Comments Add Comment

ठूला आगलागीको घटनाबाट हामीले के सिक्यौं ?

फाइल तस्वीर

नेपाल विश्व मानचित्रमा बहुप्रकोपीय जोखिम भएको देशको रूपमा रहेको छ । यहाँ रहेका विभिन्न किसिमका विपद्मध्ये संख्या र क्षतिको हिसाबले आगलागी पहिलो विपद्को रूपमा रहेको देखिन्छ ।

आगलागी सम्बन्धी गृह मन्त्रालयको तथ्यांक अनुसार सन् १९७१ देखि २०२१ सम्म १२ हजार ६९४ आगलागीका घटना भएका छन् । जसका कारण १ हजार ७५५ जना नागरिकले ज्यान गुमाएका छन् । १ हजार १७६ जना घाइते भएका छन् । आगलागीबाट २ लाख ६५ हजार ९६२ घरपरिवार प्रभावित भएका भएका छन् । आगलागीकै कारणबाट ९० हजार ४४ घरमा क्षति भएको देखिन्छ ।

केही वर्ष पहिलेसम्म काठमाडौंकेन्द्रित ठूला आगलागीका घटनाहरू हालका दिनमा पहाडी र दुर्गम जिल्लामा पनि हुन थालेको छ । गाउँगाउँमा ग्याँसको बढ्दो प्रयोग, पेट्रोल, डिजल र केमिकलजन्य आगलागीका कारण आगो चाँडै फैलिन्छ । सबै पालिकाहरूमा दक्ष जनशक्ति सहितको दमकल सेवाको अभावमा यस्तो आगो नियन्त्रणभन्दा बाहिर गएको देखिन्छ ।

जनचेतना अभावको कारण आगलागीका घटना दिनप्रति दिन बढ्दै गइरहेको तथ्याङ्कले नै देखाउँछ । देशको राजधानी काठमाडौंमा सबैभन्दा बढी आगलागीका घटना घट्ने गर्दछन् । काठमाडौंमा वार्षिक २०० देखि २५० ललितपुरमा १०० देखि १५० र भक्तपुरमा ५० देखि ८० सम्म आगलागीका घटना हुने गरेको देखिन्छ ।

आगलागी मानव सिर्जित विपद् हो । यसलाई नियन्त्रण र क्षति न्यूनीकरण गर्नको लागि सचेतनाको जरूरी पर्छ भन्ने कुरा समेत हामीले आम रूपमा बुझाउन सकिरहेका छैनौं । मानव सिर्जित विपद्को रूपमा रहेको आगलागी मानिसले जानी–नजानी सानो ठूलो कुनै न कुनै रूपमा गल्ती नगरी आगलागीको घटना घट्दैन ।
नेपालमा आगलागी घटनाको मुख्य कारणमध्ये प्रविधिगत आगलागीमा ग्याँस लिक, विद्युत् सर्ट सर्किट, सिलिण्डर पड्कने, स्टोभ, विभिन्न प्रकारका हीटर, पंखा, आइरन तथा अन्य विद्युतीय उपकरण, खाना पकाउने र पानी तताउने विद्युतीय भाँडा र अन्य उपकरणहरू रहेका छन् ।

परम्परागत आगलागीमा सलाई, लाइटरको दुरुपयोग, चुरोटको ठुटो जथाभावी फ्याँक्नु, तराई क्षेत्रमा खाना पकाइसकेपछि चुल्हो ननिभाई राख्नु, वन, जंगल कृषि उपज तथा खरको छाना भएको घरहरूमा लाग्ने आगलागी पर्दछ । अहिले पेट्रोल, डिजल र केमिकलजन्य आगलागीको घटना पनि घट्न थालेका छन् ।

मानवीय अज्ञानता, असावधानी र लापरबाहीको कारण आगलागी हुन्छ । तपाईं हाम्रो सानो असावधानीले आगलागी भई ठूलो मात्रामा जनधनको क्षति हुन्छ । आगो एकपटक मानवीय नियन्त्रणभन्दा बाहिर गयो भने यसले कस्तो रूप लिन्छ र कति क्षति गर्छ अनुमान गर्न सकिंदैन । यसको उदाहरण गत वर्ष अष्ट्रेलियाको साउथ बेल्सको जंगलमा भएको आगलागी हो ।

