Comments Add Comment

विकाससँगै सुरक्षाको प्रत्याभूति जरुरी : मुख्यमन्त्री राउत

३० साउन, वीरगञ्ज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणसँगै शान्ति सुरक्षाको प्रत्याभूति हुन जरुरी रहेको बताएका छन् । समग्र प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय पर्सामा सीसीटीभी एलईडी भिडियो वाल तथा नियन्त्रण कक्ष भवनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले भने, ‘विभिन्न कारणले वीरगञ्जका उद्योगी व्यवसायीले असुरक्षित महसुस गर्ने गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ वीरगञ्जका निवर्तमान अध्यक्ष गोपाल केडियालाई गोली हानिएकै हो । संयोगले उहाँ बाँच्नुभयो । जस्तोसुकै महलमा बसे पनि सुरक्षित छैन भने त्यसको औचित्य छैन ।’

नयाँ नयाँ सोच र प्रविधिको प्रयोग गरेर आपराधिक गतिविधि भइरहेको भन्दै उनले त्यसलाई नियन्त्रण गर्न प्रहरी पनि त्यसै अनुसार तयार हुनुपर्ने बताए ।

‘वीरगञ्जमा सीसीटीभी क्यामेरा जडान भएपछि आम नागरिकले सुरक्षित महसुस गरेका छन् । सीसीक्यामेरा कतै छ भने अपराधीलाई आफू समातिन्छु भन्ने डर हुने रहेछ,’ उनले भने, ‘सीसीटीभी जडान मात्रै हैन, के गर्दा प्रदेशको समग्र शान्ति सुरक्षा कायम गर्न सहयोग हुन्छ । त्यो गर्न प्रदेश सरकार तयार छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघले एक वर्ष अघि बनाएको भवनको एउटा कोठालाई सीसीटीभी निगरानी कक्षको रुपमा विकास गरिएको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत मुख्यमन्त्री राउतले ३२ लाख रुपैयाँ सेफर वीरगञ्ज अभियानलाई दिएका थिए । सोही रकमबाट सीसीटीभी क्यामेराको निगरानीका लागि भिडियो वाल तयार गरिएको सेफर वीरगञ्जका संयोजक मनोज दासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment