+
+

ऋषि पञ्चमी : पाप पखाल्ने दिन होइन, रजस्वला सरसफाइ दिवस बनाऔं

सरस्वती सुवेदी सरस्वती सुवेदी
२०७८ भदौ २३ गते १३:०१

तीज पर्व हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ । यो पर्वमा दर खाने र तीजका दिन व्रत बस्ने चलन छ । त्यस्तै, पञ्चमीको दिन महीनावारी शुरू भएका सम्पूर्ण किशोरी तथा महिलाले महीनावारी हुँदा जानेर वा नजानेर हुन पुगेका त्रुटि र गरिएका पापकर्म निवारणको लागि नदी तथा कुण्डमा जाने प्रचलन छ । त्यहाँ ३६५ वटा दतिवनले दाँत माझ्ने, माटोले लेपन गर्ने, स्नान गर्ने र ऋषि पञ्चमीको पूजा गरी तीज पर्व समापन गर्ने चलन चलिआएको छ ।

हामी हाम्रा पुर्खाहरूले कुनै पनि प्रथा परम्परालाई कुन वैज्ञानिक तरिकाले निर्माण गरेका हुन् भन्नेतिर विश्लेषण र विवेचना नै गर्दैनौं । विभिन्न प्रथा र परम्परालाई अगाडि बढाउन खोज्दा वा समयानुकूल परिवर्तन गर्न नसक्दा ती हाम्रा संस्कृति नभई कुरीति बन्न पुग्छन् ।

छाउगोठ भन्ने बित्तिकै हामी जो-कोहीले सुदूरपश्चिमका अछाम, बाजुरा, बैतडी जस्ता जिल्लामा रहेका छाउगोठ सम्झन्छौं । तर हामी प्रत्येक घरका परिवारको मन–मनमा रहेको छाउगोठ कहिले भत्काउने खै ?

अहिले शहरका घर–घरमा महीनावारीको विषयमा कुरा गर्दा सुनिने शब्द हो– हाम्रोमा महीनावारी बार्ने चलन छैन तर भान्सा र पूजा कोठामा जाँदैनांै वा जान दिंदैनौं । त्यति मात्र हो ।

यी भनाइहरू हामीले धेरै नै सुन्न थालेका छौं । यो सुन्दा म आफ्नो पुस्ताको बौद्धिकता माथि नै प्रश्न गर्न चाहन्छु । हामी कति ढोंगी शिक्षित भएछौं वा हाम्रो शिक्षा प्रणाली नै यस्तो हो ? प्राचीनकालदेखि चलिआएको भन्दैमा कुरीतिलाई पनि चिर्न नसक्ने वा चिर्ने प्रयास नै नगर्ने हो त ?

प्राचीन समयमा हाम्रा पुर्खाहरूले महीनावारी भएका महिलालाई छुट्टै वा घरमा नै राखेर उनीहरूलाई मानसिक तथा शारीरिक रूपमा आराम गर्न दिएको तथ्यलाई हामीले समयानुकूल बनाउँदै लैजानुको सट्टा छोरीहरूलाई घरमा नै अछूत बनाइराखेका छौं ।

छाउगोठ भन्ने बित्तिकै हामी जो–कोहीले सुदूरपश्चिमका अछाम, बाजुरा, बैतडी जस्ता जिल्लामा रहेका छाउगोठ सम्झन्छौं । तर हामी प्रत्येक घरका परिवारको मन–मनमा रहेको छाउगोठ कहिले भत्काउने खै ?

महीनावारी संसारभरि निश्चित उमेर समूहका सबै महिलामा हुने शारीरिक तथा जैविक प्रक्रिया हो । यो त कुनै पनि किशोरी आमा बन्न सक्षम छ भन्ने प्रमाण हो । यसलाई गौरवको रूपमा लिनुपर्छ ।

महीनावारी भएको बेला पर्न सक्ने मानसिक तथा शारीरिक समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? यतातिर ध्यान दिन सकिएको छैन । विभिन्न उपायद्वारा उनीहरूलाई सहजता महसूस गराउनेतर्फ नलागी उल्टो हरेक महीनाको ४-५ दिनसम्म अछूत बनाइरहेका छौं ।

