+
+

चार किलो सुन नेपालगञ्ज पुगेपछि त्रिभुवन विमानस्थलमा चेकजाँचमा कडाइ

अच्युत पुरी अच्युत पुरी
२०७८ भदौ २१ गते १८:४७

२१ भदौ, काठमाडौं । त्रिभुवन विमानस्थलको सुरक्षा घेरा पार गरी हवाई मार्गमार्फत चार किलो सुन नेपालगञ्ज विमानस्थलमा पुर्‍याएसँगै काठमाडौं विमानस्थलको सुरक्षामाथि प्रश्न उठेको छ ।

गत शुक्रबार काठमाडौं विमानस्थलबाट जहाज चढेर नेपालगञ्ज ओर्लिएका अमिर लगुन विश्वकर्मा र बुद्धिमान खातीको साथबाट चार किलो सुन बरामद भएको थियो । यो घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीले छानविन समिति नै बनाएको छ । सो सुन काण्डपछि भने आन्तरिक टर्मिनलमा नेपाल प्रहरीले सुरक्षा जाँच बढाएको छ । तर, टर्मिनलमा पर्याप्त सुरक्षा उपकरण नहुँदा यात्रुलाई भने सास्ती थपिएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सुरक्षा चेकजाँचमा कडाइ गरिएका कारण आन्तरिक टर्मिनलमा साविकको तुलनामा बढी समय लाग्न थालेको छ । सोही कारण सोमबार निर्धारित समयभन्दा जहाजहरु एकदेखि डेढ घण्टासम्म ढिलो गरी उडेको वायुसेवा कम्पनीले जनाएका छन् ।

यात्रुलाई डेढ घण्टा छिटो विमानस्थल आउन अनुरोध

प्रहरीले सुरक्षा जाँच कडा गरेपछि एयरलाइन्स कम्पनीहरुले समेत यात्रुलाई छिटो विमानस्थल पुग्न सचेत गराएका छन् ।

यसअघि आधा देखि एक घण्टाको अवधिमा चेकइन प्रक्रिया पुरा हुने गरेकोमा प्रहरीले गरेको कडाइका कारण समय थप भएको छ । यति एयरलाइन्सले सुरक्षा जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको र सुरक्षा चेकजाँचमा समय लाग्ने भएकाले तोकिएको उडान समय भन्दा डेढ घण्टा अगाडि नै विमानस्थलमा आइपुग्न यात्रुसमक्ष आह्वान गरेको छ । यसबाट छिटो उडान गर्न सहज हुने कमपनीको भनाइ छ ।

बुद्ध एयरले समेत सोमबार यस्तै सुचना जारी गरेको छ । बुद्धले डेढ घण्टा अगाडि नै आएर चेकइन प्रक्रिया थाल्न भनेको छ । कम्पनीले मौसम र प्राविधिक कारणबाहेक अन्य प्रतिकुलताले यात्रुको उडान ढिला नहोस् भन्नेमा कम्पनी सचेत रहेको बताएको छ ।

उपकरण अभावले चेकजाँचमा ढिलाइ

आन्तरिक टर्मिनलमा यात्रुको झोलासहितका सामान चेकजाँच गर्न एक्सरे मेसिन राखिएको छ । यात्रुलाई भने प्रहरीले शरीर नै छामछुम गरी चेकजाँच गर्छन् । म्यानुअल रुपमा हुने चेकजाँचमा एकातर्फ समय बढी लाग्ने गर्छ भने सुरक्षा त्रुटी समेत हुने गर्छ । सोमबार विमानस्थलको एउटा सुरक्षा एक्सरे मेसिनमा समस्या आएका कारण धेरै मानिस बाहिरै रोकिनु परेको थियो ।

बढ्यो हवाई यात्रुको चाप

पछिल्लो समय देशभरको सडक यातायात प्रभावित छ । यसले हवाई यातायातमा भने यात्रुको चाप ह्वात्तै बढेको छ । बुद्ध एयर एक्लैले आइतबार कुल १४० उडान/अवतरण गरेको छ । यो उडान अवतरणबाट कुल ८ हजार भन्दा बढी यात्रुले सेवा लिएका छन् ।

कम्पनीका अनुसार यो कोरोना भाइरसको दोस्रो लहरपछि सो कम्पनीले एक दिनमा उडाएको सर्वाधिक धेरै यात्रु संख्या हो । कोरोना महामारीका बीच सार्वजनिक यातायातलाई मानिसहरुले भरपर्दो र सुरक्षित मान्न सकिरहेका छैनन् । यसले समेत हवाई यात्रु बढेको अनुमान कम्पनीहरुले गरेका छन् । साथमा सडक यातायातको अस्तव्यस्ततालाई अर्को कारण मानिएको छ । यही अवसरमा वायुसेवा कम्पनीले समेत प्रतिस्पर्धी मूल्यमा सेवा दिएको दावी गरिरहेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?