+
+

सदर चिडियाखानाको आम्दानी घट्दा जनावरलाई खाना पुर्‍याउन धौ-धौ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १४:१६

१६ भदौ, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द रहेको चिडियाखाना गत साउन १ गतेदेखि सञ्चालनमा आएको छ । तर महामारीका कारण मानिसहरु घुम्न ननिस्किँदा चिडियाखानाको आम्दानी घट्दा जनावरहरुलाई खाना व्यवस्थापन गर्न धौ–धौ परेको छ ।

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो स्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले बताइन् ।

उनले २०१५ को शक्तिशाली भूकम्पपछि चिडियाखानामा भौतिक संरचनालाई ध्यान दिइएपनि कोरोनाका कारण आम्दानी बन्द भएपछि अहिले भौतिक संरचनाको काम शून्य बराबर रहेको बताइन् । उनले पहिलो लकडाउनमा कर्मचारीको आधा पारिश्रमिक काटेर पनि जनावरहरुलाई खानेकुराको जोहो गर्न सहयोग गरेको बताइन् ।

सदर चिडियाखानाकी सूचना अधिकारी लुना चालिसे

‘हाम्रो आम्दानी आधा जस्तै घटेको छ । पहिलो लहरमा १० महिना बन्द ग¥यौं । दोस्रो लहरमा साढे दुई महिना बन्द ग¥यौं । आर्थिक स्थिति खासै राम्रो छैन, तर यसलाई मितव्ययी तरीकाले चलाउन प्रयास गरिरहेका छौं । हामीले २०१५ को भूकम्पपछि हामीले भौतिक पूर्वाधारमा धेरै जोड दिएका छौं,’ उनले भनिन्, ‘पर्खाल, संरचना, यसमा भूकम्प अर्को गयो भने पनि केही नोक्सान नहुने, ज्यानलाई खतरा नहोस्, किनभने यो एकदम संवेदनशील ठाउँ छ । हिंस्रक जनावरहरु छन् । त्यसमाथि पनि दर्शकहरुको भीड हुने गर्छ । हामीले गत सालको लकडाउनमा त कर्मचारीहरुको आधा तलब काटेर विना सुविधा काम गरेका हौं, त्यसले कतिपय डेलिभरीका साथीहरुलाई गुमायौं, पहिला ७५ जना कर्मचारी रहेकोमा अहिले ५६ जना मात्रै कर्मचारीले काम गरिरहेका छौं ।’

उनले साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरे पनि चिडियाखानाभित्र पूर्ण रुपमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्यका मापदण्ड पालना गराइएको बताइन् ।

मानिसदेखि जनावर र जनावरबाट मानिसमा सर्ने रोगलाई रोक्न अन्तर्राष्ट्रिय स्तरका चिडियाघरहरुमा पालना गरिएका र लागू गरिएका नियमहरु पालना गरेर मात्रै चिडियाघरमा सर्वसाधारणलाई प्रवेश गराइएको उनले जानकारी दिइन् । सूचना अधिकृत चालिसेका अनुसार चिडियाघरको टिकट काउन्टरमा हुने भीड कम गर्न अनलाइनबाट टिकट काट्ने व्यवस्था मिलाएको र भित्र प्रवेश गराउँदा पनि चिडियाघरबाट बाहिरिनेको अनुपातमै प्रवेश गराउने गरेकोले भीड नियन्त्रण भएको छ ।

यस्तै अवलोकन गर्न पुगेकाहरुबाट जनावरहरुलाई कुनै रोग नसरोस् भन्ने हेतुले चिडियाघरलाई चार भागमा बाँडेर हरेक भागमा ५/५ जना कर्मचारी खटाइएको र अवलोकनकर्ताले सामाजिक दूरी कायम गरेको छ/छैन, जनावरलाई खानेकुरा दिएको/नदिएको लगायतका कुराहरुमा ध्यान दिने गरेको सूचना अधिकृत चालिसेले बताइन् ।

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता नगरेको उनले बताइन् । जनावरहरुलाई अहिले पनि अन्तर्राष्ट्रिय स्तरकै खाद्यान्न दिइरहेको उनको भनाइ छ । सामान्य अवस्थामा चिडियाखानाको वार्षिक आम्दानी १४ करोड रुपैयाँसम्म हुने गरेको भन्दै उनले त्यसमा जनावरलाई खुवाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताइन् । तर अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उनले जानकारी दिइन् ।

अहिले सदर चिडियाखानामा ३६ जना सदस्यहरुले कुनै एक जनावरको अभिभावकत्व लिएर सहयोग गरिरहेको र यसरी सहयोग गरे चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको अभाव नहुने सूचना अधिकारी चालिसेले बताइन् ।

चिडियाखाना स्तनधारी ३६ प्रजातिका २९९, सरिसृप १० प्रजातिका ४८, मत्स्य १५ प्रजातिका ४१, पंक्षी ५२ प्रजातिका ६०९ वटा गरी ११३ प्रजातिका ९९७ वटा वन्यजन्तु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?