबैलाई मनोरञ्जन प्रदान गर्न तयार छु,’ मोहम्मद शाहजादले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?