+
+
एक्सप्लेनर :

कसरी देखियो दुई करोड नेपालीमा कोभिड एन्टीबडी ? यी हुन् जान्नैपर्ने विषय

प्रेम लामा प्रेम लामा
२०७८ भदौ २० गते २०:०८

२० भदौ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सेरो प्रिभ्यालेन्स सर्वेक्षणलाई उद्धृत गर्दै हालै समाचार आयो, दुई तिहाइ नेपाली अर्थात २ करोडभन्दा बढीमा कोरोना एन्टीबडी देखियो ।

जबकी मन्त्रालयले १३ हजार १६१ व्यक्तिको नमुना संकलन परीक्षण गरेको बताएको छ र ६८.६ मानिसमा कोभिड-१९ एन्टीबडी देखिएको बताएको छ । के हो सेरो प्रिभ्यालेन्स सर्वेक्षण ? के हो एन्टीबडी ? कसरी देखियो २ करोड बढी जनसंख्यामा एन्टीबडी ? आदि प्रश्नबारे  तयार पारिएको अनलाइनखबर एक्सप्लेनर :

के हो सेरो प्रिभ्यालेन्स सर्वेक्षण ?

देशको विभिन्न भौगोलिक क्षेत्र, समुदायस्तर तथा विभिन्न उमेर समूहमा कोभिड–१९ संक्रमणको अवस्था के–कस्तो छ भनेर निर्क्यौल गर्न एन्टीबडी टेष्टको आधारमा वैज्ञानिक तवरले गरिने अध्ययन नै सेरो प्रिभ्यालेन्स सर्वेक्षण हो ।

‘कोरोना संक्रमण भएपछि मानिसको शरीरले त्योविरुद्ध एन्टीबडी बनाउँछ । एन्टीबडीकै आधारमा समुदायस्तरमा संक्रमण कत्तिको फैलिएको छ भनेर थाहा पाउन यो सर्वेक्षण गरिन्छ’ संक्रमक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भने ।

उनले अघि भने, ‘हाम्रो समुदायमा थाहै नपाई कोरोना संक्रमण भएका धेरै मानिसहरु आफैं सञ्चो पनि भएका छन् । उनीहरुमा संक्रमण भए/नभएको हामीलाई थाहा छैन । त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था यो सर्वेक्षणबाट थाहा हुन्छ ।’

कसरी गरियो सर्वेक्षण ?

२१ असारदेखि ३० साउनसम्म ६ महिनाभन्दा बढी उमेरका १३ हजार १६१ व्यक्तिको नमुना संकलन गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सर्भेका क्रममा देशभरका नागरिकलाई प्रतिनिधित्व हुने गरी २५० घर बराबर १० घर छनोट गरिएको थियो ।

छनोट भएको घरमा चिठ्ठा प्रणालीअनुसार जो-जो पर्छ, उसकै रगतको नमुना संकलन गरियो । त्यसका लागि प्रयोगशालाकर्मी एवं स्वाथ्यकर्मी घरघरमा पुगेका थिए । संकलन गरिएको रगतबाट स्थानीय तहकै स्वास्थ्य संस्थामा सेरम छुट्याइयो ।

‘सेरम भनेको रगतमा भएको पहेँलो तत्व हो । त्यो छुट्याएर एन्टीबडी परीक्षण गरिन्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुकी प्रमुख डा. रुना झाले भनिन्, ‘सेरमलाई चिसो ठाउँमा राखेर सुरक्षित रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइयो ।’ उनका अनुसार संकलित नमुनामा एन्टीबडी टेष्ट गर्नुअघि गुणस्तर र बार कोडिङ ठिक छ छैन ? आदि हेरिएको थियो ।

परीक्षणका लागि योग्य नमुनाहरुलाई माइनस ८० डिग्रीसम्म चिसोमा राखेपछि एलाइजर विधिबाट परीक्षण गरिएको थियो, जसले ६८.६ मा कोभिड–१९ एन्टीबडी देखायो ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का अनुसन्धान प्रमुख मेघनाथ धिमाल भन्छन्, ‘१०० जनामा ६८ जना मान्छेहरुमा कोभिडविरुद्धको एन्टीबडी बनेको रहेछ भनेर बुझ्नुपर्छ । अर्थात कुल जनसंख्या ३ करोडमध्ये २ करोडभन्दा बढीमा कोभिड–१९ एन्टीबडी बनेको देखिन्छ ।

के हो कोरोना एन्टीबडी ?

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरोना प्रतिरोधी क्षमता विकास भई कोरोना भाइरसलाई निष्क्रिय पार्न मद्धत पुर्‍याउने प्रतिरोधी क्षमता नै एन्टीबडी हो । कोरोना संक्रमण भएका व्यक्तिमा यसको विकास भएको हुन्छ । साथै कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिमा पनि एन्टीबडी विकास हुन्छ ।

नेपाली समुदायमा कति प्रतिशत मानिसमा कोभिड एन्टीबडी विकास भयो भनेर हेर्न सेरो प्रिभ्यालेन्स सर्वेक्षण गरिएको डा. झाले बताइन् ।

‘जब हाम्रो शरीर कोरोना भाइरसको सम्पर्कमा आउँछ, त्यतिबेला शरीमा एन्टीबडी उत्पादन हुन्छ । यसले एक लेभलमा रोगसँग लड्ने प्रतिरक्षा गर्दछ । कोरोनाविरुद्धको खोप लगाउँदा पनि पनि त्यस्तै खालको एन्टीबडी हाम्रो शरीर विकास हुन्छ’ डा. झाले भनिन् ।

एन्टीबडी विकास भएको कसरी थाहा पाउने ?

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गएर एन्टीबडी परीक्षण गर्न सकिन्छ । संक्रमण भएको आफूलाई थाहा नभएपनि विगतमा संक्रमण भएको या शरीरमा कति मात्रामा कोरोना प्रतिरोधक क्षमता एन्टीबडी विकास भएको छ भन्ने कुरा यो परीक्षणबाट थाहा पाउन सकिन्छ । परीक्षण गर्ने व्यक्तिको शरीरबाट रगतको नमुना संकलन गरिन्छ र सेरम (पहेँलो तत्व) छुट्याएर एन्टीबडी परीक्षण गरिन्छ ।

कसरी देखियो २ करोडमा एन्टीबडी ?

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार शनिबार (१९ भदौ) सम्म पीसीआर र एन्टिजेन गरी ८ लाख ५३ हजार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कम्तिमा एक जोड खोप लगाउने नागरिकको संख्या ५५ लाख ११ हजार ९२९ पुगेको छ । सेरो प्रिभ्यालेन्स सर्भेका लागि नमुना संकलन गरिएको अन्तिम दिन ३० साउनसम्म खोप लगाउनेको संख्या ४७ लाख बढी मात्र थियो ।
यो तथ्यांक हेर्दा स्वाभाविक प्रश्न उठ्छ कि २ करोड बढीमा कसरी कोभिड–१९ एन्टीबडी देखिन सक्छ । संक्रामक रोग विशेषज्ञ डा. पुन कोरोना संक्रमण भएको, तर परीक्षण नगरेकाले सरकरी रेकर्डमा नआएकाहरुको संख्या ठूलो छ ।

किनकी धेरैलाई संक्रमण हुँदा पनि लक्षण देखिँदैन । उनीहरुको परीक्षण हुन सकेन । परिवारमा एक जनालाई संक्रमण पुष्टि भयो भने सबैलाई कोरोना नै रहेछ भने परीक्षण नगर्नेहरुको संख्या पनि उत्तिकै छ । ग्रामिण भेगमा परीक्षणको उपलब्धता छैन ।

डा. पुनका अनुसार ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखिएका मानिसहरु मात्रै बाध्य भएर कोरोना परीक्षण गर्न आउने गरेका छन् । त्यस्ता व्यक्तिहरुमा उल्लेख्य मात्रामा संक्रमण पुष्टि भएका छन् । संक्रमण भएका तर परीक्षण नगरेका व्यक्तिहरुको आंकडा तथ्यांकमा उल्लेख हुने कुरै भएन । समुदायमा संक्रमण फेलिएको, परीक्षण पर्याप्त नभएका कारण पनि एन्टीबडी भएका मानिसको संख्या धेरै देखिएको हुनसक्ने डा. पुन बताउँछन् ।

कति समय कायम रहन्छ एन्टीबडी ?

संक्रामक रोग विषेशज्ञ डा. पुनका अनुसार यति नै समयसम्म एन्टीबडी रहन्छ भन्ने ठोस प्रमाण छैन ।

तर संक्रमणपछि मानिसको शरीरमा विकास भएको एन्टीबडीले ६–८ महिनासम्म कायम रहने अध्ययनहरुले देखाएको छ । उनका अनुसार मानिसको शरीरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता कस्तो छ भन्ने कुरामा पनि भर पर्छ ।

साथै शरीरमा एन्टीबडीको विकास भएको छ भन्दैमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नमा लापरबाही गर्न नहुने जनस्वास्थ्य विदहरु बताउँछन् ।

एन्टीबडी देखिएकाले खोप लगाउनु आवश्यक छ ?

संक्रमणको कारण एन्टीबडीको विकास भएकाहरुले खोप लगाउनु आवश्यक हुने डा. पुन बताउँछन् ।

एन्टीबडी कति समयसम्म रहन्छ भन्ने यकिन छैन । वैज्ञानिकहरुले ६–८ महिनासम्म एन्टीबडी रहने बताउँदै आइरहेका छन् । कतिपय मुलुकहरुले पूर्ण खोप लगाएका व्यक्तिहरुमा विकास भएको एन्टीबडीलाई बुस्ट अप गर्न खोपको बुस्टर डोज लगाउन थालेका उनी बताउँछन् ।

नेपालमा अब संक्रमणको जोखिम छैन ?

सेरो प्रिभ्यालेन्स सर्भेको नजितालाई मान्ने हो भने दुई करोडभन्दा बढी मानिसमा कोभिड एन्टीबडी बनिसक्यो । त्यसो भए हर्ड इम्युनिटी अर्थात सामुदायिक प्रतिरोध क्षमता विकास भएको हो ? अब संक्रमणको जोखिम छैन ? भन्ने प्रश्न पनि छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार ६० देखि ७० प्रतिशत मानिसमा एन्टीबडी विकास भएमा हर्ड इम्युनिटी विकास भएको मानिन्छ । हर्ड इम्युनिस्टी दुई तरिकाबाट प्राप्त हुन्छ ।

पहिलो : कुल जनसंख्याको ठूलो हिस्सालाई खोप दिएर

दोस्रो : कुल जनसंख्याको ठूलो हिस्सा संक्रमित भएर

डा. पुनका अनुसार सेरो प्रिभ्यालेन्स सर्वेक्षणले देखाएको आँकडाले नेपालमा हर्ड इम्युनिटी विकास भएको संकेत गर्छ । ‘सिद्धान्ततः यो सर्वेक्षणले मानिसमा हर्ड इम्युनिटी विकास भएको देखाउँछ । तर व्यवहारिक रुपमा विकास भएको भनिएको हर्ड इम्युनिटी कति प्रभावकारी हुन्छ भन्ने मूल कुरा हो’ डा. पुनले भने ।

हर्ड इम्युनिटी विकास भएपनि मानिसलाई संक्रमण हुनबाट यसले कति सुरक्षित राख्छ भन्ने अझै अध्ययनकै विषय छ । कतिपय मुलुकमा हर्ड इम्युनिटी विकास भएपनि कोरोनाको नयाँ भेरियन्टले समस्या ल्याएको उदाहरण रहेको भन्दै उनले संक्रमणको जोखिम नहुने भनेर ढुक्क मान्ने अवस्था नरहेको उनले बताए ।

डा. पुनले अघि भने, ‘एन्टीबडी कति समयसम्म रहन्छ भन्ने पनि यकिन गर्न सकिने अवस्था छैन । भाइरसले आफ्नो स्वरुप परिवर्तन गरिरहन्छ र । स्वरुप परिवर्तन गर्ने क्रममा देखिने नयाँ–नयाँ भेरियन्ट अझ बढी संक्रामक हुन सक्छ । जुन भेरियन्टसँग लड्न एन्टीबडी सक्षम नहुन सक्छ । त्यसैले केही मुलुकमा पूर्ण खोपको डोज लगाएकालाई पनि बुस्टर डोज दिन थालिएको छ ।’

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?