Comments Add Comment
२२औं अन्तर्राष्ट्रिय युवा दिवस विशेष :

ओ युवा ! मान्कुर्त बन्ने कि स्पार्टाकस ?

आज २२औं अन्तर्राष्ट्रिय युवा दिवस । यस्ता दिवस ती युवाको चासोको विषय बन्दैनन्, जो यो समाज र देशलाई पाल्न खाडीको भाउन्न छुट्ने तातो हावामा आफ्नो उर्वर जवानीका रगत र पसिना चुहाउन विवश छन् । अनि यो सब त्रासद जिन्दगीका मूल्य उपर पनि कतिपयका मृतदेह कफिनका बाकसमा फर्किरहेछन् ।

ती युवा, जो ऊर्जावान् छन्, जो प्रत्यक्ष उत्पादनमा छन्, जो बहुसंख्यक छन् । उनीहरूको नियतिमाथि खडा भएको सत्ताचाहिं विभिन्न दिवस मनाएर उनीहरूलाई नै थप नियतिको खाल्डोमा हाल्न उद्यत नै देखिन्छन् । तर ती युवाहरूमाथि विवशताको दुश्चक्र उत्पादन गर्ने जुन सत्ता छ, र त्यो सत्ताको सर्कलमा विचारहीनताको सन्निपातले ग्रस्त जुन युवाहरूको दास जमात छ, तिनीहरूमाथिको प्रश्न हो– ओ युवा ! मान्कुर्त बन्ने कि स्पार्टाकस ?

आम रूपमा स्पार्टाकसहरूको विद्रोहको रोमाञ्चक गाथाबारे अधिकांश युवा जानकार नै होलान् । रोमको त्यो एपियन रोडमा ठड्याइएका तखतामाथि हातखुट्टामा किला ठोकेर कैयौं दिनसम्म तड्पाई–तड्पाई मारिएका ती विद्रोही दासहरूको आर्तनादको इतिहासले उत्पादन गरेको थियो स्पार्टाकसको त्यो दास विद्रोह गाथा । जसलाई हवार्ड फास्टले लेखन मार्फत अमर बनाए । जुन आजपर्यन्त बिम्बका रूपमा कथा, कविता, उपन्यासका पाना र श्रव्यदृश्यका सामग्रीहरूमा बाँचिरहेछन्, मानवसभ्यतालाई हरेक दासताबाट मुक्तिको लागि घच्घच्याइरहेछन् । ठीक त्यसरी नै अर्को दासको कथा हो मान्कुर्त । तर स्पार्टाकसको भन्दा बिल्कुल ठीक उल्टो कथा हो मान्कुर्त ।

किर्गिज लेखक चिन्गिज आइत्मतोभद्वारा लिखित कथा, कजाख भूमिमा जोआनहरूले तुर्कमेनियनहरूमाथि कब्जा गरेपछि तिनीहरूमाथि कस्तो बर्बर व्यवहारद्वारा दास बनाउँछन् भन्ने परिघटनाको कथा हो मान्कुर्त । जोलामन नामको पात्रलाई खडा गरेर जोआनहरूले एउटा ठीकठाक मान्छेलाई कसरी दास बनाउँछ र त्यो दास कुन हदसम्म मालिकप्रति बफादार बनाइन्छ भन्ने बर्बर कहानी हो मान्कुर्त ।

एउटा सद्दे मान्छेलाई दास बनाउन यस्ता यातनाक्रीडाको रचना गरिन्छ जसको कुनै सीमा छैन । सबैभन्दा त्रासद क्रीडा त कस्तो हुन्छ भने कपाल खौरेको तालुमा सुत्केरी ऊँटको छाला काढेर शिरी बनाइन्थ्यो । उक्त शिरी यसरी तन्काएर तालुमा टाँसिन्छ कि त्यसको पीडाले गर्दा उसले अरु केही सोच्न सक्दैन, म को हुँ भन्ने बिर्सिन्छ, आफ्नो परिचय, थातथलो, परिवार सबै बिर्सेर मालिक, मात्रै मालिकको आदेश पालना गर्ने दासमा परिणत हुन्छ । ठीक यी सबै यातनाको व्यूहक्रीडाबाट जोलामनलाई मान्कुर्त बनाइन्छ । त्यो जोलामन जब मान्कुर्त बन्छ, तब भएको एकमात्र छोरो खोज्दै आएकी आफ्नै आमालाई नै उसले मारिदिन्छ ।

