अहिलेका पुस्ता डिजटल युगमा प्रवेश गरिसकेका छन् । हत्केलाभरको उपकरणमा संसार विचरण गरिरहेका यी पुस्ता स्मार्टफोन र इन्टरनेटमा चुर्लुम्म डुबेका छन् ।
कुनै कौतुहलता मेट्न होस् वा हल्का मनोरञ्जन लिन, उनीहरुको लागि स्मार्टफोन नै काफी छ । त्यही उपकरणमा उनीहरु यसरी एकोहोरिएका छन्, मानौं त्योभन्दा बाहिर कुनै संसार छैन । यस किसिमको प्रवृत्तिले उनीहरुको पठन संस्कृतिलाई कसरी प्रभावित बनाएको छ ?
यही प्रश्न लिएर हामीले केही प्रतिनिधि किशोरककाँ पुग्यौं ।
काठमाडौं सोल्टीमोडकी प्राज्ञी श्रेष्ठ १२ कक्षाको परीक्षाको तयारीमा छिन् । उनी नेपाली साहित्यसँग खास्सै परिचित छैनन् । काठमाडौंको एक नीजि विद्यालयमा अध्ययन गरिरहेकी प्राज्ञीले विदेशी साहित्यसँग परिचित हुन विद्यालयको पुस्तकालयले भूमिका खेल्यो । अंग्रेजी माध्याममा पढेकी प्रज्ञाले थ्रिलर, मर्डर मिस्ट्री, सस्पेन्स जनराका किताब पढ्ने गरेकी छिन् ।
पाउलो कोहेलो, अगाथा क्रिस्टी, स्टिफन किङ लगायत लेखकहरुका किताब विशेषगरी पढ्न रुचाउँछिन् । उनलाई रुची लाग्ने जनराका किताब नेपालीमा सायद भए÷नभएको थाह छैन । उनी भन्छिन् ‘सानैदेखि अंग्रेजीमा माध्याममा पढें । नेपालीमा पढ्नै गाह्रो हुन्छ । त्यसैले नेपालीमा लेखिएका किताब मेरो रुची अनुसारको पाईन्छ होला तर अहिलेसम्म पढेकी छैन ।’ नेपाली माध्याममा लेखिएका पुस्तक पढ्न गाह्रो हुने भएकोले नेपालीमा लेखिएका किताबहरु नपढेको बताउँछिन् ।
प्राज्ञीले नेपाली लेखकले लेखेको एउटा पुस्तक पढेकी छिन् ‘पल्पसा क्याफे’ । त्यो पनि अंग्रेजीमा अनुवाद भएपछि । भन्छिन् ‘त्यो किताबको चर्चा निक्कै सुनेकीले अंग्रेजीमा अनुवाद भएपछि पढेकी थिएँ । तर त्यत्ति मजा आएन । साथीले भने अनुसार नेपालीमा राम्रो थियो रे ।’ नेपाली लेखकले अहिलेको किशोर पुस्ताको रुची अनुसार लेखिए पनि उनीहरुसम्म पुग्ने खालको प्रचार नहुने प्राज्ञीको बुझाई छ ।
मारीया गौत्तम विद्यालयको पुस्तकालय अथवा साथीहरुको सिफारिस र अनलाईन माध्याममा हुने चर्चाको आधारमा पुस्तक छनौट गर्ने गरेकी छिन् । कक्षा १२ को परीक्षाको तयारीमा रहेकी मारीयालाई यहि लेखकले लेखेको पढ्छु भन्ने छैन । फिलोसोफिकल, थ्रिलर, सोसियल इस्युजसँग सम्बन्धित पुस्तक पढ्न रुची लाग्छ । कतिपय अनलाईनमा पाईने कथाहरु प्नि पढ्ने गरेकी छिन् । काठमाडौंको एक नीजि विद्यालयमा अध्ययनरत मारीयाको पनि प्राज्ञीको जस्तै समस्या छ नेपालीमा पढ्न गाह्रो हुने ।
