+
+
संखुवासभा घटना :

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

लोकबहादुरको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।

हरि अधिकारी हरि अधिकारी
२०७८ भदौ २६ गते २०:१०

२६ भदौ, विराटनगर । संखुवासभाको मादी नगरपालिका– १ खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएपछि प्रहरी र स्थानीयको आशंका थियो, ‘पैसाका लागि हत्या गरेका हुनसक्छ ।’

मृतक तेजबहादुर कार्कीका दुई छोरा विदेशमा हुनु, ८० लाख रुपैयाँमा जग्गा बैना गर्नु र जग्गा पास गर्न जाने अघिल्लो दिन घटना हुनुले यो आशंका स्वाभाविक थियो । तर प्रहरी टोलीले खानतलासी गर्दा पैसा र गरगहना घरभित्रै भेट्यो ।

पहिलो शंका कमजोर भएपछि प्रहरी प्राविधिक विश्लेषणमा जुट्यो । घटना घट्नु हप्ता दिनअघि र घटना भएको २४ घण्टाको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषण गर्दा पनि प्रहरीले कुनै क्लू भेट्टाएन । घटनास्थल आसपास दुई वटा बीटीएस टावरको कनेक्सन थियो । घटनास्थलबाट १० किलोमिटर आसपास १५० हाराहारी मोबाइल नम्बर सक्रिय भेटिए । उनीहरुमध्ये शंकास्पद केही नम्बर प्रयोगकर्तालाई प्रहरीले बोलाएर सोधपुछ पनि गरेको थियो ।

सोधपुछका क्रममा लोकबहादुरले बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।

तर ठोस उपलब्धि हात नलागेपछि प्रहरीले निष्कर्ष निकाल्यो, ‘घटनामा बाहिरका मान्छे सहभागी छैनन् ।’ अनुसन्धानमा खटिएका अधिकृतहरुका अनुसार भौगोलिक विकटताका कारण बाहिरका मान्छे आएर हत्या गरेर भागिहाल्न सक्ने अवस्था थिएन । तर तालिमप्राप्त कुकुरको प्रयोग पनि प्रभावकारी भएन ।

त्यसपछि प्रहरीले मानव जनशक्तिबाटै अनुसन्धान सुरु गर्‍यो । आशंकाको घेरामा गाउँलेहरु परे । पालैपालो सोधपुछ गर्दा मृतक तेजबहादुरका भतिज लोकबहादुर कार्कीको बयान बाझियो । घटनाबारे थाहा पाउने पहिलो व्यक्ति उनी थिए । उनैले लगातार बयान फेर्न थालेपछि प्रहरीले लोकबहादुरमाथि निगरानी बढायो ।

त्यसक्रममा उनको घरभित्र रगत लत्पतिएको कपडा भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार पक्राउ परेका लोकबहादुरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् र आइतबार सबै विषय सार्वजनिक गर्ने तयारी छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार अनुसन्धान सुरु गर्दा उनीमाथि शंका गरिएको थिएन । हेर्दा सोझो देखिने उनको मानसिक अवस्था पनि कमजोर भएको परिवारका सदस्यहरुले बताएका थिए । तर सोधपुछका क्रममा बयान फेरिरहेपछि केरकार गरिएको प्रहरी स्रोत बताउँछ । ‘बयान फेरेपछि उनी शंकाको घेरामा थिए,’ घटनाको अनुसन्धानमा खटिएको प्रहरी स्रोत भन्छ ।

घटनाबारे अन्तर्वार्ता दिइहिँडे

लोकबहादुरलाई मृतक तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्ति भनिएको थियो ।

त्यसैले रिपोर्टिङका लागि पुग्नेहरुले उनलाई खोजे । उनले पनि घटनाबारे अन्तर्वार्ता दिएका छन्, जसका क्रममा बाहिरकै मान्छे आएर हत्या गरेको आशंका गरेका छन् ।

‘बडाउ(तेजबहादुर) को दुश्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वार्तामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा ।’

तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘रिसइबीले नै हो कि जस्तो छ । यो घटना गम्भीर छ ।’

डराएको जस्तो देखिने उनले अन्तर्वार्ताका क्रममा राति सुत्न पनि नसकेको बताएका छन् ।

बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, नातिनीबुहारी बुहारी ३२ वर्षीया रञ्जना, तेजबहादुरका नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको हत्या आरोपमा उनै लोकबहादुर पक्राउ परेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?