अमेरिकाको क्यालिफोर्नियाको जंगलमा भएको आगलागी । त्यसैगरी वेष्ट लण्डनको नर्थ केनसिङ्गस्थित २४ तले ग्रीनफेल टावरमा भएको आगलागी जसमा ७२ जनाले ज्यान गुमाएका थिए । नेपालभन्दा विकसित र उत्कृष्ट दमकल सेवा भएको मुलुकले पनि एकपटक नियन्त्रणभन्दा बाहिर गएको आगलागीलाई निभाउनको लागि ठूलै मूल्य चुकाउनु परेको हामीले देखेका छौं ।

नेपालमा पनि हालैको दिनमा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट फ्याक्ट्रीमा भएको आगलागीलाई लिन सकिन्छ । विगत पाँच वर्षदेखि नेपालमा भएको आगलागीको तथ्यांक हेर्दा केमिकलजन्य आगलागीको संख्या वृद्धि भइरहेको छ । धेरैजसो आगलागी नियन्त्रणभन्दा बाहिर गई हाम्रो साधन–स्रोत र जनशक्तिले समयमा नै नियन्त्रणमा लिन नसकेको देखिन्छ । एउटै आगलागी नियन्त्रणमा लिन नौ–दश घण्टा लाग्ने गरेको छ । एउटै घटनास्थलमा दर्जनौं दमकल, बीसौंको संख्यामा पानी ट्यांकर, सयौं फायर फाइटर, हजारौं सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेको हामीले देखे–भोगेको विषय हो ।

नेपालमा भएका ठूला आगलागीका घटना

विगत पाँच वर्षभित्र भएका ठूला आगलागीका घटनामा सन् २०१७ मा भक्तपुरको सल्लाघारीको यती कार्पेट कारखाना, वीरगञ्जको सुपर ग्याँस फ्याक्ट्रीको आगलागी जसमा दुई जना फायर फाइटरको मृत्यु भएको थियो । काठमाडौं बालुवाटारस्थित सुबिसु केवल नेटवर्कमा भएको आगलागी, काठमाडौं दरबारमार्गको भिक्ट्री लाउन्जमा भएको आगलागी र मनकामना कटन फ्याक्ट्री भक्तपुर, ताप्लेजुङ्गको फुङ्गलिङ्ग, ताप्लेजुङ्गकै पाथीभरा जंगलमा लागेको आगलागी जसलाई निभाउन नेपालमै पहिलो पटक हेलिकप्टरबाट पानी हानेर निभाइएको थियो ।

पाँचथरको फिदिम बजारमा भएको आगलागी, तेह्रथुम जिल्लाको म्याङ्गलुङ्गको आगलागी, ललितपुर जिल्लाको ग्वार्कोमा रहेको उज्ज्वल पेट्रोल पम्पमा भएको आगलागी जहाँ ललितपुर दमकलले र्‍यापिड इन्टरभेन्सन गरेको कारण पम्पमा भण्डारण गरिएको डिजल, पेट्रोल र पम्पमा पेट्रोल खन्याउन गएको ट्यांकरमा रहेको पेट्रोलको स्रोतमा आगलागी हुनबाट जोगिएको थियो । अन्यथा आगलागीको अवस्था भयावह हुन सक्थ्यो । बागलुङ्गको अस्मिता कटन फ्याक्ट्री र रोडिकोट गाउँपालिका हुम्लाको आगलागीलाई प्रतिनिधि घटनाको रूपमा लिन सकिन्छ ।

यो पनि पढ्नुहोस ६०० स्थानीय तहमा दमकल छैन, डोजर चाहिं फालाफाल

नेपालमा ठोस, तरल र ग्याँस तीनवटै पदार्थ; केमिकल, जंगल, भवन, उद्योग र सवारी साधनमा ठूल्ठूला आगलागी भइसकेको छ । यसबाट राज्यले अर्बौंको रकम र मानवीय क्षति व्यहोरिसकेको छ । यी आगलागीबाट आम नागरिकले पनि अप्रत्यक्ष रूपमा पीडा भोग्नु परेको छ । यत्रो मात्रामा यति ठूल्ठूला आगलागीका घटना भोगिसकेको हामीले यसबाट के पाठ सिक्यौं ? के शिक्षा लियौं ? यस्ता आगलागीको पुनरावृत्ति हुन नदिन हामीले के पूर्वतयारी गर्‍यौं ? यसबाट शिक्षा लिएर हामीले दमकलको क्षमता बढायौं कि !

