+
+

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १७:३२

१७ भदौ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् ।

कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् ।

उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन ।

कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको अनलाइनखबरसँग बताए ।

‘कोभिडको महामारी कायमै छ । कोरोना कारण महाधिवेशन केहि समय पर सारौं, कोभिडको जोखिम कम भएपछि महाधिवेशन गर्दा सकारात्मक सन्देश जाला भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘कांग्रेसको महाधिवेशनले कोरोनाको अर्काे जोखिम नहोस् भन्ने हो । नागरिकको जीवन सर्वाेपरी हो । नागरिकको जीवन रक्षका लागि मैले यो गरेको हुँ ।’

उनले सबै नागरिकले खोप लगाइसकेपछि मात्रै कांग्रेस महाधिवेशन हुनुपर्ने आफ्नो माग रहेको बताए । ‘कांग्रेसको वफादार कार्यकर्ता हुनुको नाताले महाधिवेशन हुनुहुँदैन भन्ने मेरो चाहना होइन तर कोरोनाको खोप सबै नागरिकले लगाइसकेपछि महाधिवेशन गरौं भन्ने मेरो माग हो,’ उनले भने ।

कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?