+
+

जन्मदिनमा जीवन लुइटेलः वर्ल्ड ट्रेडको कफी सपमा घोत्लिने एक नायक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १५:३२

काठमाडौं त्रिपुरेश्वरमा रहेको वर्ल्ड ट्रेड सेन्टर । अहिले काठमाडौंका थुप्रै स्थानमा अग्ला भवनहरु बने । तर, केही बर्ष अगाडिसम्म वर्ल्ड ट्रेडको क्षेत्रफल र उचाई बेग्लै थियो । सोही सेन्टरको माथिल्लो तलामा थियो एउटा कफी सप ।

कफी सपमा प्राय भेटिन्थे, नेपाली चलचित्रका सुपरस्टार नायक जीवन लुइटेल । जीवन आफै पनि भन्ने गर्थे–‘म सुटिङमा नभएको बेला कि घरमा भेटिन्छु, कि यही कफी सपमा ।’

जीवनका हरेक भेटघाटदेखि मिडिया मिटिङ सोही स्थानमा हुन्थ्यो । सोही सेन्टरको माथिल्लो तलाबाट जीवनले आफ्नो करिअरको उचाई नापेका थिए । सोही स्थानबाट उनले नेपाली चलचित्रको नम्बर १ नायकको पोजिसन मात्र देखेका छैनन्, डाउनफल पनि देखेका छन् ।

‘मिस्टर नेपाल’ हुँदै सुपरस्टारसम्म

जीवन ‘मिस्टर नेपाल’ समेत हुन् । ‘मिस्टर नेपाल’को उपाधि जितेपछि जीवनको झुकाव चलचित्र र मोडलिङमा बढेको थियो । सन् २००२ मा ‘मिस्टर नेपाल’को उपाधि जितेका जीवनले ‘तिर्खा’ नामक चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।

तर, उनलाई नेपाली चलचित्रमा स्थापित हुन भने डेब्यूपछि ४ बर्ष लाग्यो । ‘घातक, सानो संसार, मेरो एउटा साथी छ, कसम हजुरको, नसिब आफ्नो’ लगायतका चलचित्रमा उनले अभिनय गरेर आफूलाई दर्शकमाझ परिचित त गराएका थिए । तर, सन् २०११ मा रिलिज भएको चलचित्र ‘नाई नभन्नु ल’ले भने जीवनलाई नेपाली चलचित्रमा नयाँ खालको परिचय दियो । उनी, लभ स्टोरी चलचित्रका नम्बर १ नायक बने ।

यसपछि उनले ‘म तिम्रो भैसकेँ, मलाई मन पर्यो, जब जब माया बस्छ, अन्दाज, ब्लाकमेल, रिदम, नोटबुक, मेरो मनको साथी, माई ब्रदर, विन्दास, नाई नभन्नु ल २, शिशा, जाउँ हिड पोखरा, सुकुलगुन्डा, ठूली, धुम, स्टूपिड मन, भूल भूलैयाँ, काफल पाक्यो, रिफ्यूजी, बाजिगर, सुब्बा साब, राधा, लेक साइड’ लगायतका चलचित्रमा अभिनय गरे ।

सन् २००७ मा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका जीवनले ‘स्टूपिड मन’ नामक चलचित्र रिलिजसम्म आफ्नो क्रेजलाई पकडमै राखेका थिए । तर, डेब्यूको ७ बर्षपछि भने उनको करिअर ओरालो लाग्न थाल्यो । नेपाली चलचित्र क्षेत्रमा नयाँ अनुहारहरु भित्रिन थाले । नेपाली चलचित्रको कथा भन्ने शैली नै परिवर्तन हुन थालेपछि जीवन लुइटेल अप्ठ्यारोमा परेका थिए ।

सो समयमा जीवनको प्रतिस्पर्धा नायक आर्यन सिग्देलसँग रहेको बताइन्छ । जीवन र आर्यनले बाहिर एक अर्कासँग नजिकको मित्रवत् व्यवहार गर्थे । तर, बक्स अफिसमा भने आर्यन र जीवनको नम्बर १ को होडबाजी केही बर्ष चल्यो ।

क्रिकेटदेखि कविता प्रेम

जीवन चलचित्रमा मात्र अभिनय गर्दैनथ्य । उनी, खेलकुद र साहित्यमा पनि खुबै रुची भएका नायक हुन् । जीवन लुइटेलले लेखेको ‘नायक’ नामक कविता संग्रह दर्शकले रुचाएका थिए ।

क्रिकेटमा पनि जीवनको रुची उस्तै थियो । उनी, नेपालको क्रिकेट खेल हुँदा ग्राउन्डमा पुगेर हुटिङ गर्थे । जीवनको हरेक बिषयमा चासो गज्जबको थियो । जीवनका हरेक अन्तरवार्ता हेर्ने हो भने पनि, उनको बोलीमा साहित्यप्रतिको आकर्षण स्पष्ट भेटिन्छ ।

उनै, नायक करिअरमा ओरालो लाग्न थालेपछि अमेरिका हानिए । अमेरिका पुगेर केही बर्ष सामाजिक संजालबाट समेत टाढा बसेका जीवन अहिले भने कविताको माध्यमबाट दर्शकमाझ साक्षात्कार गरिरहेका हुन्छन् । उनै, लुइटेल आज आफ्नो जन्मदिन मनाउँदैछन् । सन् १९८१ सेप्टेम्बर १० मा जन्मिएका जीवनले आधा दशक भन्दा बढी समय नेपाली चलचित्रमा राज गरे । तर, उनै नायक आजको पुस्ताका लागि भने अपरिचित बन्न थालेका छन् । जीवनलाई जन्मदिनको हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?