फायर फाइटर क्षमता अभिवृद्धिको लागि तालिम दियौं कि ! यस्ता आगलागी नियन्त्रणको लागि आवश्यक साधनस्रोत, औजार उपकरणको जोहो गर्‍यौं कि ! आगलागीको प्रतिकार्य योजना बनायौं कि ! आगलागीको सामाजिक सचेतना फैलाउने कार्यक्रममा लगानी बढायौं कि ! ठूला आगलागी नियन्त्रण गर्ने क्लष्टर एजेन्सीबीचको सम्बन्धको समीक्षा गर्‍यौं कि ! यिनीहरूबीचको समन्वय र सहकार्यको लगि निर्देशिका बनायौं कि ! अहिले बढ्दै गएको केमिकलजन्य (खतराजन्य पदार्थ) आगलागी नियन्त्रणको लागि साधनस्रोत र जनशक्तिको विकास गर्‍यौं कि ! यसको जवाफ हामीसँग छैन । सीमित ज्ञान र साधनस्रोतले यस्ता ठूला आगलागी नियन्त्रण गर्न सकिंदैन । यसको लागि सरोकारवाला निकाय गम्भीर हुन जरूरी छ ।

 हाम्रो विपद् पूर्वतयारी कमजोर छ । विपद् विज्ञलाई पाखा लगाएर अनभिज्ञले हालीमुहाली गर्ने चलनले गर्दा यसको उचित रूपमा व्यवस्थापन हुनसकेको छैन । यसमा हाम्रो कमी–कमजोरी र ग्याप कहाँ छ, समयमा नै पहिचान गरौं ।

आगलागीजन्य विपद् व्यवस्थापनको लागि अरू ठूला संरचना आधुनिक औजार उपकरणको कुरा परै छाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अनुसार सबै स्थानीय तहले दमकल सञ्चालन गर्नुपर्ने कानूनी व्यवस्था ऐनमा नै सीमित छ । ७५३ स्थानीय तहमध्ये १०० को हाराहारीका स्थानीय तहमा मात्र दमकल रहेको छ । तीमध्ये कुनै पालिकामा दमकलमा समस्या छ । कुनै पालिकामा दमकल सञ्चालन गर्ने जनशक्ति र बजेटको समस्या रहेको छ । बढ्दो शहरीकरण र औद्योगीकरणसँगै नेपालमा हुने आगलागी प्रविधिगत र केमिकलजन्य आगलागीको संख्या बढी देखिन्छ । केमिकलजन्य आगो पानीले निभ्दैन ।

यस्तो आगलागीमा पानीको प्रयोग गर्दा आगो झन् उग्र रूपमा फैलिन्छ । यस्तो आगोमा सीधै पानीको प्रयोग गर्नुहुँदैन । केमिकल र फोमको प्रयोग गर्नुपर्दछ । नेपालमा भएका ठूला औद्योगिक आगलागीलाई समयमा नियन्त्रण गर्न नसक्नुको प्रमुख कारण भनेको खतराजन्य पदार्थ केमिकल आगलागी नियन्त्रण सम्बन्धी तालिम प्राप्त जनशक्ति नहुनु हो । दमकल स्टेशनमा पर्याप्त मात्रामा फोमको व्यवस्था नहुनु । भएका फोम पनि गुणस्तरीय छैनन् । फोमको प्रभावकारिताको नियमित जाँचको अभाव छ । लामो समय भण्डारण गरी उपयोग अवधिको म्याद सकिनु पनि हो ।