उनी भन्छिन् ‘नेपालीमा लेखिएका किताबहरु पनि राम्रो छ भनेको सुनेकी छु । तर पढ्न गाह्रो हुने भएकोले पढेकी छैन ।’ मारीयाले नाईजेरियन लेखक चिममंडाको उपन्यास तथा छोटो कथाहरु धेरै पढेकी छिन् । भन्छिन् ‘अरुहरुको पनि पढ्छु तर अलि बढी चिममंडाको पढेकी छु ।’ मारीयालाई नेपाली लेखकहरुको किताब पनि अंग्रेजीमा अनुवाद हुने हो भने उनी जस्ता किशोर किशोरीलाई सहज हुने बुझाई छ ।
काठमाडौं ताहाचलकी सर्भानी मानन्धर केही वर्ष भयो पाठ्यक्रम भन्दा बाहेकको किताब पढ्न नपाएको । आईबी पढेकी सर्भानी अर्को वर्ष विदेश पढ्न जाने तयारीमा छिन् । अहिले इन्टर्नसीपको अवसर खोजीरहेकी सर्भानी ह्यारी पोटरको सबै मनपर्छ । त्यो भन्दा बाहेक रोमान्स जनराका किताब पढ्न मन लाग्ने बताउँछिन् । भन्छिन् ‘अहिले त कलेजको वर्क लोडले पढ्न पाएको छैन । ह्यारी पोटरको सबै मनपर्छ । अरु रोमान्स जनराको मनपर्छ ।’ नेपाली साहित्यबारे विद्यालयमा पढाई हुने पाठ्यक्रमको बाहेक पढेकी छैनन् । भन्छिन् ‘नेपालीमा पढेर फिल गर्न गाह्रो हुन्छ । पढेको विषयसँग फिलिङ्स भएन भने मजा आउँदैन नि । त्यहि भएर ।’
डढेलधुराका सुगम भट्ट अहिले कीतिपुरमा बस्छन् । कक्षा ११ मा पढ्ने सुगमको रुची नेपाली साहित्यमा बढी देखिन्छ । नेपाली उपन्यास, कथाहरु खोजी खोजी पढ्ने गरेको सुनाउँछन् । भन्छन् ‘साहित्यमा रुची भएका दाईहरुसँग संगत छ । त्यसैले उहाँहरुले पढ्न सुझाउनु भएको किताबहरु पढ्ने गरेको छु ।’ आठ कक्षादेखि सामुदायीक विद्यालयमा पढ्न थालेका सुगमले अधिकांश नेपालीमा लेखिएका पुस्तकहरु पढ्ने गरेका छन् । उपन्यास बढी र कथा पढ्छन् उनी ।
अंग्रेजीमा लेखिएका नेपाली लेखक कै पुस्तक पनि उनको राजाईमा पर्छन । बुद्घि सागर, नारायण वाग्ले र सम्राट उपाध्ययको किताब पढ्न मनपर्छ । अंग्रेजी लेखकहरुको पुस्तक बजारमा आउँदा हुने प्रचारप्रसार शैली रोचक हुने हुँदा अहिलेको किशोरहरु अधिकांशले विदेशी लेखकका किताब पढ्ने उनी बताउँछन् । भन्छन् ‘नेपाली लेखकहरुको पनि एकदम राम्रो उपन्यास, कथा, कविताहरु छन् । तर प्रचार प्रसार शैली विदेशी लेखकहरुको जस्तो नहुँदा नेपाली किशोर पुस्ताको नजरमा पर्न नसकेको हो जस्तो लाग्छ ।’ नेपाली किशोरहरुको रुची अनुसार नेपाली लेखक तथा प्रकाशकहरुले पनि प्रचार प्रसारको शैली अपनाउनुपर्ने सुगमको भनाई छ ।
प्रतिक्रिया 4