अछूतको महसूसले ती किशोरीले आफू सँगैका केटा साथीहरूसँग मानसिक रूपमा कुनै पनि प्रतिस्पर्धामा अगाडि बढ्न सक्लिन् त ? यो प्रश्न हरेक वर्ष खड्किंदै गइरहेको छ ।

कुनै पनि किशोरी वा महिला महीनावारी भएको घरपरिवार समाजले जानकारी राख्नुपर्छ वा थाहा पाउनुपर्छ । उसलाई अछूतको व्यवहार गर्नुहुँदैन । यस्तो बेला किशोरीहरूमा प्रायः गरेर पेट दुख्ने समस्या देखिन्छ । उनीहरू मानसिक रूपमा कमजोर पनि हुनसक्छन् । यस्तो समयमा उनीलाई सहयोग गर्न महीनावारीबारे परिवारले जानकारी राख्नु परिवारको जिम्मेवारी हो ।

मनोविमर्शकर्ताहरूका अनुसार शारीरिक परिवर्तन हुँदै गरेको देखेर अलमलमा रहेका किशोरीहरूमा एकैपटक महीनावारी व्यहोर्नुपर्दा एकप्रकारको त्रास सिर्जना हुन्छ । त्यसमाथि परिवारले छोइछिटो गर्दा उनीहरू मानसिक एवं सामाजिक रूपमा कमजोर महसूस गर्न पुग्छन् ।

अब आउने वर्षका ऋषि पञ्चमीको दिनहरू महीनावारी हुने समयका किशोरीहरूलाई सचेतना शिक्षा सिकाउने उत्सवको रूपमा विकास गर्नुपर्छ । उनीहरूलाई महीनावारी के हो ? महीनावारी हुँदा स्यानिटरी प्याडको कसरी उपयोग गर्ने तथा आफूलाई मानसिक तथा शारीरिक रूपमा कसरी तन्दुरुस्त राख्ने जस्ता कुराहरू थाहा दिने र महीनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा लिनसक्ने वातावरण बनाउनुपर्छ ।

नेपालको संविधानको धारा २४ को उपधारा (१) मा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भनिएको छ । त्यस्तै, धारा ३८ को उपधारा (३) मा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन भनिएको छ ।

त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ । तर यसबारेमा कसैले पनि चासो राखेको अवस्था छैन ।

नेपाल सरकारले किशोरीहरूको महीनावारीलाई मध्यनजर गरी माध्यमिक तहमा अध्ययनरत छात्राहरूलाई निःशुल्क रूपमा स्यानिटरी प्याड वितरणका लागि प्रत्येक आर्थिक वर्षमा रकम विनियोजन गर्दै आइरहेको छ । यो राम्रो पक्ष हो । यस्ता महीनावारीमैत्री कार्यक्रमहरू घर, परिवार, समाज र सरकारबाट अगाडि बढाइनुले किशोरीहरूमा रहेका मानसिक तथा शारीरिक कमजोरी हट्दै जानेमा आशा गर्न सकिन्छ ।

तर, नेपाल सरकार आफैंले महीनावारी भएका महिलाहरूले पाप पखाल्ने दिनको स्वीकारोक्ति स्वरूप ऋषि पञ्चमीको दिन महिला कर्मचारीका लागि सार्वजनिक बिदा दिने गरेको छ । सरकारको यो द्वैधचरित्र हटाउनुपर्ने आवश्यकता देखिन्छ ।

जसरी विधायिकाले बनाएको संविधान वा कानूनको मर्म नमर्ने गरी कानून व्याख्याताले कानूनको परिपालना गराउनुपर्छ, त्यसैगरी सो परम्परा कसरी प्रचलित हुन पुग्यो भन्ने कुरालाई सो समयको सामाजिक, आर्थिक पक्षलाई पनि ध्यान दिंदै ती परम्पराको विश्लेषण गरी अहिलेको आधुनिक समयमा परम्पराको मर्मलाई आत्मसात् गर्ने गरी अगाडि बढाउनु आजको आवश्यकता देखिन्छ ।

सुवेदी अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?