+
+

वाइफाइको स्पीड सुस्त बन्यो ? यसरी समाधान गर्नुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १४:४५

७ भदौ, काठमाडौं । घरबाटै इन्टरनेटमा काम गरिरहेको वा अध्ययन गरिरहेको बेला सुस्त गतिको वाइफाइ इन्टरनेट निकै टाउको दुखाइको विषय बन्दछ । महामारीका कारण भर्चुअल बनिरहेको अहिलेको व्यवसायिक तथा शैक्षिक गतिविधिका बेला सुस्त इन्टरनेट स्पीडले तपाईको व्यवसायिक तथा शैक्षिक क्रियाकलापमै असर गर्दछ ।

यस्तो बेला तपाईले आफ्नो वाइफाइ इन्टरनेटको सुस्त गतिको समस्या समाधान गर्नुपर्ने हुन्छ । खुसीको कुरा त के भने सुस्त बनेको वाइफाइको समस्या तपाई आफैले समाधान गर्न सक्नुहुन्छ । यसका लागि तपाईले तलका विधि अबलम्बन गर्न सक्नुहुन्छः

१. के तपाईको इन्टरनेटको स्पीड कमजोर छ ?

आफ्नो वाइफाइ इन्टरनेटको स्पीड सुस्त बनेको निष्कर्ष निकाल्नु अगाडि तपाईले आफ्नो घरको इन्टरनेटको वास्तविक स्पीड इन्टरनेट सेवा प्रदायकले दिएको भनिएको स्पीडजति छ कि छैन भनेर जाँच्नुपर्ने हुन्छ । त्यसका लागि तपाई speedtest.net तथा fast.com जस्ता वेबसाइटमा गएर आफ्नो इन्टरनेटको वास्तविक स्पीड कति छ थाहा पाउन सक्नुहुन्छ । यदि तपाईको इन्टरनेट स्पीड आइएसपीले भनेको स्पीडसँग मेल खायो भने तपाईको इन्टरनेटको स्पीडमा कुनै गडबडी छैन भन्ने पुष्टि हुन्छ । र, सुस्त इन्टरनेट स्पीडमा सुधारका लागि तपाईले इन्टरनेट सेवा प्रदायकसँगबाट थप बढि गतिको इन्टरनेट सेवा प्याकेज खरीद गर्नुपर्दछ । तर यदि आइएसपीले प्रदान गरेको भनिएको भन्दा तपाईको वास्तविक इन्टरनेट स्पीड कम छ भने त्यसको समस्या समाधानका लागि केही उपाय अबलम्बन गर्न सक्नुहुन्छ ।

२. वाइफाइ राउटर रि स्टार्ट गर्नुहोस्

इन्टरनेट कनेक्सनमा तथा स्पीडमा आएको समस्या समाधानका लागि सबैभन्दा पहिलो तथा सजिलो उपाय भनेकै राउटर रि स्टार्ट गर्नु हो । यसका लागि वाइफाइको स्विच अफ गरेर केही सेकेण्डमै स्विच अन गर्नुहोस् । यसो गर्दापनि इन्टरनेट स्पीडमा सुधार भएन भने आफुले इन्टरनेट प्रयोग गरिरहेको कम्प्युटर, फोन तथा अन्य डिभाइस रि स्टार्ट गर्नुहोस् । कहिलेकाहीँ सुस्त इन्टरनेटको कारक तत्व इन्टरनेट कनेक्सन नभई तपाईको डिभाइस हुनसक्दछ ।

३. वाइफाइ राउटर ठिक ठाउँमा राख्नुहोस्

यति गर्दापनि यदि तपाईको वाइफाइ इन्टरनेटको स्पीडमा सुधार भएन भने यसको अर्को कारण राउटर सही ठाउँमा नराखिएका कारण पनि हुन सक्दछ । त्यसैले राउटरलाई दराजको माथि वा यस्तै कुनै उचाइँको ठाउँमा राख्नु उपयुक्त हुन्छ । राउटरलाई माइक्रोवेभ ओभन तथा रेफ्रीजेरेटरको नजिक राख्नु हुँदैन । इन्टरनेट डिभाइस चलाउने ठाउँबाट धेरै टाढा वा कुनै कुनातिर राउटर राख्ने काम पनि गर्नु हुँदैन ।

४. राउटरको एन्टेना मिलाउनुहोस्

राउटरका एन्टेना सिधै माथि ठडाउँदा वाइफाइ इन्टरनेट तरंग एउटा दिशातिर मात्र जान्छ । त्यसैले राउटरका एन्टेनाहरु फरक फरक दिशामा ढाल्नहोस् । प्रायः इन्टरनेट राउटरमा २ वा ३ वटा एन्टेना हुन्छन् । त्यसैले ती मध्ये एउटालाई ठाडो र अरुलाई तेर्सो बनाएर राख्दा इन्टरनेट तरंग सबैतिर जान्छ ।

