+
+

भरतपुर क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले पाएनन् कोभिड भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १२:५७
भरतपुर क्यान्सर अस्पताल

२९ भदौ, चितवन । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोभिड उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीले कोभिड भत्ता पाउन सकेका छैनन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै गत वैशाखदेखि अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको भए पनि अहिलेसम्म भत्ता भने वितरण गरेको छैन ।

स्थानीय तहका कर्मचारीले समेत कोभिड भत्ता लिने गरेको तर आफूहरु कोभिडमा नै काम गरेर पनि अहिलेसम्म जोखिम भत्ता नपाएको अस्पतालमा कार्यरत एक नर्सले गुनासो गरिन् । ‘दूधे बच्चा छाडेर कोभिड वार्डमा काम गरियो, तर प्रोत्साहन स्वरुप पाउनुपर्ने भत्ता समेत अस्पतालले दिएन,’ उनले भनिन् ।

अस्पतालमा कोभिड वार्ड हेर्दै आएका डा. गुरुशरण साहले हालसम्म कोभिडमा काम गर्ने कसैले पनि भत्ता नपाएको  बताए । उनका अनुसार अस्पतालको मेडिकल विभागका चिकित्सकहरु र २० भन्दा बढी मेडिकल अफिसरहरुले कोभिड वार्डमा आलोपालो काम गर्दै आएका छन् ।  नर्सिङ स्टाफहरूले पनि आलोपालो कोभिड वार्डमा काम गर्दै आएका छन् । जोखिम मोलेर काम गरेको भए पनि हालसम्म कोभिड भत्ता नपाएको उनीहरुको गुनासो छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले सरकारले पर्याप्त बजेट नपठाउँदा भत्ता वितरणमा समस्या भएको बताए । उनले अस्पतालको सञ्चालक समितिको बैठकले निर्णय गरेर छिट्टै भत्ता वितरण गरिने जानकारी दिए ।

‘कोभिडमा काम गरेरकाहरुको पहिचान गरी एउटा मापदण्ड बनाएर कोभिड भत्ता वितरण गर्छौं,’ डा. गौत्तमले भने, ‘कोभिड भनेपछि भाग्ने तर भत्ता चाहिनेहरू पनि छन् । हामीले कोभिडमै कामहरूलाई मात्रै पाउने गरी भत्ता वितरण गर्ने तयारी गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?