+
+

जागिरे बुहारी

वृत्ती अर्याल वृत्ती अर्याल
२०७८ भदौ २८ गते १३:३९

समय बिहानको नौ बजे । मलाई कलेज जान ढिलो भइरहेको थियो । असारको महीना, झमझम परिरहेको पानी, हिलो बाटो र सडकमा गुडिरहने सवारी साधनको टिट्-टिट् र पिप्-पिप् सम्झिंदा कसलाई पो घरबाट निस्कन मन लाग्छ र ?

उफ् ! यस्तो मुभी हेरेर बस्ने जस्तो दिनमा पनि कलेज जानु परेको छ ! टेबलमा छरिएका कापीका पानाहरु समेटेर, हतारहतार ब्याग बोकी म घरबाट निस्किएँ । एक त पानी पर्ने सिजन अर्को अफिस टाइम गाडी नपाइएला कि भनेर भुइँमा आँखा नै नहेरी म दौडिएँ । अलि पर पुगेपछि मेरो खुट्टा हिलोमा गाडियो ।

ह्या ! ढिलो भइरहेको बेलामा भनेर भुतभुतिंदै, ब्यागबाट टिस्युपेपर झिकी जुत्ता पुछेर म बस-स्टपतिर लागें । श्यामचाको पसलमा ओत लागेर म गाडीको प्रतीक्षा गर्न थालें । नाम चाहिं श्यामकुमार तर मायाले श्यामचा भन्छन् । उहाँ पनि निकै बाठो मान्छे, ओत लागेर बस्ने सबैलाई पकौडा, चप र तात्-तातो चिया भिडाइहाल्नुहुन्छ । म पनि उहाँको मीठो बोलीमा फसेर एक कप चिया र एक प्लेट पकौडा मगाइहालें । तात्-तातो पकौडाको मजा लिसक्दा पनि गाडी भने आएन ।

लगभग आधा घन्टाको पर्खाइपछि गाडीको हर्न सुनियो । हर्न सुन्ने बित्तिकै गाडीको पर्खाइमा बसेका सबै गाडीतिर झुम्मिए । कोही पकौडा छोडेरै दौडिए त कोही ओढेका छाता बन्द गर्न थाले । तर गाडी चढ्न सकिने सम्भावना भने थिएन । गाडीमा त सहचालकसँगै अरु दस बाह्र जना पनि ढोकामा झुन्डिएका थिए ।

सकी–नसकी अरुलाई पन्छाउँदै भित्र छिरिरहेका यात्रुलाई म टाढै उभिएर हेरिरहें । त्यत्तिकैमा गाडीको पछाडि सिटबाट एकजना पल्लो गाउँको दिदीले मलाई बोलाउँदै भन्नुभयो- ‘बहिनी, याँ सिट खाली भयो म रोकिदिन्छु आउ । माथि चपलीमा गाडी फसेको छ, एक दुई घन्टा नभई आउँदैन ।’

म हतारहतार ब्याग झ्यालबाट पास गरेर ढोकाको डन्डीमा समातेर झुन्डिहालें । प्याकम प्याक बसका मान्छेहरुलाई ठेल्दै म भित्र छिरें । अरुको खुट्टा कुल्चिएर, ला ! सेट ! सरी ! भन्दै म लास्ट सिटसम्म पुगें । उहाँले रोकिदिएको सिटमा बस्न लाग्दा उभिएका मानिसको हाउभाउ बद्लियो।

‘बस नानी बस, देश बनाउने युवालाई थकाइ लाग्ला’, भन्दै एकजना अङ्कलले त सटाएर पनि मार्नुभयो । सबैलाई इग्नोर गरेर म ‘थ्याङ्क यु दिदी’ भन्दै आफ्नो ब्याग समातें ।

अरु गाडी नआउने भएकाले प्याक नै भए पनि ढोकामा झुन्डिएर जान तयार थिए यात्रुहरू । अगाडि ट्राफिक छ । यसरी लैजान मिल्दैन भन्दै सहचालक भाइ सबैलाई पछाडि धकेल्दै थियो।