यो आख्यान हो तर आज हामी हाम्रै आँगनका जोआनद्वारा जोलामनहरूलाई मान्कुर्त बनाएका देखिरहेका छौं र तिनका कृत्यनामाहरू भोग्न अभिशप्त छौं । बालकोटदेखि बूढानीलकण्ठ र खुमलटारतिर विराजमान नेपाली जोआनहरूद्वारा निर्मित मान्कुर्तहरू आ-आफ्नो मालिकका निहित स्वार्थपूर्तिका लागि सडकमा नाङ्गो नृत्य र आमा काट्ने धम्कीका साथ मोटरसाइकल र्‍यालीहरू गरिरहेका छन्।

यो डरलाग्दो परिघटनाभित्र अन्तर्राष्ट्रिय युवा दिवसको सान्दर्भिकता के हो ? यो प्रश्नको जवाफ चाहिं सस्तो श्रमको रूपमा विश्वबजारमा बिक्री हुन अभिशप्त युवाको लाम र मुलुकमा रहेका बेरोजगार युवाहरूलाई हेरेर खोज्नुपर्ने हुन्छ। के ती युवाहरूलाई नेतृत्व गर्छु भनेर राजनीतिमा लागिरहेका युवाहरूले सोचेका छन् ?
श्रम बेच्न बाध्य लामबद्ध युवा र राजनीतिमा लागिरहेका युवाहरूका लागि यो २२औं अन्तर्राष्ट्रिय युवा दिवसले के महत्व राख्छ ?

सन् १९९९ मा संयुक्त राष्ट्रसंघले शुरु गरेको अन्तर्राष्ट्रिय युवा दिवसले विश्वका युवाहरूलाई आफ्नो हितको लागि सचेत र जागरुक बनाउन के साँच्चिकै योगदान दियो ? वा विश्वबजारमा पूँजीपतिको थैलीमा थप पैसा थपिदिने कारिन्दाको रूपमा मात्रै उत्पादन गर्ने कृत्यनामाको प्रपञ्च रचिरहेछ ? हुन त, संयुक्त राष्ट्रसंघकै उत्पत्ति जसरी भएको थियो, मूलतः त्यो विश्व पूँजीवादी व्यवस्थाको रक्षा र विकासको लागि पूँजीवादी देशहरूको निहितस्वार्थ खातिर खडा गरिएको संरचना थियो भनिरहन परोइन ।

पछिल्लो समय, जब अमेरिकामा ट्रम्पको बहुलट्ठीपना र ब्रेक्जिट काण्डले त्यो पश्चिमी पूँजीवादको सत्ता पूरै हल्लिएको छ । जसको असरस्वरूप संयुक्त राष्ट्रसंघ समेत करीब–करीब प्रभावहीन हुँदै गइरहेको छ । यसैको परिणति अनुरूप सदस्य राष्ट्रहरूले पैसा दिन छाडेपछि केही महीना अघिसम्म महासचिव अन्तेनियो गुटेरसले दाता सदस्य राष्ट्रहरूलाई आफ्नो दायित्व अनुरूपको पैसा युएनको खातामा जम्मा गरिदेऊ भन्दै विलाप गरिरहेका थिए ।

तसर्थ, यस्ता संस्थाहरूले युवा, मजदूर, श्रमिकहरूको पक्षमा काम गर्छ भन्ने कुरा नै प्रपञ्च शिवाय केही थिएन/हैन । बरु यस्ता प्रपञ्च रच्ने संरचनाहरूले त युवाहरूलाई मान्कुर्त बनाउनमै मुख्य भूमिका खेलिरहेछन् । यसकारण ती तमाम युवामाथि पनि यो प्रश्न हो- के आजको विश्व र स्थानीय सत्ता संरचनाले पूँजीपतिको थैली भरिदिन श्रमिक दासहरू बनाइरहने दुश्चक्रको अभिशप्त मान्कुर्त पात्र मात्रै भइरहने कि, यो दुश्चक्रलाई तोडेर हालत बदल्न स्पार्टाकस बन्ने यत्नमा अघि बढ्ने ?