दमकल स्टेशनमा भएका फोमको आगलागीमा सही प्रयोगको लागि उपयुक्त दमकल छैनन् । हाई प्रेसरमा टाढासम्म फोम फ्याँक्न सक्ने फोम मेकिङ्ग नोजल नहुनु हो । विपद्को सन्दर्भमा हाम्रो सर्ट मेमोरी छ । हामी विपद्को घटनालाई चाँडै भुल्ने गर्छौं । कुनै विपद्को घटना घटेपछि हामी सबैको ध्यान र चासो त्यसैमा हुन्छ । केही समयपछि विस्तारै हामी यस्ता घटनालाई भुल्ने गर्छौं । यी घटनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानी अपनाउँदैनौं र पूर्व तयारी पनि गर्दैनौं । त्यसैकारण हामीले विपद्बाट दुःख पाइरहेका छौं ।

लेखक आगलागी नियन्त्रण तथा विपद् व्यवस्था तालिम लिन जापान जाँदा जापानीज प्रशिक्षकबाट सिकेको महत्वपूर्ण ज्ञान प्रत्येक विपद्को घटनाबाट पाठ सिक्नुपर्दछ भन्ने हो । जापानले त्यहाँ घटेका प्रत्येक विपद्को घटना अनुसन्धान गरी यसबाट केही न पाठ सिक्ने गर्दछ । जापानीज प्रशिक्षकका अनुसार विपद् आफैंमा पीडादायी र जनधनको क्षति गर्ने खालको हुन्छ । कुनै पनि विपद्को घटना नघटोस् । हामीले उद्धार गर्ने परिस्थिति नआओस् । तर हामी उद्धारकर्मी तालिम, ज्ञान र सीपले चुस्त दुरुस्त अवस्थामा रहनुपर्दछ ।

यसले विपद्को घटना भइहालेमा पीडितको चाँडो उद्धार गर्न सकिन्छ । जापानले विपद् घटनाको प्रकृति, प्रकार तथा यसबाट भएको क्षतिको विवरण संकलन, अनुसन्धान गरेर घटना कसरी घट्यो । भविष्यमा यस्तो प्रकारको घटना घट्न नदिन के कस्तो सावधानी अपनाउनुपर्छ । यस्ता विपद्बाट कसरी बच्न सकिन्छ ।
कसरी क्षति न्यूनीकरण गर्ने भन्ने सम्बन्धमा विस्तृत अध्ययन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन र भावी पुस्तालाई घटनाबाट बचाउनको लागि यस्ता घटनालाई विपद् लर्निङ्ग सेन्टरमा डेमो वा भिडियो बनाएर युवा पुस्तालाई देखाउने, पढाउने एवं बुझाउने गरिन्छ । नेपालमा घट्ने विपद्को सिजन नै हुन्छ ।

अधिकांश विपत् आउने समय लगभग हामीलाई थाहा नै छ । समयमा भरपर्दो पूर्व तयारी र सचेतना अभिवृद्धि गर्न नसक्दा हामीले दुःख भोग्नु परिरहेको छ । अघिल्लो वर्षको विपद्बाट हामीले जे जस्तो क्षति र दुःख व्यहोर्‍यौं, पछिल्लो वर्ष पनि सोही विपद्बाट अघिल्लो वर्षकै नियति हामीले व्यहोरिरहेका छौं । हाम्रो विपद् पूर्वतयारी कमजोर छ ।

विपद् व्यवस्थापनमा विपद् विज्ञलाई पाखा लगाएर अनभिज्ञले हालीमुहाली गर्ने चलनले गर्दा विपद्को उचित रूपमा व्यवस्थापन हुनसकेको छैन । यसमा हाम्रो कमी–कमजोरी र ग्याप कहाँ छ, समयमा नै पहिचान गरौं । विपद्बाट सुरक्षित रहन पाउनु नागरिकको अधिकार हो । जनधनकोे सुरक्षा गर्ने राज्यको जिम्मेवारी हो । सुदृढ विपद् व्यवस्थापन आजको आवश्यकता हो । सचेत रहौं, प्रत्येक जीवनको महत्व छ ।

(लेखक काठमाडौं दमकलका पूर्व प्रमुख हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment