+
+

तीन करोड फिरौतीका लागि अस्पतालमा नक्कली बम राखेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:५७

२७ भदौ, काठमाडौं । पुरानो बानेश्वरको मातृका आँखा अस्पतालमा नक्कली बम राख्ने समूह प्रहरीको फन्दामा परेको छ ।

फिरौती असूली गर्ने उद्देश्यले बम राखेको अभियोगमा धादिङका २५ वर्षीय आशिष कुँवर, उनका भाइ अभिषेक कुँवर र होटल व्यवसायी रोल्पा घर भएका ४० वर्षीय अम्बरबहादुर रोका पक्राउ परेका हुन् ।

उनीहरुलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको एसएसपी अशोक सिंहले बताए ।

सिंहका अनुसार पक्राउ परेकामध्ये आशिषले सोही अस्पतालमा आँखाको शल्यक्रिया गराएका थिए । त्यसक्रममा उनी अस्पताल प्रशासन र डाक्टरहरुसँग परिचित भएका थिए ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार डाक्टरको नम्बरमा फोन र म्यासेज गरेर उनीहरुले पटकपटक अस्पतालमा बम राख्ने धम्की दिँदै आएका थिए । अस्पताल र घर परिवार सुरक्षित राख्ने भए ३ करोड तयार गर्नु भनेर उनीहरुले धम्की दिएको अडियो पनि प्रहरीले फेला पारेको छ ।

बम जस्तो वस्तु राखेर रिसेप्सनमा खबर

बिहीबार बिहान १०ः१० बजे अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई मोबाइलमा फोन आयो, ‘तपाईंहरु २ मिनेटभित्र बाहिर जानुस्, अस्पतालमा बम राखेका छौं ।’ दोङले सुरुमा कसैले ठट्टा गरेको होला भन्ने सोचे । नपत्याए तेस्रो तलाको बाथरुममा गएर हेर्न भनियो ।

लगत्तै अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाइरेक्टरलाई उनले जानकारी गराए । बाथरुममा जाँदा कमोड पछाडि बम जस्तो देखिने वस्तुमा रातो बत्ती पिलिक–पिलिक बलिरहेको देखियो ।

अध्यक्ष श्रेष्ठले त्यहीँबाट प्रहरी कन्ट्रोल १०० मा फोन गरे । एसएसपी सिंह, प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेत लगायतको टोली घटनास्थलमा पुग्यो । नेपाल प्रहरी केन्द्रीय कार्यदल र नेपाली सेनाको बम डिस्पोजल युनिट पनि त्यहाँ पुग्यो ।

टोलीले घटनास्थल सुरक्षित राखेर सूचना संकलन गर्दै जाँचबुझ गर्‍यो । ‘सेनाको टोलीले जाँच्दा त्यो बस्तु बम नभएको पुष्टि भयो’ एसएसपी सिंह भन्छन्, ‘खासमा तर्साउन मात्र राखिएको रहेछ, त्यसपछि राख्ने व्यक्तिबारे अनुसन्धान सुरु भयो ।’

सीसी टीभी फुटेजमा कुँवर दाजुभाइ ।

डाक्टरको परिवार सिध्याउने धम्की

बम राखिसकेपछि अस्पतालका डाक्टरलाई दुई पटक म्यासेज गरिएको देखिन्छ । १०ः०० बजे म्यासेज गरेर ‘३० मिनेटपछि कल गर्छु, यदी प्रहरीलाई भनिस् भने बम चाँडै विष्फोट हुन्छ’ भनिएको छ ।

आधा घन्टापछि अर्को म्यासेज पठाएर अस्पतालको सटर बन्द गर्न भनिएको छ । ‘सटर डाउन चाँडो गर नत्र, विष्फोट गरिदिन्छौं, कोही बच्दैनस् पुलिसलाई खबर भयो भने’ दोस्रो म्यासेजमा भनिएको छ ।

एसएसपी सिंहका अनुसार उनीहरुले आफूहरुसँग बमको रिमोट भएको भन्दै ४ वटा बम घरमा वा अन्यत्र पनि हुनसक्ने दाबी गरेका थिए । ‘अस्पताल र तपाईंको घर परिवार समेतलाई अत्यन्त खतरा छ, भनेको नमाने ध्वस्त पारिदिन्छु भन्दै धम्क्याइएको पाइएको छ’ सिंहले भन्छन् ।

धम्कीबारे थाहा पाएलगत्तै मोबाइल ट्याकिङ, कल डिटेल रेकर्ड लगायतको प्राविधिक विश्लेषण गरेर शंकास्पद व्यक्तिलाई निगरानीमा राखिएको सिंह बताउँछन् । त्यसक्रममा शनिबार तीनै जना अभियुक्तलाई समात्न सफल भएको उनले बताए ।

ऋण तिर्न नसक्दा बने अपराधी

प्रहरीका अनुसार कुँवरले एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए । तर चुक्ता गर्न सकेनन् ।

दाजुभाइले बेल्जियम जान पनि ‘एप्लाई’ गरेका थिए । तत्काल तिर्नुपर्ने रकम थिएन ।

‘आर्थिक समस्यामा परेका कारण तीन जनाले गलत बाटो रोजेको देखिन्छ’ सिंह भन्छन्, ‘कानून अनुसार अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?