अन्तर्राष्ट्रिय युवा दिवसलाई कर्मकाण्डको रूप दिन नेपालमा पनि केही संघ-संस्था लगायत ‘युवा परिषद’ भन्ने एउटा सरकारी संस्था छ । तिनीहरूले वस्तुतः आम युवालाई सचेत, जागरुक, उत्पादनशील बनाउने वा उनीहरूको दुःखको कारण नै यो पूँजीवादी व्यवस्था र यसले खडा गरेको सत्ता हो भनेर यसका विरुद्ध संघर्ष गर्न सिकाउने भन्दा पनि सत्ताको भजनमण्डली तयार पारेर युवाको मान्कुर्तीकरण गर्नमै राज्यकोषको दोहन गरिरहेछ ।

यता, नेपालबाट दैनिक दुई हजारको हाराहारीमा युवाहरू विश्वबजारमा बेचिइन गइरहँदा सत्ता र राजनीतिले गरिरहेका अनेकौं फण्डा सँगसँगै कति युवाहरू मान्कुर्त बन्नबाट बचिरहेछन् वा युवालाई मान्कुर्त बनाउने प्रपञ्च विरुद्ध विद्रोह गर्न कति तयार भैरहेछन् ? यसरी हेर्ने हो भने बडो विदीर्ण दृश्यपट मात्रै देख्न सकिन्छ ।

यसको मुख्य कारण भनेको राजनीतिमा युवाहरूको वैचारिक बन्ध्याकरणको परिघटना नै हो । ठीक त्यसरी नै, जसरी जोलामनहरूलाई मान्कुर्त बनाउन जोआनहरूद्वारा जे जस्ता दुश्कर्महरू रचिए । फरक यति हो, कजाख कब्जा गर्ने जोआनहरूले बडो अवर्णनीय पीडा र कष्टकर कृत्यनामाद्वारा जोलामनहरूलाई मान्कुर्त बनाए भने नेपाली समाज र राजनीतिका जोआनहरूले युवाहरूमाथि विचारको बन्ध्याकरण गरिदिएर, युवालाई हुल्लडबाजको जत्थामा परिणत गरिदिएर, मान्कुर्त बनाए ।

आजको समाजमा पूँजीवादी व्यूहरचनाका संरचनाद्वारा दास बनाइरहिएका आम युवा र राजनीतिमा अमूक नेताहरूको दास बनिरहेका युवाहरू मान्कुर्त बन्छन् कि स्पार्टाकस ? यो नै आजको मुख्य प्रश्न हो । हालको राजनीतिमा जसरी युवाहरूको दुरूपयोग भैरहेको छ, शायद यो इतिहासको चरमकाल हो । युवाहरूलाई यो हालतमा पुर्याउनमा समग्र राजनीति, यसका ठेकेदार नेताहरू र तिनीहरूबाट उत्पादित राज्यव्यवस्थाको ठूलो योगदान रहेको छ । यसका लागि यहाँको शिक्षा पद्धति ध्वस्त गर्न स्कूलहरू ध्वस्त गरियो, क्याम्पस र विश्वविद्यालयहरू ध्वस्त गरियो ।

 बालकोटदेखि बूढानीलकण्ठ अनि खुमलटारतिर विराजमान नेपाली जोआनद्वारा निर्मित मान्कुर्तहरू आ-आफ्नो मालिकको निहित स्वार्थपूर्तिका लागि सडकमा नाङ्गो नृत्य र आमा काट्ने धम्कीका साथ मोटरसाइकल र्‍याली गरिरहेछन् ।

प्राज्ञिक र अनुसन्धानात्मक थलोहरू ध्वस्त गरियो अनि ध्वस्त पारियो पार्टीभित्रैका प्रशिक्षण र वैचारिक कर्महरू । कुल मिलाएर सत्ताले मान्छेहरूको चेतनालाई ध्वस्त गरिदियो । गएको करीब दुई दशकमा यी सबै कर्मकाण्डहरू तमाम गरियो जसले गर्दा आज राजनीतिमा कुनै युवा स्पार्टाकस बन्न सकेनन् । चाहे त्यो देउवा, ओली, प्रचण्ड वा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरू, एकेडेमीहरूका कुलपतिहरूदेखि अनुसन्धान केन्द्रका हर्ताकर्ता सबै सबैको कृत्यनामाको कारण एउटा सिंगो युवापुस्ताको मान्कुर्तीकरणले मक्किएर सकिन लागेको तन्नम पुस्ताको ताण्डव भोग्न अभिशप्त छ देश । तसर्थ यो सिंगो संरचनात्मक समस्या हो ।

