+
+

तीज सकिएसँगै दशैं–तिहारका गीतको तयारीमा कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १४:५२

तीज सकिएसँगै कलाकारहरु दशैं तिहार गीतको तयारीमा लागेका छन् । कलाकारहरु दशैं तिहार गीतको रेकर्डिङ र छायाँकनमा व्यस्त बन्न थालेका हुन् । केही सिमित कलाकारहरुले भने दशैं तिहार गीत सार्वजनिक समेत गरिसकेका छन् ।

गायक राजु परियारले दशैं तिहार गीत सार्वजनिक गरिसकेका छन् । सोमबार बिहान मात्रै उनी र मेनुका परियारको स्वरमा ‘भिषा लायो टिकटै आयो’बोलको गीत सार्वजनिक भएको छ ।

यता निर्देशक शंकर बिसीको निर्देशन र अभिनय रहेको दशैं तिहार गीत ‘दशैंको टिका तिहारको माला’ सार्वजनिक हुने तयारीमा छ । यो गीत शंकरले केही साता अगाडि नै छायाँकन गरेका हुन् । अहिले भने शंकर अमेरिका पुगिसकेका छन् ।

विगत १२ वर्षदेखि निरन्तर रुपमा दशैं तिहार गीत ल्याउँदै आएका गायक विष्णु खत्रीले यसवर्ष पनि निरन्तरता दिँदैछन् । उनी यतिबेला दशैं तिहार गीत ल्याउने तयारीमा जुटेका छन् । परदेशीको कथामा केन्द्रीत गीत आफू र पूर्णकला बिसीको स्वरमा रेकर्ड भैसकेको उनले बताए ।

‘एक/दुई दिनमा छायाँकन गरेर १ गते सार्वजनिक गर्ने तयारी हो’ खत्रीले अनलाइनखबरसँग भने । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी दशैं तिहारका गीतहरु दर्जनौं संख्यामा सार्वजनिक हुने बताउँछन् ।

उनले भने, ‘तीज जति नै नआउलान् । तर, दशैं–तिहारका गीतहरु पनि उल्लेखनिय संख्यामा सार्वजनिक हुन्छन् ।’ तीज गीत भन्दा बढी समय घन्किने भएकाले पनि धेरै गायक–गायिकाहरु दशैं तिहारको गीत ल्याउँदै आएका छन् ।

‘दशैं तिहार गीत झण्डै दुई महिना सुनिन्छ । राम्रो गीतहरु बने भने आउने वर्षमा पनि चल्ने हुनाले राम्रै संख्यामा आउने गरेका छन्’ बिजी भन्छन् । परिस्थिति सहज बन्दै गएकाले यसवर्ष राम्रै संख्यामा दशैं तिहार गीत सार्वजनिक हुने बिजीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?