आफूलाई ढिलो भएर होला दिदी ‘छिटो गर न भाइ’ भन्दै कराउन थाल्नुभयो । अरु यात्रुहरू पनि उहाँसँगै लागेर कराउन थाले । म भने चुपचाप लागेर डिस्कसको मज्जा लिइरहें । यस्तो विषयमा नबोलेकै राम्रो ।

गुन्द्रुक जसरी खाँदिएका मानिसबाट आएको पर्फ्युम र पसिनाको अमिलो गन्धले मलाई टाउको दुख्यो । मैले सानो स्वरमा दिदीलाई सोधें- ‘म एक्कैछिन झ्यालपट्टि बस्छु नि ?’ उहाँले मेरो प्रस्ताव सहजै स्वीकार्दै, मेरो लागि सिट छोडिदिनुभयो ।

झ्यालबाट टाउको निकालेर चियाउँदा रेलगाडी जसरी लस्कर लागेका गाडीको ताँती परसम्म देखिन्थ्यो ।

हरे कस्तो जाम कहिले पुग्नेहोला, उफ् ! भन्दै आफ्नो हात टाउकोमा बजार्दै मतिर हेर्नुभयो ।

‘हजुरलाई कहाँ पुग्नुपर्ने हो ?’ मैले सोधें।

दिक्क लाग्दो अनुहार बनाउँदै उहाँले भन्नुभयो- ‘कलंकी ।’ एउटा आईएजीओमा काम गर्छु । दश बजेसम्म अफिस पुगिसक्नुपर्छ ।

‘त्यत्ति टाढा किन ?’ मैले सोधें ।

‘मेरो माइतीघर कलंकी हो । बिहे अघि खाएको जागिर, फेरि यस्तो राम्रो जागिर नपाइएला कि भनेर छोड्न सकिनँ । ठ्याक्कै दुई घन्टा लाग्छ पुग्न । कहिलेकाहीं त जागिर छोडेर घर बसम् जस्तो लाग्छ । फेरि छोडे पनि, घरको काम छोड्न नमिल्ने । सबै काम आफैं गर्नुपर्छ । दिनभरि यसोउसो गर्दै ठिक्क हुन्छ । आराम गर्ने समय पनि हुँदैन । न त जस् नै पाइन्छ ।’

 आखिर समय कहिले फेरिन्छ ? आधुनिक युगमा नबद्लिएको समाज कहिले बद्लिन्छ ? स्वतन्त्रताको युगमा नल्याइएको परिवर्तन कहिले ल्याइन्छ ?

‘किन घरमा अरु कोही पनि हुनुहुन्न ?’ प्याच्च मेरो मुखबाट निस्किहाल्यो।

घरमा सासू-ससुरा, देवर बाबु, अन्जली, शार्दुल र म, हामी ६ जना छौं । शार्दुल चाहिं मेरो हस्व्यान्ड । अनि अन्जली उसकी बहिनी ।

यति धेरै जना हुँदा पनि काम चाहिं हजुरले मात्र गर्नुपर्ने ?

हामी चिनेजानेकै जसरी कुरा गर्न थाल्यौं । उहाँले आफ्नो बारेमा सबै कुरा यसरी बताउँदै जानुभयो।

शार्दुल याज अ बैंक म्यानेजर काम गर्छ । ऊ प्रायःजसो अफिसमै बिजी हुन्छ । बाबु घर नजिकैको विद्यालयमा पढाउनुहुन्छ । अनि मैया बिहानै कलेज जानुहुन्छ । मैया अर्थात् अन्जली ।

उहाँलाई म घरमा मैया भनेर बिलाउँछु । शार्दुलको आमा-बुबा चाहिं घर कुरुवा । हाहा ! अनि म चाहिं घर-धन्दा सिध्याएर उहाँहरूको लागि दिउँसोको खाजा तयार गरिदिएर निस्कन्छु ।

बिहान उज्यालो नहुँदै उठ्यो, सरसफाइ, बढारकुडार लगायत घरको सबै काम सकेर हतारहतार अफिस गयो । अफिसको काम, थकान, बेलुका घर फर्किंदा रात पर्छ । खाना कहिल्यै पनि पाकेको हुँदैन । कहिलेकाहीं आधा पाकेको हुन्छ, बाँकी आफैं गएर पकाउनुपर्छ ।

घर पुगेर टुसुक्क बसेको मात्र हुन्छु, आमाले नाङ्लोभरी तरकारी लिएर आउनुहुन्छ, यति केलाएर पकाउ है रात परिसक्यो भन्दै । दिउँसो खाजा खाएका भाँडा त्यसै हुन्छन् । त्यो माझेर खाना बनाउँछु । फेरि पकाएको खाना कहिल्यै मीठो मानेर खानु हुन्न ।

‘म पनि त थाकेको हुन्छु । कहिलेकाहीं नुन थोरै धेरै भइहाल्छ नि आमा’ भन्दा उही राष्ट्रिय डाइलग दिनुहुन्छ- ‘हाम्रा पालामा हामी घाँसदाउरा सबै गरेर नि घरपरिवार, बच्चा सबै सम्हाल्थ्यौं । अहिलेकालाई यति धेरै सुविधा हुँदा पनि यस्तो छ ।’

उहाँहरूले गर्नुहुन्थ्यो हो त्यो त मैले मानें । तर उहाँहरूलाई हामी जस्तो टेन टु फाइभ जागिर त जानुपर्दैनथ्यो नि । फरि उबेलाको समय र अहिलेको समयमा धेरै फरक पनि त छ । जे कुरा पनि आफूले भोगेको जसरी नै चल्छ भनेर सोच्नु पनि त भएन । समयसँगै अघि बढ्न पनि सिक्नु पर्‍यो ।

फेरि बुहारी भइसकेपछि सँगै बसेर खान पनि नमिल्ने रहेछ । अरुले खाउन्जेल लागेको भोक नि मरिसक्छ । आफूलाई एक्लै खान पनि मन लाग्दैन । धन्न ब्रुनो मेरो लागि साथी बस्छ । ऊ चाहिं हाम्रो घरको पेट । उसले मलाई सबैभन्दा बढी माया गर्छ । म नहुँदा उसले मलाई खुब मिस गर्छ ।

गेटसम्म लिन आउँछ अनि हात चुम्दै भित्र लैजान्छ । बस्नलाई टुल लेराइदिन्छ । मेरो थकित अनुहार देखी दौडिंदै गएर पानीको बोतल हातमा थमाइदिन्छ ।
हाउ-हाउ ! गर्दै दिउँसोभरी आमाले गरेको गालीको कुरा लगाउन खोज्छ । ऊ निकै ज्ञानी छ । मैले भनेको सबै कुरा मान्छ । सबैजनाले खाना खाइसकेपछि उसले नै मलाई माझेको भाँडा टोकरीमा राख्न मद्दत गर्छ ।

मैले सहनै सकिनँ र सोधीहालें, ‘अनि हजुरको हसब्यान्ड ? उहाँले खाना पकाउन, भाँडा माझ्न सघाउनुहुन्न ?’

शार्दुल प्रायः ढिलै घर आउँछ । थाकेर आएको मान्छेलाई कसरी काम लगाउनु जस्तो लाग्छ । त्यही पनि कहिलेकाहीं जुठो भाँडा माझिदिन्छ । तर आमाले देख्नुभयो भने बुहारीले गर्छे भनेर उसको हात समाइदिइहाल्नु हुन्छ ।

‘अनि बहिनी ? आइ मिन अन्जली, उहाँ पनि त हुनुहुन्छ घरमा !’ मैले सोधें।

उहाँ त झन् फोनमा कि त ल्यापटपमा व्यस्त हुनुहुन्छ । उहाँको आफ्नै पढाइ हुन्छ । कहिलेकाहीं मुड फ्रेस हुँदा मलाई निकै काम सघाउनुहुन्छ । तर आमाले देख्नुभयो भने, ‘हेर !