आजको राजनीतिमा युवाहरूको काम के हुन्छ ? भनेर केही एकाध युवाहरूमाथि नमूना अध्ययन गर्ने हो भने लगभग निष्कर्षमा पुग्न सकिन्छ । त्यसको वर्णन नै बडो दिक्क लाग्दो एक परिघटना सिवाय केही हुनेछैन । विद्यार्थी संगठनमा जोडिएका युवाहरू विद्यार्थीको प्रत्यक्ष सरोकारको मुद्दा र काम बाहेक ती सबै काममा संलग्न हुन्छन् जहाँ पैसाको दलाली गर्न सकियोस् । युवा संगठनमा जोडिएकाहरू युवाको सरोकार, रोजगारी र उद्यमको मुद्दा बाहेक ती सबै काममा संलग्न हुन्छन् जहाँ नगदानगद कारोबार गर्न सकियोस् ।

वस्तुतः यो आम युवाहरूको आन्दोलन मरेपछि केही तन्नमहरूको परजीवीकर्म सिवाय केही बन्न सकेन । तर के उनीहरू आफैंले चाहेर त्यस्तो भएका हुन् त ? यो मात्रै बिल्कुल सही निष्कर्ष होइन । बरु यो त, विश्व पूँजीवादी व्यवस्था र त्यसको सञ्जाल टिकाउने क्षेत्रीय र स्थानीय तहका दलाल मतियारहरूद्वारा निर्मित राज्य संरचनाका उपज हुन् । जसरी त्यो जिउँदो जाग्दो तुर्कमेनियन युवा जोलामनलाई मान्कुर्त बनाउन जोआन सत्ताले गरेका निहित स्वार्थप्रेरित दुश्कर्मको प्रक्रिया पूरा गरिएको थियो, ठीक त्यसरी नै एउटा सिंगो पुस्तालाई वैचारिक बन्ध्याकरण गर्ने तमाम कर्मकाण्डको प्रक्रिया पूरा गरेर नै आजको पुस्तालाई राजनीतिक दास मान्कुर्त बनाइएको छ । जसको कारण कुनै युवा अमूक नेताको दास बनेर, उसको हनुमानगिरी गरेर मालिकको निगाहमा कुनै दिन आफ्नो उत्थान हुने विकलाङ्ग सपनाले ग्रसित हुने गर्दछ ।

यहाँ कुनै युवा आफ्नै क्षमता, दक्षता वा विज्ञताले आजको राजनीतिमा नेतृत्व गर्ने सपना देख्न सक्दैन । किमार्थ त्यस्तो सपना देखेको खण्डमा तथाकथित तन्नम नेतृत्वबाट ढिलोचाँडो उ दण्डित हुनु अवश्यम्भावी हुनेछ । कतै त्यस्तो सोच अंकुरण गरिएको देखिएमा मात्रै पनि तिनीहरूको उपचार निसन्देह रूपमा तिनै मान्कुर्तहरूको झुण्डबाट गराइन्छ ।

तथापि, आजको राजनीतिका ती जोआन र मान्कुर्तहरूको तमासा धेरै टिक्न किमार्थ सम्भव छैन । उनीहरू त्यसरी नै इतिहासको गर्तमा विलीन हुनेछन्, जसरी ती कजाखका मध्ययुगीन असली जोआन र मान्कुर्तहरू समाप्त भए । यो ढिलोचाँडोको कुरा मात्रै हो । किनकि, आजको विश्वपूँजीवादले जुन गतिका साथ समाजलाई संक्रमित गरिरहेको छ, त्यसलाई प्रतिरोध नगरी कुनै समाज टिक्न सक्दैन । त्यो समाज टिक्नको लागि पूँजीवादको त्यो गतिसँग एकाकार र परास्त गर्ने राजनीति आवश्यक हुन्छ । अझ पूँजीवादका गति बीजगणितीय स्वरूपमा बढिरहेको छ ।

समाजमा संकटको गति बढ्दै जाने तर तन्नम राजनीतिले समाधानको बाटो पत्ता लगाउन नसक्ने हो भने समाजले त्यस्तो राजनीति वा नेतृत्वलाई पर्खेर चाहिं बसिरहँदैन । समाजको संकटहरू जुन गतिको साथमा बढ्दै गइरहेको छ, तदनुरूपको समाधानको गति निकाल्न सकिएन भने समाज भयावह हुँदै जानेछ । तर त्यो संकटको कारण बुझ्ने सामर्थ्य नभएका, संकटको गति मापन गर्ने क्षमता नभएका अनि समाधानको बाटो देखाउन नसक्ने तन्नम राजनीतिले आफ्नो सान्दर्भिकता गुमाउने नै छ ।

