+
+

कोरोना महामारीले यस वर्ष पनि रोकियो ऐतिहासिक रामलीला मञ्चन

रासस रासस
२०७८ भदौ २० गते १२:४८
फाइल तस्वीर

२० भदौ, राँझा । नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस सङ्क्रमणका कारण स्थगन गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए ।

कोरोना संक्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको रामलीला मञ्चन नगर्ने निर्णय गरिएको उनले बताए ।

नेपालगञ्जको रामलीला मञ्चन यस वर्ष १५४औं वर्षमा प्रवेश गर्दैछ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतीकात्मक रूपमा भने केही कार्यक्रम गरिने तयारी गरिएको छ । शनिबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के–कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्नेबारे निक्र्योल गर्न उपसमिति समेत गठन गरेको गरेकोे छ ।

रामलीला सञ्चालन गर्न नसकिए पनि मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शन लगायतका कार्यक्रम गर्नेबारेमा छलफल गरिएको अध्यक्ष कनौडियाले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्य रूपमा मनाउने गरिन्थ्यो ।

रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको कनौडियाको भनाइ छ । रामायणमा आधारित लीला प्रत्येक दिन बेलुका ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलीला मञ्चन गर्ने परम्परा छ ।

यस वर्ष कोरोना महामारीका कारण रामलीला मञ्चन नहुने भए पनि पुर्खाले जोगाउँदै आएको रामलीलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले बताए ।

सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौं श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?