+
+

राष्ट्रसंघ महासभामा नेपालको सहभागिता अन्योल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १२:४१

१७ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७६ औं महासभा यही सेप्टेम्बर १४ (भदौ २९ गते) बाट शुरु हुँदैछ । तर, अहिलेसम्म महासभामा नेपालबाट कुन तहको सहभागिता हुने भन्ने निश्चित भइसकेको छैन । कारण हो-परराष्ट्र मन्त्रालय नेतृत्वविहीन हुनु ।

परराष्ट्र मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हामी परराष्ट्रमन्त्री कुरिरहेका छौं, मन्त्रीको नियुक्तिपछि निर्णय गर्न सहज होला ।’

महासभामा सहभागी हुन सबैभन्दा पहिला परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जाने र त्यसपछि प्रधानमन्त्री गई सम्बोधन गर्ने प्रचलन छ ।

गत वर्ष ७५ औं महासभामा कोरोना महामारीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्माले ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । ओलीको सम्बोधनलाई पहिला नै रेकर्ड गरेर न्यूयोर्क पठाइएको थियो । यसपटक पनि प्रधानमन्त्री महासभामा न्यूयोर्क नजाने भएका छन् । बालुवाटार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्री न्यूयोर्क जानुहुन्न, भर्चुअल माध्यमले नै सम्बोधन गर्नुहुन्छ तर अन्तिम टुंगो लागेको छैन ।’

हरेक वर्ष महासभाको साइडलाइनमा सार्कको अध्यक्ष मुलुकले अन्य मुलुकहरुसँग बैठक गर्ने परम्परा समेत छ । सन् २०१४ देखि नेपाल निरन्तर सार्कको अध्यक्ष मुलुक भएकाले नेपालले सार्कका सदस्य मुलुकहरुबीचको संयुक्त बैठकको पहल लिंदै आएको छ । सो बैठकमा सार्कको विषयमा कुराकानी हुने गर्दछ । तर, यसपटक अहिलेसम्म परराष्ट्रमन्त्री नै नियुक्त नभएका कारण सो बैठकको पनि टुंगो लागेको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यस पटक कुन तहको प्रतिनिधिमण्डल जाने भन्ने विषयमा छलफल भइरहेको छ । स्रोतले अगाडि भन्यो, ‘परराष्ट्रमन्त्री नियुक्त भएमा कम्तीमा पनि भर्चुअल माध्यमबाट भए पनि सार्कका परराष्ट्रमन्त्रीहरुको बैठक आयोजना गर्न सकिन्छ तर मन्त्री नहुँदा यो पनि अन्योल भयो ।’

यस अगाडि अमेरिकाले विश्वका नेताहरुलाई सकेसम्म भर्चुअल माध्यमले नै महासभामा भाग लिन अनुरोध गरेको थियो । राष्ट्रसंघका आवद्ध १९३ मुलुकलाई पत्र पठाउँदै राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-गि्रनफिल्डले महासभामा आउने प्रतिनिधिहरु सुरक्षाको विषय आफूहरुको महत्वपूर्ण जिम्मेवारी रहेको बताएकी छन् । उनले सो जमघटबाट कोरोना फैलिना सम्भावना रहेकाले मुलुकहरुले भिडियो मार्फत सम्बोधन गर्न उचित रहेको उल्लेख गरेकी छन् ।

यस पटकको महासभामा १६७ मुलुकका राज्य र सरकार प्रमुखले सम्बोधन गर्ने तय भएको छ । महासभामा यसपटक अमेरिकी राष्ट्रपति जो बाइडनले भौतिक रुपमा नै सम्बोधन गर्नेछन् । राष्ट्रपति भइसकेपछि राष्ट्रसंघमा उनको यो पहिलो सम्बोधन हुनेछ ।त्यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि भौतिक रुपमा नै सम्बोधन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?