ठीक यही बीच स्वयम् पूँजीवादद्वारा योजनाबद्ध पालितपोषित तयार पारिएको स्वार्थसमूह हिजोको जोआन राजनीतिक वृत्तलाई दुत्कार्दै अगाडि आउनेछ । अनि त्यसले अर्को ताण्डव देखाउने छ तर समाजको दुःख भने जहाँको त्यहीं रहिरहनेछ । यो परिघटनाका निकट साक्षी हुन् मध्यपूर्व क्षेत्र लगायत एशियाली देशमाथिका बर्बरताहरू । त्यस्ता अभ्यासका आंशिक पहलुहरू स्वयम् नेपालमा समेत देखा पर्दैछन् ।

राजनीतिमा ती युवाहरू, जो आफ्नै नेतृत्वद्वारा मान्कुर्त बनाइने नित्यकर्ममा डुबाइएका छन् । के तिनीहरू त्यो नित्यकर्मको दुश्चक्रबाट बाहिर निस्कनको लागि स्पार्टाकस झैं विद्रोह गर्न तयार हुन्छन् ? यो अवश्य हो कि, विद्रोहको लागि स्पार्टाकसहरूलाई सजिलो त कहाँ थियो र ! हरेक क्षण, हरेक गौंडाका जञ्जीरहरू तोड्न र मालिकहरूका उन्नतस्तरको हतियार विरुद्ध लड्न बिल्कुल सजिलो कुरा थिएन । तर पनि स्पार्टाकसहरू ती तमाम चुनौतीका पर्खालसँग सम्झौता गर्न तयार थिएनन् ।

उनीहरू एउटै कुरामा स्पष्ट र मग्न थिए कि, त्यो हो दासताको जञ्जीरबाट मुक्ति । बरु किन तखतामा किला ठोकिएर सडकमा झुण्ड्याइन नपरोस् तर दासतासँग सम्झौताहीन संघर्ष नै स्पार्टाकसहरूको मन, वचन र कर्म थियो । दुःखद कुरा के छ भने, समाजमा–राजनीतिमा युवाहरूभित्र यस्तो विचारको मन, वचन र कर्मको सर्वथा अभावका कारण सिंगो समाज संकटको भुक्तमान बन्न अभिशप्त छ । र, यो पनि साँचो हो कि, हरेक समयले आफ्नो स्पार्टाकसहरू जन्माएरै छोड्छ । मात्र स्पार्टाकसहरू भएर को निस्कन्छन् भन्ने मात्रै हो । किनकि, इतिहासले चिच्याईचिच्याई बताइरहेछ– कसैका अन्तहीन नालायकी भोग्न कुनै समाज किमार्थ तयार छैन/हुँदैन ।

जुनसुकै पार्टी, गुट, उपगुट, सहगुट नै किन नहोस् हरेक ठाउँमा स्पार्टाकसहरू जन्मिनैपर्छ । किनकि, स्पार्टाकसहरूको बहुसंख्या तयार नभएसम्म दासताबाट मुक्ति सम्भव छैन । त्यो कसरी हुन्छ ? यो पनि मुख्य प्रश्न हो । यसको लागि कुनै एक ‘प्रेसक्रिप्शन’ पर्याप्त हुनेछैन । तर, यो त अवश्य हो कि, पूँजीवादी व्यवस्था, त्यसको सञ्जाल टिकाउनको लागि पालितपोषित दलाल जोआन नेतृत्व र त्यसको साँठगाँठमा तयार पारिएको राज्य संरचनालाई उल्ट्याउन विद्रोह गर्ने विचारधारात्मक दृष्टिकोणबाट निर्देशित हरेक समूह, भूगोल, क्षेत्र, जाति, लिंगका वर्गीय वैचारिक स्पार्टाकसहरूको सामूहिक यत्न नै एक मात्र बाटो हो ।

यो सामान्य सुधारबाट सम्भव हुने कुरा हुनै सक्दैन । बरु यो त, आजको व्यवस्थामा व्याप्त प्रवृत्तिका विरुद्ध, हरेक पार्टी र संगठनमा व्याप्त जोआन-मान्कुर्त प्रवृत्ति विरुद्धको संगठित र सचेत पहल–प्रयत्नका कुलयोगको उपज हुनेछ । किनकि, मार्क्स भन्थे– क्रान्ति कुनै गुट, समूह वा पार्टीले मात्रै गर्ने कुरा हैन, बरु यो त सिंगो राष्ट्र र समाजले गर्ने कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment