+
+

काठमाडौंमा ‘रेकर्ड ब्रेक’ वर्षा, के अस्वाभाविक हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १६:२५

२१ भदौ, काठमाडौं । मनसुनको उत्तरार्द्धमा गएराति काठमाडौंमा अति भारी वर्षा भयो । वर्षाका कारण बाढी आउँदा काठमाडौंका नदी किनार क्षेत्रका बस्ती डुबानमा परे ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको त्रिभुवन विमानस्थल केन्द्रमा आइतबार राति १ बजेदेखि सोमबार बिहान ८ः४५ बजेको अवधिमा १२१.५ मिलिमिटर वर्षा भएको रेकर्ड छ । यसलाई मौसमविदहरु ‘अति भारी’ वर्षा भएको बताउँछन् ।

मनसुन बाहिरिने समय नजिकिंदै गर्दा सेप्टेम्बर महिनामा यति धेरै वर्षा भएको पहिलो पटक हो । ‘यसअघि सन् २००८ सेप्टेम्बर १२ मा ८४.३ मिलिमिटर पानी परेको रेकर्ड छ । गएरातिदेखिको वर्षा रेकर्ड ब्रेक नै हो,’ मौसमविद निराजन सापकोटाले भने ।

छोटो समयमै अत्यधिक वर्षा भएकाले बाढी आएको र केही वस्ती डुबानमा परेको मौसमविदको भनाइ छ । तर यो वर्षालाई जल तथा मौसम विज्ञान विभागले अस्वाभाविक मानेको छैन । विभागका निर्देशक सरजु कुमार वैद्यले भने, ‘प्राकृतिक रुपले यो विषम चाहिं होइन तर यही कुरा समाचारको विषय बनिरहेको छ ।’

किन भयो अति भारी वर्षा ?

मंगलबार बिहानपखको समयमा मेघगर्जन र चट्याङसहित पानी परेको थियो । खासगरी मनसुन सुरु हुने बेला र सकिने बेला यस्तो हुन्छ । मौसम प्रणालीमा एक÷दुई दिन ब्रेक भएर नयाँ प्रणाली आउने बेलामा पनि यस्तो हुन्छ । सामान्यतया राति वा बिहानपखको समयमा मेघगर्जन र चट्याङसहित पानी पर्दैन ।

तर मौसमी प्रणालीमा आउने विशिष्ट परिस्थितिमा राति वा बिहानपख पनि चट्याङसहित पानी पर्ने मौसमविदहरु बताउँछन् ।

मौसमविद सापकोटाका अनुसार बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीयस्तरमा विकसित भएको प्रणाली आपसमा मिसिंदा रातिको बेला मेघगर्जन र चट्याङसहित अति भारी वर्षा भएको मौसमविद सापकोटाले बताए ।

काठमाडौं उपत्यकामा दुई-तीन दिनयता घाम लागेको थियो र गर्मी पनि बढेको थियो । अर्कोतर्फ बंगालको खाडीमा निम्नचापीय क्षेत्र विकसित भएको थियो । यी दुई प्रणाली आपसमा मिसिएपछि अत्यधिक वर्षा भएको मौसमविदहरुको भनाइ छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा दक्षिणपूर्वी भाग हुँदै नेपाल प्रवेश गरेको थियो र लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा केन्द्रित भएको थियो । त्यसैले मौसम विज्ञान विभागले सूचना जारी गरेर ती क्षेत्रमा वर्षा हुने पूर्वसूचना जारी गरेको थियो ।

शहरी क्षेत्रमा पठाइँदैन पूर्वसूचना

भारी वर्षा सुरु भएपछि मौसम विज्ञान विभागले काठमाडौंका उपत्यकाको तल्लो तटीय क्षेत्रमा एसएमएसमार्फत् जोखिमको सूचना प्रवाह गरेको थियो । तर शहरी क्षेत्रमा सूचना पठाइएन । जसका कारण विष्णुमती, बागमती, इच्छुमती, धोबीखोला लगायतका नदी किनारका वस्तीहरु डुबानमा परे ।

जल तथा मौसम विज्ञान विभागका निर्देशक वैद्य काठमाडौंको शहरी क्षेत्रमा सूचना पठाउने नगरिएको बताउँछन् । गएराति भएको अत्यधिक वर्षालाई अस्वाभाविक पनि नमानेको र शहरी क्षेत्रमा पूर्व सूचना पनि जारी नगरिएको वैद्य बताउँछन् । ‘शहरी डुबानको विषयमा हामीले काठमाडौंमा अहिलेसम्म पूर्वसूचना दिने गरेका छैनौं,’ उनले भने ।

खोलामा आएको ठूलो बाढी काठमाडौंको भित्री भागकै बस्तीमा पस्दा स्थानीयको दैनिकी प्रभावित भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार काठमाडौंका बिभिन्न स्थानमा ३८२ घर डुबानमा परे भने १३८ जनालाई उद्धार गरिएको छ । दिउँसो घाम लागेपछि नदी किनारका बासिन्दा आफ्ना सामान सुरक्षित रुपमा राख्न व्यस्त छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद सापकोटाका अनुसार अनुसार सोमबार राति र मंगलबार पनि वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?