५. वाइफाइ सेक्योरिटी बलियो बनाउनुहोस्

यदि तपाईको वाइफाइको सेक्योरिटी बलियो छैन भने अन्य मानिसहरुले तपाईको वाइफाइको पासवर्ड सजिलै प्राप्त गर्न सक्दछन् । छिमेकीहरुले तपाईको वाइफाइको पासवर्ड चोर्ने र अनधिकृत रुपमा धेरै जनाले तपाईको वाइफाइ इन्टरनेट चलाइदिन्छन् जसका कारण तपाईको इन्टरनेट स्लो बन्दछ । त्यसैले आफ्नो राउटरमा WPA2 सेक्योरिटी प्रोटोकल प्रयोग गर्नुपर्दछ । तपाईले राउटर सेटिंग्स गरी यो परिवर्तन गर्न सक्नुहुन्छ ।

६. एकल कनेक्सन, बहु प्रयोगकर्ता

तपाईको घरमा एउटै वाइफाइबाट धेरै जनाले निरन्तर इन्टरनेट चलाउँदा पनि इन्टरनेट गति सुस्त बन्न सक्दछ । त्यसैले यस्तो अवस्थामा घरमा धेरैले एकैपटक इन्टरनेट चलाइरहनु भएको छ भने बढि ब्याण्डविथ खपत हुने लाइभ स्ट्रिमिंग, ठूला फाइल डाउनलोड गर्ने जस्ता काम सबैले एकैपटक नगर्नुहोस् । बढि महत्वपूर्ण कामका लागि उच्च गतिको इन्टरनेट आवश्यक परेको बेला अरु अनावश्यक डिभाइसमा वाइफाइ नचलाउनु उपयुक्त हुन्छ ।

७. राउटरको सफ्टवेयर अपडेट गर्नुहोस्

राउटरको सेक्योरिटी, कार्यक्षमता तथा स्थीरतामा सुधारका लागि त्यसको सफ्टवेयर अपडेट गर्नु महत्वपूर्ण हुन्छ । अहिले बजारमा पाइने धेरैजसो राउटरहरु अटोम्याटिक रुपमा अपडेट हुने खालका हुन्छन् । तर यदि तपाईसँग पूरानो मोडेलको राउटर छ भने तपाईले आफै सफ्टवेय अपडेट इन्स्टल गर्नुपर्ने हुनसक्दछ । विभिन्न खालका राउटरमा अपडेटेड सफ्टवेयर इन्स्टल गर्ने तरिका फरक फरक हुन्छन् । यसका लागि तपाईले आफ्नो कम्प्युटर वा फोनबाट इन्टरनेट ब्राउजरमा आफ्नो राउटरको आइपी एड्रेस हाली राउटरको वाइफाइ सेटिंग्समा जान सक्नुहुन्छ ।

८. डिभाइसको नेटवर्क सेटिंग्स रिसेट गर्नुहोस्

यदि वाइफाइ राउटरको सेटिंग्सले समस्या समाधान भएन भने तपाईले आफ्नो डिभाइसको नेटवर्क सेटिंग्स पनि रिसेट गर्नु राम्रो हुन्छ । डिभाइसको नेटवर्क सेटिंग्स गर्नु भनेको वास्तवमा इन्टरनेट नेटवर्कलाई डिफल्टमा सेटिंग्स गर्नु हो । त्यसपछि तपाईले आफ्ना सबै डिभाइस्मा वाइफाइलाई पुनः रिकन्फिग्यूरेसन गर्नुहोस् । यसो गर्दा तपाईको इन्टरनेटको स्पीडमा सुधार आउन सक्दछ ।

९. नयाँ वाइफाइ राउटर खरीद गर्ने

यदि तपाईको राउटर नै खराब वा कमल छ भने जति धेरै स्पीड भएको इन्टनेट प्लान खरीद गरेपनि तपाईले उच्च गतिको इन्टरनेट प्रयोग गर्न सक्नुहुन्न । त्यसैले यदि तपाईको राउटर निकै पूरानो तथा नयाँ वाइफाइ मापदण्ड पूरा नगर्ने खालको छ भने तपाईले त्यो राउटर फेर्नुपर्ने हुन्छ । यसका लागि wifi 5 वा कम्तिमा wifi 4 सपोर्ट गर्ने नयाँ राउटर खरीद गर्नु राम्रो हुन्छ ।

१०. वाइफाइको सुस्त गति सुधारका लागि Quality of Service टुलको प्रयोग गर्ने, डिएनएस सर्भर परिवर्तन गर्ने, वाइफाइ एनालाइजर प्रयोग गर्ने, वाइफाई च्यानल परिवर्तन गर्ने लगायतका उपाय अबलम्बन गर्न सकिन्छ । तर यति गर्दापनि समस्या समाधान भएन भने तपाईले आफ्नो इन्टरनेट सेवा प्रदायक नै परिवर्तन गरी भरपर्दो तथा राम्रो गतिको इन्टरनेट सेवा दिने सेवा प्रदायकसँग सम्झौता गर्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?