पढ्न लागेको मान्छेलाई काम लगाएकी’ भन्दै मलाई गाली गर्नुहुन्छ । सघाउन त बाबुले नि आफ्नो फुर्सदमा काम सघाउनुहुन्छ । आफ्नो काम आफैं गरेर । एकजनाको काम घट्दा पनि बोझ कम भएजस्तो हुन्छ ।

एकदिन म बिरामी हुँदा । शार्दुलले लुगा धुँदै थियो । वरपरका छिमेकीहरू ठूला-ठूला आँखा पार्दै हेर्न थालिहाले । पल्लाघरकी भाउजू, पेशाले प्रोफेसर हुनुहुन्छ तर के गर्नु ? शार्दुलले काम गरेको देख्ने बित्तिकै सोधिहाल्नुहुन्छ, ‘के हो बुहारी माइत गई कि क्या हो ?’ आखिर शिक्षित भएर के काम, पढेका कुराहरू व्यवहारमा उतार्न नसकेपछि ?

‘लौ एकदिन लुगा धोइदिन पनि ऊ माइत नै जानुपर्ने हो र भाउजू ?’ भनेर शार्दुल आफ्नो काम गर्न थाल्यो ।

माथ्ला घरकी आमा त झन् गाउँ नै थर्किने गरी चिच्याउनुहुन्छ, ‘हैन ए बुहारी के गरेकी छोरालाई काम लगाएर ?’

त्यै त हगि दिदी, कसैको श्रीमानले काम गरेको देखे भने, तिम्रो श्रीमान त कस्तो सहयोगी हगि, सबै काम गरिदिने । तिमी त कत्ति भाग्यमानी है ! यस्ता कुराहरू सबैले भनिरहँदा मलाई पनि अचम्म लाग्छ । घर दुवैको हो, परिवार दुवैमा बाँडिएको छ, भनेपछि काम पनि त दुवैले मिलेर गर्नुपर्‍यो ।

एकदिन घरको काम गर्दा श्रीमानको सबैतिर चर्चा हुने तर बाँकी तीन सय चौसठ्टी दिन श्रीमतीले काम गर्दा नि केही काम गर्दिनँ भनेर कुरा लगाउँदै हिंड्ने । उसले पनि त आफ्नो करियर, भोक, निद्रा, घुमघाम, साथीभाइ, आफ्ना आमा-बुबा सबथोक त्यागेर श्रीमानको परिवारलाई आफ्नो परिवार मानी आधा जीवन समर्पित गरेकी हुन्छे । तर ओहो तिमी त कस्तो भाग्यमानी, कस्तो केयरिङ श्रीमती पाएको भनेर कसैले पनि श्रीमानलाई भन्दैनन् ।

गाडी स्टार्ट भयो । प्यासेन्जरहरू लामो सास फेर्दै भन्न लागे, ‘बल्ल जाम खुल्यो ।’

‘यहीं दश बज्न लागिसक्यो कति बेला पुग्ने होला ?’ यसो भन्दै गर्दा दिदीको आँखामा चिन्ता देखिन्थ्यो।

आफ्नो ब्याग काखमा थचार्दै भन्नुभयो- ‘कहिल्यै शान्ति पाउने भइनँ मैले ।’ सास फेर्ने फुर्सद पाउने भए पनि जागिर अहिल्यै छोड्दिन्थें ।

वर्षौंदेखिको फ्रस्टेसन ममाथि पोख्दै हुनुहुन्थ्यो उहाँ ।

बुहारी घरमै छे दिनभर भनेपछि त घरको काममा सघाउँ नै भन्दैन कसैले । ठूलाको स्याहार सम्मान गर्दा नै ठिक्क हुन्छ । हिजो म नहुँदा आफैं चिया पकाउने आमा, आज ढलेको गिलास उठाउन पनि मलाई गुहार्नुहुन्छ ।

‘अनि यस्तो गर्दा पनि शार्दुलले आमालाई सम्झाउनु हुन्न ?’ मैले सोधिहालें ।

उहाँ मेरो पनि त आमा हो । आफ्नै छोरी सम्झेर काम लगाउनुभएको होला भन्ने सोच्छु । कहिलेकाहीं मलाई धेरै नै गाह्रो भएको देख्दा शार्दुल आफैं आमासँग कुरा गर्छ । कुरा गर्दै गर्दा आमाले फेरि अर्को राष्ट्रिय डाइलग दिनुहुन्छ, ‘छोराको बिहे गरेर शान्ति होला, बुढेसकालमा पानी तताएर खान दिने मान्छे होला भनेको त उल्टै बुढोलाई कुरा लगाएर पठाइछे ।’

त्यो दिनदेखि मैले शार्दुललाई यस विषयमा केही पनि कुरा नगर भनेकी छु ।

उताबाट सहचालकको आवाज आयो, ‘चाबहिल झर्ने हुनुहुन्छ ?’

निकैबेरको जाममा पर्दा पनि कति छिटै चाबहिल आइपुगेको । म पनि कलंकीसम्मै जाने भएको भए आफ्नो दुःख-व्यथा उहाँले मलाई अझै सुनाउनुहन्थ्यो होला । मैले मनमनै सोचिरहें ।

तर आज भने कुरा अधुरो नै रह्यो । मैले ‘छ छ’ भन्दै दिदीसँग बिदा हुन खोजें । तर उहाँ पनि ‘सानो काम छ म पनि झर्छु’ भन्दै अघि लाग्नुभयो । हामी प्यासेन्जरको भीडलाई ठेल्दै गाडीबाट ओर्लियौं ।

भर्खरै भेटेर बोल्दा पनि, धेरै पहिलेदेखि चिने झैं लाग्यो। आफ्नै दिदी झैं मानेर मैले सोधें, ‘के कामले ओर्लिनुभयो हजुर ?’

‘यो अफिस निकै टाढा भयो । घरको काम गर्न सहज होला कि भनेर पार्टटाइम लेक्चररमा अप्लाई गरेको थिएँ । त्यसकै इन्टरभ्यू छ आज ।’

फुटपाथमा भएको मानिसको भीडलाई छिचोल्न ‘एक्स्क्युज मी’ भन्दै अघि लाग्नुभयो।

‘वाउ ! अब हजुरलाई सजिलो हुन्छ। अल द बेस्ट !’ मैले भनें।

‘थ्याङ्क यू’ भन्दै एउटा फेक स्माइल दिनुभयो ।

नयाँ जब पाउन सक्छु कि भन्ने एक्साइटमेन्ट र खुशी, त्यो थ्याङ्क यूमा थिएन । त्यो थ्याङ्क युमा त मात्र घरपरिवारको चङ्गुलमा फस्ने र हाउसवाइफ बनेर बस्नुपर्ने डर थियो ।

बाइ बाइ भन्दै हामी छुट्टियौं।

आफ्नो घरपरिवार खुशी पार्न, त्यागिएका आफ्नै खुशीहरू र उहाँको आँखामा आँसु बनेर छचल्किएको करियर सम्झिंदै, म पनि आफ्नो बाटो लागें।

त्यहाँबाट छुट्टिएर कलेजको गेटसम्म पुग्दै गर्दा उहाँले भनेको कुराहरू मनमा गुन्जिरह्यो ।

जस्तोसुकै परिस्थितिमा पनि बुहारीलाई सोधिएका र अह्राइएका प्रश्नको उत्तरमा ‘हस’ को अपेक्षा राख्ने कालो समाजको चित्र मेरो आँखा अगाडि झल्किरह्यो ।

घरको काम सबै छोरी-बुहारीले मात्र गर्नुपर्छ भन्ने साँघुरो मानसिकता भएका हामी र श्रीमतीलाई काम सघाउँदा, यो त कस्तो जोइटिङ्ग्रे भनेर गिज्याउने हाम्रो समाज सम्झिंदा हामी अझै पनि समय भन्दा निकै पछि रहेको महसूस भयो ।

आखिर समय कहिले फेरिन्छ ? आधुनिक युगमा नबद्लिएको समाज कहिले बद्लिन्छ ? स्वतन्त्रताको युगमा नल्याइएको परिवर्तन कहिले ल्याइन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?