+
+

पाँच वर्षपछि सक्रिय राजनीतिमा फर्किए भट्ट

भट्टराईको गृहजिल्लामा जसपाको नेतृत्व परिवर्तन

विकास मरहट्टा विकास मरहट्टा
२०७८ भदौ २९ गते १५:०३

२८ भदौ, गोरखा । डा. बाबुराम भट्टराईको गृहजिल्ला गोरखामा सोमबार जनता समाजवादी पार्टीको नेतृत्व परिवर्तन भएको छ, र पाँच वर्ष राजनीतिबाट टाढा रहेका यानप्रसाद भट्ट जिल्ला अध्यक्ष बन्दै सक्रिय राजनीतिमा फर्केका छन् ।

२०५२ सालदेखि माओवादी जनयुद्धमा भूमिगत भएका भट्ट जसपाका संघीय परिषद अध्यक्ष भट्टराईका विश्वास पात्र हुन् । भट्टराई माओवादीमा रहँदा जिल्लामा उनको विचार समूहको नेतृत्व गरेका उनी नयाँ शक्ति पार्टी गठन भएपछि राजनीतिबाट टाढिएका थिए ।

२०७२ सालमा भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि उनलाई पार्टीको केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए । तर उनी आफ्नो दुई दशकको राजनीतिक यात्रालाई बिराम लगाउँदै २०७३ सालदेखि गाईपालनमार्फत दुग्ध व्यवसायतिर लागे । शुरुमा गोरखा नगरपालिकामा व्यवसाय गरेका उनको हाल काठमाडौंमा गाई फार्म छ ।

भट्ट आर्थिक समस्याका कारण व्यवसायमा लागेको बताउँछन् । ‘एक त माओवादी आन्दोलन विघटन हुँदा हामीले सोचेको जसरी काम गर्न सकेनौं,’ उनले भने, ‘अर्काे, हामी सामान्य परिवारको मान्छेलाई राजनिति भन्दा पनि परिवार कसरी पाल्ने भन्ने चिन्ता भयो, आम्दानीको केही स्रोत नभइ राजनिति गर्न पनि समस्या हुने भएपछि केही इलम गर्न थालेको हुँ ।’

सोमबार उनले भट्टराई उपस्थित कार्यक्रमबाटै जसपाको जिल्ला अध्यक्षको पदभार ग्रहण गरे । उनलाई जसपाका हालका जिल्ला अध्यक्ष नारायण खत्रीले पद हस्तान्तरण गरे ।

पाँच वर्षपछि किन राजनीतिमा फर्किनुभयो भन्ने प्रश्नमा उनी भट्टराईको आग्रह अनुसार राजनीतिमा फर्किएको बताउँछन् । ‘उहाँले गोरखामा गएर पार्टी सुदृढ बनाउनुप¥यो भनेर बारम्बार जोड दिनुभयो, उहाँकै आग्रह र मेरो चाहना अनुसार पुनः राजनितिमा फर्किएको हुँ,’ उनले भने ।

१२ बर्षकै उमेरमा २०४२ सालमा अखिल क्रान्तिकारीको सदस्यता लिएका भट्टले माओवादी जनयुद्धमा भूमिगत भई तनहुँ, नवलपरासी, रुपन्देही र गोरखामा काम गरे ।

तनहुँमा विद्यार्थी संगठनमा काम गरेका भट्ट द्वन्द्वकालमा नवलपरासी र रुपन्देहीको भने जिल्ला सेक्रेटरी नै भए । २०६२÷६३ को जनआन्दोलनपछि भने उनी गोरखा फर्किएरै राजनीतिमा सक्रिय भए ।

भट्टले २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा डा. बाबुराम भट्टराईको चुनाव प्रचार समिति संयोजकको रुपमा काम गरेका थिए । अब जनता समाजवादी पार्टीलाई जिल्लामा वैकल्पिक शक्तिको रुपमा स्थापित गराउने भट्ट बताउँछन् ।

‘पहिले पनि पार्टीमा जीवनको अमूल्य समय बिताइयो, परिवारको आर्थिक व्यवस्थापनमा समस्या भएर केही समय मौन बसियो, अब फेरि राजनीतिमा आएको छु, पार्टीको हितको लागि काम गर्छु,’ उनले भने ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?