+
+

जब रेशम चौधरीले भने, ‘पचास वर्ष जेल बस्छु तर झुक्दिनँ’

निर्भीकजंग रायमाझी निर्भीकजंग रायमाझी
२०७८ भदौ ९ गते ९:२०

९ भदौ, काठमाडौं । मंगलबार थारूवान/थरूहट राष्ट्रिय मोर्चा तथा बृहत् नागरिक आन्दोलनले टिकापुर घटना ६ वर्ष पुगेको सन्दर्भमा गरेको विरोध सभालाई सांसद रेशम चोधरीले कारागारबाटै एक सन्देश पठाए ।

मोर्चामा सल्लाहकार एवं अभियन्ता सुरेन्द्र चौधरीका अनुसार रेशमले बिहानै फोन गरेर जनतालाई आफ्नो कुरा बताउन आग्रह गरेका थिए । सोहीअनुसार सभामा बोल्दै सुरेन्द्रले सांसद रेशमको सन्देश सुनाए ।

‘बरू म पचास वर्ष जेल बस्न तयार छु । तर मेरो रिहाइको लागि कसैले पनि सत्ता र शासकसँग सम्झौता नगर्नुहोला’, सन्देशमा रेशमले भनेका थिए ।

साथै रेशमले आफ्नो जेलजीवन मुक्तिको लागि भएकाले सबै उत्पीडित शोषितको मुक्तिको लागि आफू सधैं जेल बस्न तयार भएको कुरा बारम्बार गरेको अभियन्ता सुरेन्द्रले बताए ।

सुरेन्द्रले थपे, ‘थारूहरू मान्छे मार्ने जात हुँदै होइनन् तर उनीहरूलाई आतंककारीजस्तो बनाइया तर यो कुरा कोही कसैले पत्याउँदैन किनभने आज रेशम चौधरीको साथमा सबै न्यायप्रेमी जनता जोडिएका छन् ।’

यता ‘भदौ ८’ गतेलाई थारूहरूले ‘कालो दिन’का रुपमा मनाउँदै आएका छन् । कैलाली टिकापुरमा २०७२ भदौ ७ गते सातजना प्रहरी र दुई वषर्ीय बालकको हत्याको भोलिपल्ट त्यहाँका थारू बस्ती जलाइएको तथा कुटपिट गरिएकाले ८ भदौलाई कालो दिनको रुपमा मनाइँदै आएको छ ।

वसन्तपुर डबलीमा भएको सभामा टिकापुर घटनामा थारूहरूलाई लगाइएका सम्पूर्ण झुठा मुद्दा खारेज गर्नुपर्ने कुरालाई मुख्य विषय बनाइएको थियो । साथै टिकापुर घटनापछि लाल आयेगले बनाएको प्रतिवेदन लागू गर्नुपर्ने कुरा पनि विरोध सभामा उठाइयो ।

सभामा बोल्दै थारु अभियन्ता मीनराज थारुले देशको संविधान नै अपुरो भएकाले पहिलो लडाइँ त्यहीँबाट सुरु भएको बताए । ‘थारु विद्रोह यो देशको असमान कानुन र राज्य व्यवस्थाको उपज हो’ उनले भने, ‘टिकापुर विद्रोह यही राज्यसत्ताको असमान सोचको विरुद्धमा गरिएको जनविद्रोह हो । जसलाई राज्यले आतंककारीको संज्ञा दियो ।’
उनले थारुहरू कुनै पनि कोणबाट आतंकवादी नभएको बरु सयौं वर्षदेखि कृषिकर्म गर्दै आएका कर्मठ भूमिपुत्र रहेको उद्घोष गरे ।

यता सभामा एक्येबद्धता जनाउन आएका ‘उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति’का संयोजक सुमन सायमीले टिकापुर घटनामा राज्यले चरम दमन गरेको भन्दै उक्त घठनाका सबै बन्दीलाई तत्काल रिहा गर्न माग राखे ।

‘टिकापुरमा जस्तै राजधानीकै खोकनामा पनि आदिवासीमाथि अत्याचार भएको छ । यो सबै काम गर्ने नश्लीय राज्यसत्ताको विरुद्ध हामी लड्नेछौं, सायमीले भने ।

यस्तै अर्का अभियन्ता जीवनभक्त श्रेष्ठले आदिवासी भनेको आदिकालदेखि त्यो भूमिमा बस्ने नागरिक भएको भन्दै थारूहरू असली भूमिपुत्र रहेको बताए । आदिबासीको जग्गा मास्ने, घर जलाउने अधिकार राज्यलाई नभएको भन्दै उनले तत्काल सबै थारू नेताहरूलाई कारागारबाट रिहा गर्न माग राखे ।

नागरिक अभियन्ता कैलाश राईले भने टिकापुर घटनालगायत अन्य विद्रोह हुँदा महिला तथा बालबालिका नै बढी मारमा पर्ने कुरा उठाइन् । राईका अनुसार हरेक आन्दोलन र द्वन्द्वमा महिला, बालबालिका र वृद्धवृद्धा नै मारमा पर्ने हुँदा उनीहरूको विषयमा संवेदनशील हुन आवश्यक छ ।

राईले भनिन्, ‘टिकापुरमा विद्रोह भएपछि पुरुषहरू जेल परे । त्यसबेला महिलाहरूले मात्र घरव्यवहार चलाए । फेरि राज्यबाट पनि उनीहरूले नै पीडा खेपे । यो कुरा हामीले भुल्न हुँदैन ।’

विरोध सभामा अभियन्ताहरूको मन्तव्यका साथै कविता वाचन र नाटकसमेत देखाइयो । शिल्पी थिएटरका कलाकारहरुले थारु जातिमाथि भएको शोषणलाई नाटकको रुप दिँदै गरेको अभिनय हेर्न वसन्तपुर दरबार वरपरका वटुवाहरूसमेत डबलीमा जम्मा भएका थिए ।

यसपछि कवि भूमिका थारु, केशव सिलवाल र भूपाल राईले कविता सुनाए । तीनैजना कविहरूको कविताले राज्य-सत्ताको चरित्रमाथि तीक्ष्ण व्यंग्य गरेको पाइन्थ्यो । गीतकारसमेत रहेका कवि भूपाल राईले टिकापुर धटनाकै सन्दर्भमा लेखिएको कविता सुनाए ।

‘कैलालीको इकोसिस्टम’ शीर्षकको उक्त कविता यहाँ प्रस्तुत गरिएको छ :

अनिवार्य शेरले खरायो मार्नैपर्छ
मरेर पनि खरायोहरूले
जंगलको इकोसिस्टम जोगाइदिनैपर्छ
बिना खरायो न शेरको अनुवंश चल्छ
विना शेर न जंगल, जंगलजस्तो रहन्छ
ठीक यही यो जंगली इकोसिस्टमको अनिवार्यता
र ठीक यही तरिकाले चलिरहेको छ
कैलालीको इकोसिस्टम !

(तस्वीरः शंकर गिरी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?