+
+

क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १६:४८

८ भदौ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताएका छन् । उनले सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई बुझाएलगत्तै क्रियाशील सदस्यता वेवसाइटमार्फत् सार्वजनिक गरिने बताए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षधर जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् ।

प्रवक्ता शर्माले निर्वाचन समितिले सदस्यता प्राप्त गरेलगत्तै पार्टीको वेवसाइटमार्फत् सार्वजनिक गर्ने भन्दै जिल्ला सभापतिहरुलाई केही दिन प्रतीक्षा गर्न आग्रह गरे ।

‘आदरणीय जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्दछ भनेर माग राख्नु स्वाभाविक हो । तर हिजो (सोमबार) राति मात्रै पार्टीभित्रका फरक–फरक समूहका नेताहरुको सहभागिता रहेको समितिले सभापतिलाई प्रतिवेदन बुझाएको छ’ प्रवक्ता शर्माले भने, ‘त्यो अवस्थामा सभापतिबाट निर्वाचन समितिलाई हस्तान्तरण भइसकेपछि निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक गर्छ ।’

निर्वाचन निर्देशिका निर्माण गरिरहेका नेताहरुलाई सभापति देउवाले निर्वाचन समितिले क्रियाशील सदस्यता विवरण पाएपछि सार्वजनिक गर्ने भनेर उल्लेख गर्न निर्देशन दिइसकेको पनि उनले बताए ।

प्रवक्ता शर्माले निर्वाचन समितिलाई सभापति देउवाले क्रियाशील सदस्यता हस्तान्तरण गर्ने तयारी भइरहेको पनि बताए । ‘…केवल केही दिन प्रतीक्षा गरे मात्रै हुन्छ । त्यो सार्वजनिक हुन्छ नै । वेबसाइट बनाएकै हामीले सदस्यतालाई पारदर्शी बनाउन भनेर हो,’ उनले भने, ‘उजुरी लिने, दावी विरोध गर्ने र सच्याउने सबै वेबसाइटबाटै गरिने हो । पार्टीका साथीहरुले मात्र होइन, शुभेच्छुक र गैरकांग्रेसीले पनि थाहा पाउने गरी वेबसाइटमा राख्छौं ।’

क्रियाशील सदस्यता तत्काल सार्वजनिक गर्नुपर्ने, मापदण्ड अनुसार सदस्यता छानविन गरेर अन्तिम टुंगो लगाउनुपर्ने र सबै जिल्ला सभापतिको निर्वाचन प्रक्रियामा एकरुपता हुने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग राखेर पौडेल पक्षका जिल्ला सभापति पार्टी कार्यालयमा धर्नामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?