+
+

नेपालले पीएनजीसँग आज डे-नाइट ओडीआई म्याच खेल्दै

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ २५ गते १४:०६

२५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले शुक्रबार पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दोस्रो ओडीआई म्याच खेल्दैछ । ओमान र अमेरिकासँग विश्वकप लिग २ को सिरिज खेल्न ओमानमा रहेको नेपालले त्यसैको तयारी स्वरुप पीएनजी खेल्न लागेको हो ।

पीएनजीसँगको दोस्रो खेल नेपालका लागि ऐतिहासिक हुनेछ । किनकि नेपालले पहिलो पटक डे–नाइट (दिवा–रात्री) ओडीआई क्रिकेट म्याच खेल्दैछ । यसअघि मंगलबार पीएनजीविरुद्ध नेपालले दिनमै खेलको थियो ।

सन् २०१८ मा पहिलो पटक अस्थायी ओडीआई मान्यता पाएको नेपालले पहिलो पटक डे–नाइट ओडीआई खेल्न लागेको हो । यसअघिका ११ ओडीआई म्याच नेपालले दिनमै खेलेको छ ।

पीएनजीविरुद्धको दोस्रो खेल भने नेपाली समय अनुसार दिउँसो सवा ४ बजे शुरु हुनेछ । डे–नाइट म्याच फ्लड लाइटमा हुने हुँदा नेपालको लागि केही फरक हुन सक्छ । नेपालले यसअघि टी–२० आई म्याच फ्लड लाइटमा खेलिसकेको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप नेपालले फ्लडलाइटमै खेलेको थियो । तर ओडीआईमा भने नेपालले पहिलो पटक फ्लडलाइटमा खेल्न लागेको हो ।

नेपालले यही सेप्टेम्बर १३ देखि ओमनमै शुरु हुने लिगको सिरिजका सबै ४ खेल डे–नाइटमै खेल्नेछ । त्यसैले पनि पीएनजीविरुद्धको दोस्रो खेल नेपालको लागि प्रदर्शनमा सुधार गर्नुका साथै फ्लडलाइटमा खेल्न अभ्यस्त हुन पनि महत्वपूर्ण छ ।

नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले पीएनजीसँगको डे–नाइट खेलले पछि हुने खेललाई तयारी हुने बताए । ‘भाग्यवश हामीले मुख्य सिरिजभन्दा अघि डे–नाइट खेल्न लागेका छौं । त्यो एकदम राम्रो कुरा हो । नाइट कण्डिसनमा कस्तो हुन्छ । कन्डिसन अलि फरक हुन्छ । लाइटमा खेल्दा धेरै कुराहरु फरक हुन्छ । फिल्डिङ गर्दादेखि अरु कुरामा,’ मल्ले भने, ‘एउटा छुट्टै खालको अनुभव हुन्छ । ओमान  र अमेरिकासँग हुने आगामी खेलका लागि राम्रो तयारी गर्ने मौका पनि हुन्छ ।’

पहिलो खेलमा नेपालले पीएनजीलाई १३४ रनमा अलआउट गरे पनि लक्ष्य पछ्याउन संघर्ष गरेको थियो । कुशल भुर्तेल र आसिफ शेखले डेब्यु गर्दै राम्रो शुरुवात दिलाए पनि अनुभवी मिडल अर्डर फ्लप हुँदा रोहित पौडेल र सोमपाल कामीले नेपालको इनिङ्स रेस्क्यु गर्दै नेपाललाई २ विकेटको संघर्षपूर्ण जित दिलाएका थिए ।

ब्याटिङमा परम्परागत शैली दोहोरिँदा नेपालले पहिलो खेलमा ओमानको पिचमा संघर्ष गर्नुपरेको थियो । दोस्रो खेलमा नेपालले टोलीमा केही परिवर्तन गर्ने सम्भावना छ । लिग २ मा उत्कृष्ट नतिजा ल्याउने हो भने नेपालले पीएनजीविरुद्ध दोस्रो खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने चुनौती छ ।

कप्तान ज्ञानेन्द्रले पनि सबैलाई अवसर दिने हिसाबले पहिलो खेलमा नयाँ खेलाडीहरु खेलाएको र दोस्रो खेलमा अरुलाई पनि खेलाउने बताए । उनले दोस्रो खेलमा टिममा परिवर्तन हुन सक्ने बताए । ‘धेरैपछि खेलिरहेको भएर नयाँ खेलाडीलाई मौका दिएका थियौं । सबैले एक्सपोजर पाओस् भन्ने थियो । दोस्रो खेलमा मुख्य खेलाडीहरुले खेलोस् र म्याच प्राक्टिस पनि होस् भनेर तयारी गर्दैछौं,’ ज्ञानेन्द्रले भने ।

नेपालले २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिका सहभागी लिग २ को सिरिज खेलेपछि करिब १९ महिनापछि पहिलो पटक ओडीआई खेलेको थियो । जसमा तीन खेलाडीले डेब्यु गरे ।

पहिलो खेलमा कुशल र आसिफसँगै बलर विक्रम सोबले पनि ओडीआईमा डेब्यु गरेका थिए । ओडीआई डेब्युको पहिलो बलमै विकेट लिएर कीर्तिमान बनाएका विक्रमले २ विकेट लिए ।

पहिलो खेलमा विकेटकिपर विनोद भण्डारी, करण केसी, अविनाश बोहरा, सुशन भारीलाई आराम दिइएको थियो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले चोटका कारण पहिलो खेल खेलेका थिएनन् । उनले दोस्रो खेल पनि नखेल्ने सम्भावना छ । यस्तै पहिलो पटक सिनियर टिममा स्थान बनाएका युवा फास्ट बलर गुल्शन झा पनि सामान्य चोटका कारण पहिलो खेलमा खेलेका थिएनन् । ज्ञानेन्द्रले दुवै खेलाडीको रिकभर राम्रो भइरहेको र पिजियोले क्लिनचिट दिएमा मात्र खेल्न सक्ने बताए । उनले पीएनजीसँगको खेलभन्दा पनि ओमान र अमेरिकासँगको सिरिज महत्वपूर्ण भएकोले रिस्क नलिने संकेत गरेका छन् ।

पीएनजीविरुद्धको दोस्रो खेल जित्नकै लागि खेल्ने मल्लले बताए ।

ओमान टुरमा रहेका १७ सदस्यीय नेपाली टोलीमा अब गुल्शन झाले मात्र ओडीआईमा डेब्यु गर्न बाँकी छ । अहिलेसम्म नेपालबाट कुल २६ खेलाडीले ओडीआई म्याच खेलेका छन् । गुल्शन ओमानमा डेब्यु गरेमा उनी ओडीआई खेल्ने २७औं नेपाली खेलाडी बन्नेछन् ।

नेपालले पीएनजीसँग एक ओडीआईसहित ५० ओभरको कुल ५ म्याच खेल्दा २ खेल जितेको छ । पीएनजीले पनि यसअघि ३ पटक नेपाललाई पराजित गरेको छ ।

पीएनजीसँगको दुई खेलपछि नेपालले ओमान र अमेरिकासहितको लिग २ सिरिज खेल्नेछ । जहाँ नेपालले असोज २८ गते अमेरिकासँग पहिलो खेल खेल्नेछ भने दोस्रो खेलमा असोज २९ गते ओमानसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि असोज १ गते अमेरिका र असोज ३ गते ओमानसँग खेल्नेछ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?